तनहुँ वितरण केन्द्रमा छ करोड बढी बक्यौता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तनहुँ वितरण केन्द्रमा छ करोड बढी बक्यौता


२१ श्रावण २०७८, बिहिबार


तनहुँ । तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म रु छ करोड छ लाख ३९ हजार बक्यौता रहेको छ ।

कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ । विगतका वर्षमा सरदर रु तीन करोड बक्यौता हुने गरे पनि गत आर्थिक वर्षमा दुई गुणा बढीले रकम बक्यौता हुन पुगेको कार्यालयका सूचना अधिकारी विष्णुराज लोहनीले जानकारी दिए ।

उनका अनुसार ९३.८ प्रतिशत रकम सङ्कलन गर्न सकिएको छ भने ६.२ प्रतिशत सङ्कलन गर्न नसकिएको हो । नेपाल सरकारले बक्यौता हुने ग्राहकको लाइन काट्न निर्देशन दिए पनि कोभिड–१९ का कारण फिल्डमा जान सक्ने अवस्था नरहेकोले लाइन नकाटिएको उनले बताए ।

तनहुँमा ४० हजार ४८५ विद्युत्का ग्राहक रहेका छन् । चार करोड ५२ लाख दुई हजार ५२८ युनिट विद्युत् बिक्री गर्दा रु ३९ करोड ७६ लाख ४० हजार ९८४ राजस्व सङ्कलन भएको छ । सिष्टम व्यवस्थित गर्न सकिए विद्युतको कुनै अभाव नरहेको सो कार्यालयले जनाएको छ । जिल्लामा १०।५४ प्रतिशत विद्युत् चुहावट भएको छ ।

तनहुँमा विद्युत् चोरीका कुनै घट्ना नभए पनि प्राधिकरणले सिष्टमलाई सुदृढीकरण गर्न सके चुहावटमा कमी ल्याउन सकिने कार्यालय प्रमुख इञ्जिनीयर सोवितबहादुर क्षेत्रीले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी तनहुँ जलविद्युत् आयोजनाले विद्युत् खपत गर्ने गरेको छ । आयोजनाले एक महिनामै रु २७ लाखदेखि ४६ लाखसम्म विद्युत महसुल बुझाउने गरेको कार्यालय प्रमुख क्षेत्रीले बताए । विद्युत चुहावटलाई न्यूनीकरण गर्न कार्यालयको तर्फबाट पनि पहलकदमी थालिएको छ । उनले भने, ‘आगलागी रोकावट, तार सुधार, ट्रान्सफरमरको सङ्ख्यामा वृद्धिलगायतका क्षेत्रमा सुदृढीकरण गर्न सकिए चुहावट न्यूनीकरण गर्न सकिन्छ ।’

जिल्लामा आव २०७६/०७७ मा ९५ प्रतिशत विद्युतीकरण भएकामा आर्थिक वर्षमा २०७७/०७८ को असारमसान्त सम्म ९७ प्रतिशत मानिसमा विद्युत् पहुँच पुगेको छ । जिल्लाको दुर्गम भनेर चिनिने चितवनसँग जोडिएको देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् जडानका कार्य बाँकी रहेको कार्यालय प्रमुख क्षेत्रीले बताए । जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रको आयोजनाले काम गरिरहेकाले छिट्टै जिल्ला पूर्ण विद्युतीकरण हुनेमा विश्वस्त रहेको सो कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस