लमजुङ । गोरखा भूकम्पले क्षति पुर्याएका १५६ विद्यालय भवन पुनः निर्माण भएका छन् ।
विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका १५६ भवन पुनः निर्माण सम्पन्न भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख अशोक पराजुलीले जानकारी दिए ।
उनले भने, ‘हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनः निर्माण सम्पन्न भएको छ ।’ जिल्लामा ६९ शौचालय पुनः निर्माण गर्नुपर्नेमध्ये ६८ सम्पन्न भएको छ ।
यसै गरी ३६ खानेपानी धारा पुनः निर्माण गर्नुपर्नेमध्ये ३४ सम्पन्न भएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी २६८ बनाउनुपर्ने मध्ये २५७ सम्पन्न भएको जनाइएको छ । उनले भने, ‘हामीले जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा सकाउने लक्ष्य राखे पनि बर्खा याममा विभिन्न ठाउँमा भत्किएको बाटो र विद्युत्को समस्याले निर्माण सम्पन्न हुन सकेन । अब आगामी कात्तिक महिनाभित्र सबै काम सम्पन्न गर्नेछौँ । ‘ जिल्लामा विद्यालय भवन पुनः निर्माण आर्थिक वर्ष २०७३/०७४ सुरु भएको थियो ।
उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनः निर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो । । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमध्ये १३१ विद्यालयमा भूकम्पले क्षति पुर्याएको थियो । सबै योजना विद्यालय व्यवस्थापन समितिमार्फत पुनः निर्माण भइरहेको छ ।