पुस्तक वार्ता : समृद्धिका आयाम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पुस्तक वार्ता : समृद्धिका आयाम


२५ श्रावण २०७८, सोमबार


नेपाल सरकारका सहसचिव एवं लेखक नेत्र सुवेदी “प्रयास” को पछिल्लो पुस्तक “समृद्धिका आयाम” केही दिन अघि मात्रै बजारमा आएको छ । नवप्रवर्तन, सङ्घीयतामा विकास व्यवस्थापन, शासकीय क्षमता र सुशासन, उत्पादकत्व, अन्तरसम्बन्धित सवाल र आध्यात्मिकता गरी ६ वटा परिच्छेदमा गरी ४१ वटा आलेखहरू समावेश पुस्तकमा नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा खोजमूलक तथा सिर्जनात्मकरुपमा विविध सामग्रीहरू समेटिएको छ । निजामती सेवामा कार्यरत रहँदाका क्रममा सँगालिएका अनुभवदेखि विदेशमा अध्ययन गर्दा प्राप्त ज्ञानलाई देशको समृद्धिमा जोड्न खोजेका सुवेदीको यो पुस्तक नीति निर्माण तहमा बस्नेहरू मात्र होइन, आम कर्मचारी र नागरिकहरूका लागि पनि उत्तिकै पठनीय छ । यसै सन्दर्भमा लेखक सुवेदीसँग प्रशासन डटकमले गरेको कुराकानी :

समृद्धिका आयाम कस्तो पुस्तक हो ?
लामो समयसम्म विकासको पहल भैसकेको तथा २०७६ देखि २१०० सम्मका लागि समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन अवधारणा अघि सारेको सम्बन्धमा यसलाई के कसरी चरितार्थ गर्न सकिन्छ, हाम्रा सम्भावना के के छन्, कमजोरी के कस्ता छन् र के कस्तो अन्तरसम्बन्ध कायम गरेमा व्यक्ति, परिवार, समुदाय र राष्ट्रकै समुन्नति सम्भव हुन्छ र दिगोपना कसरी कायम गर्ने भन्ने सम्बन्धमा विभिन्न कोणबाट विश्लेषण गरिएको छ । यो पुस्तक अध्ययनका पारखी, नेपालको विकास र समृद्धिको अवस्था र रहेको खाडल सम्बन्धमा समेत विवेचना गरिएको छ ।

के पुस्तकमा समावेश गरिएका विषयवस्तुहरूले साँच्चिकै समृद्धिका आयामहरूलाई उजागर गरेको छ ? कसरी ?
समृद्धि हासिल गर्ने विषय गहन र फराकिलो विषय हो । यो एकाङ्की अवधारणा होइन । यसका लागि महत्त्वपूर्ण पक्षहरू समेट्ने विषय वस्तु पस्किनु नै यस पुस्तकको सुन्दर पक्ष हो । हुन सक्छ कुनै आयाममा अझ थप विषयवस्तु आवश्यक पर्ला । समयसँगै नयाँ सवाल पनि भित्रिएला । ती विषयहरूलाई समेट्दै अघि बढ्नुको विकल्प छैन ।

नवप्रवर्तन, शासकीय क्षमता, उत्पादकत्व र आध्यात्मिकतालाई विशेष जोड दिनुभएको छ, यसबारे संक्षेपमा प्रस्ट्याइ दिनुहुन्छ कि ?
समृद्धिका विभिन्न आयाम छन् । यसको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र अन्तरसम्वन्धका प्रमुख आयाम हुन् । क्षेत्रगतरुपमा भन्नुपर्दा सबैतर्फ अनिवार्य आयाम भनेका नवप्रवर्तन, शासकीय क्षमता, उत्पादकत्व र आध्यात्मिकता हुन् । यिनै चार आयामका विविध पक्षलाई यस पुस्तकमा समेटिएको छ । अबको युग भनेको सिर्जनाशीलताको हो जसबाट मात्र इनोभेसन सम्भव हुन्छ । त्यस्तै शासकीय विधि र व्यवहार ठिक नभएसम्म विकास र रूपान्तरण कमजोर हुन्छ । त्यसैगरी अर्थतन्त्रलाई आत्मनिर्भर गराउन तथा गुणस्तरीय जीवनका लागि पनि उत्पादन र उत्पादकत्व बढाउनुको विकल्प हुँदैन । यसबाहेक यदि वृद्धि विकास र सम्पन्नता जे जतिसुकै भए पनि यदि संवेगात्मक सन्तुलन भएन भने तथा जीवन र जगतको बारेमा बोध भएन भने व्यक्ति सुखी र आनन्दित रहन सक्दैन, मानवता प्रवर्द्धन समेत हुँदैन । हामीले सुनेका छौँ, देखेका छौँ कति व्यक्ति उच्च अपेक्षा राख्ने तर आध्यात्मिक चेत नहुँदा सन्तुलन गुमाउने, आत्महत्या गर्ने लगायतका नराम्रा घटनाहरू बढेर गएका छन् ।

