ढुङ्गा लागेर पैदल यात्रीको मृत्यु « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

ढुङ्गा लागेर पैदल यात्रीको मृत्यु


३१ श्रावण २०७८, आइतबार


रसुवा । पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यु स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहेका छन् ।

उनको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा भएको थियो । भ्रमण सम्पन्न गरी लाङ्टाङ्बाट स्याफ्रुबेँसीतर्फ फर्किँदै गर्दा एक्कासि भिरबाट खसेको ढुङ्गाले शरीरमा चोट लागेका लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।

यही साउन २६ गते घुमफिरका लागि सेर्पा गाउँको पदमार्ग हुँदै उनीसहित अन्य तीन साथी लाङ्टाङ्तर्फ गएका थिए । फर्कने क्रममा खोला किनारको बाटो हुँदै फर्किरहेको अवस्थामा घटना भएको हो ।

शवलाई नेपाल प्रहरीले घटनास्थलबाट रिम्चे पुर्‍याएको र स्याफ्रुबेँसी झार्नका लागि नेपाली सेना पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार उद्धार कर्मी सुरक्षा अङ्गले आज साँझसम्म धुन्चे पुर्‍याउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस