काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको हो ।
आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए ।
आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताए ।
खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ ।