सारमा भन्नुपर्दा भौतिक सुख सुविधासँगै आध्यात्मिकताको सही अभ्यास आवश्यक मानिन्छ । यसरी महत्त्वपूर्ण चार आयामहरूका रूपमा नवप्रवर्तन, शासकीय क्षमता, उत्पादकत्व र आध्यात्मिकताका विविध विषयवस्तुका सम्बन्धमा पुस्तकमा चर्चा गरिएको हुँदा पुस्तक गहन र विस्तृत बन्न पुगेको छ ।

अघिल्लो सरकारले राष्ट्रिय अभियानकै रूपमा अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीबारे पनि लेख्नुभएछ, चीनले मारेको फड्कोलाई पनि पुस्तकमा समेटेको देखियो, पुस्तकमा लेखिएजतिकै सहज छ त समृद्ध नेपाल, सुखी नेपाली बनाउन ?
पच्चिस बर्षे भिजन पेपर अघिल्लो सरकारका पालामा तयार भएको भएता पनि संविधानको मर्म र आवधिक योजनाको मार्गदर्शनका रूपमा समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोच भने आगामी २२ वर्ष अझै पनि रहने देखिन्छ। पटक पटक राजनैतिक परिवर्तनपछिको हालको अवस्थामा आर्थिक रूपान्तरण तथा समृद्धिको युग हो । चीनले गरेको प्रगति व्यक्तिगतरुपमा अनुशासन, कामप्रतिको सम्मान, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन लगायतका राम्रा गुणहरूको कारणले हो । कन्फुसियसले अगाडि सारेको आध्यात्मिक चिन्तनले पनि चीनको प्रगति भएको हुनुपर्दछ । यिनै परिप्रेक्ष्यमा आफ्ना धारणाहरूलाई पुस्तकाकार दिइएको हुँदा समृद्धिका लागि समेत यो पुस्तकको अध्ययनले सहयोग पुग्ने मेरो ठम्याई रहेको छ ।

पुस्तक पाठकले कतिको मन पराएको पाउनुभयो ? के कस्ता प्रतिक्रियाहरू आइरहेका छन् ?
पुस्तक बजारमा आएको साउनको दोस्रो हप्ता मात्र हो । यसमा समेटिएका विषय र पुस्तकको शीर्षकले मात्र पनि पाठकहरूको ध्यान आकृष्ट गरेको छ । यसको नाम सुनेका र बजारमा पुस्तक देखेका पाठकहरूले एक एक कपि किन्नुका अलावा विभिन्न कार्यालय, पुस्तकालय तथा शैक्षिक संस्थाहरूले पनि यो पुस्तक खरिद गर्ने क्रम बढेर गएको खबर पाएको छु । हुन पनि यो पुस्तक कुनै परीक्षा विशेष वा क्षेत्र विशेषका लागि मात्र हैन । अध्ययन गर्ने, उपहार दिने, परीक्षा तयारी गर्ने, समृद्धिका विषयमा चासो राख्ने जोसुकैका लागि पुस्तक उपयोगी भएको पृष्ठपोषण पाठकहरूबाट पाइरहेको छु ।

थप, केही भन्न चाहनुहुन्छ ?
यो पुस्तक मेरो न त मेरो पहिलो पुस्तक न त अन्तिम नै । यो पुस्तक किन पनि महत्त्वपूर्ण छ भने पुस्तकको तयारीका क्रममा र तयार भइसकेपछि पनि केही विद्वान तथा विशेषज्ञहरूसँग सुझाव लिने, सुभेक्षा प्राप्त गर्ने र भूमिका लेखन गराउने सम्मको काम पनि गरिएको छ । हरेक आलेखहरूको सारांश र निष्कर्ष पनि समेटिएको छ भने सन्दर्भ मिल्ने गरी चित्रहरू, उदाहरणहरू र सफलताका प्रसङ्गहरू पनि उल्लेख गरिएको छ । पुस्तकमा सिकाइदेखि गराइसम्मका, युवावस्थादेखि वृद्धावस्थासम्मका, विज्ञान प्रविधिदेखि अध्यात्मसम्मका विषयहरू समेटिएका छन् । पुस्तक अध्ययन गरी पृष्ठपोषण दिनुहुन समेत अनुरोध गर्दछु जसबाट भावी दिनमा थप लेखनका लागि ऊर्जा प्राप्त हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस