कांग्रेसको क्रियाशील सदस्यता सङ्ख्या साढे आठ लाखभन्दा बढी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कांग्रेसको क्रियाशील सदस्यता सङ्ख्या साढे आठ लाखभन्दा बढी


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले आज पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण सम्बन्धी प्रतिवेदन बुझाएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज भएको बैठकमा समितिका संयोजक रमेश लेखकले उक्त प्रतिवेदन पार्टी सभापति देउवालाई बुझाएका हुन् । संयोजक लेखकका अनुसार चार लाख नौ हजार ३३ जनाको नवीकरण गरिएको छ भने चार लाख ४३ हजार ६७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको छ । क्रियाशील सदस्यता सङ्ख्यामा ७४ दशमलव २६ प्रतिशत पुरुष, २२ दशमलव ६२ प्रतिशत महिला र शून्य दशमलव शून्य दुई प्रतिशत अन्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिलो प्राप्त भएकाले त्यसलाई टुङ्ग्याउन बाँकी रहेको छ । अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएकाका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समिति सदस्य श्यामकुमार घिमिरेले जानकारी दिए । उक्त विवाद अब कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले टुङ्ग्याउने बताइएको छ ।

पार्टीका केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरु आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य हुनुहुन्थ्यो । विसं २०७७ फागुन ६ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो ।

क्रियाशील सदस्यताको कारण अधिवेशन कार्यतालिका प्रभावित

क्रियाशील सदस्यताको सम्पूर्ण काम समयमै सम्पन्न भएको भए कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज अर्थात साउन १२ गते गाउँ÷नगर वडा अधिवेशन हुने थियो तर समय मै क्रियाशील सदस्यता वडास्तरमा नपुगेका कारण पार्टी पदाधिकारी बैठकले यस अघि नै वडा अधिवेशन स्थगित गरिसकेको छ ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्ला र क्षेत्रको विवादका कारण उक्त प्रतिवेदन आज १२ दिन ढिला गरी बुझाइएको छ ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस