सचिवको सरुवा मन्त्रिमण्डलको पूर्णता पछि मात्रै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सचिवको सरुवा मन्त्रिमण्डलको पूर्णता पछि मात्रै


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । सचिवको सरुवा मन्त्रिमण्डल पूर्णता पछि मात्रै हुने भएको छ ।

नयाँ सरकार गठनसँगै हुने भनिएको सचिवको सरुवा मन्त्रिमण्डलले पूर्णता पाएपछि मात्रै गर्ने तयारी रहेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

‘मन्त्री आएपछि हेरफेर गर्नु परिहाल्छ’, ती स्रोतले भने, ‘सचिव जस्तो पदमा पटक पटक सरुवा गरिरहन पनि त्यति राम्रो नहुने भएकोले मन्त्रिमण्डल विस्तार पछि एकैचोटी गर्ने भन्ने छ ।’

सचिव सरुवाका लागि अहिले सिंहदरवारमा दौडधुप चलेको छ । को कहाँ जाने भनेर कर्मचारी मात्रै होइन, कसलाई कहाँ लैजाने भनेर नेता, व्यापारी तथा शक्तिकेन्द्रहरूसमेत लविङमा लागेको ती स्रोतको भनाई छ ।

हरेक पटक सरकार परिवर्तनसँगै कर्मचारी नेतृत्वको सरुवाले पनि उत्तिकै चर्चा पाउने गर्छ । कुन कर्मचारीले कहाँ कस्तो काम गरेको छ र त्यसको मूल्याङ्कनका आधारमा कहाँ पठाउँदा राम्रो हुन्छ भन्ने भन्दा पनि आफू र आफ्ना अनुकूलका कर्मचारी ल्याउने र हटाउने राजनीतिक खेलले स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्र दिनप्रतिदिन अस्थिर बन्दै आएको छ ।

निकठस्तहरुलाई ‘मालदार’ र ‘पावरफुल’ भनिएका निकायहरूमा भित्र्याउने र फरक आस्था राख्ने कर्मचारीलाई उपत्यकाबाहिर हुत्त्याउने यसअघिका सरकारहरूकै निरन्तरता पाउँछ या न्यायिक हिसावले व्यवस्थापन गर्छ त्यो भने हेर्न बाँकी नै छ । ‘यो त स्वाभाविकै हो’ एक सचिव भन्छन् ‘अघिल्लो सरकारले फरक बिचारकै आधारमा हुत्त्याउँछ भने अब त्यसरी हुत्त्याएको कर्मचारीले अहिले अवसर त पाउँछ नै !’

नेतालाई रिझाउने खुबीकै कारण कसैले सधैँभरि अवसर पाई रहने र कोही भने त्यस्ता अवसरहरूबाट सधैँ वञ्चित भई रहने अवस्था कदापि हुनुहुँदैन

कर्मचारीले राजनीति गर्न हुँदैन भनिएपनि पछिल्लो समय कुनै न कुनै पार्टीलाई समात्नु पर्ने बाध्यता आई लागेको र सोझा कर्मचारीको पक्षमा बोलिदिने कोही नभएपछि अवसरबादीहरुले त्यस्तै कर्मचारीलाई पछार्दै आएको ती सचिवको भनाई छ ।

तर अघिल्ला सरकारहरूबाट भए गरेका कमीकमजोरीहरू पनि पछिल्ला सरकारहरूले सुधार्दै लगे मात्रै सङ्गठनमा सुद्धिकरण आउने भएकोले विशेष गरी निजामतीको उच्च पद सचिवको सरुवा गर्दा योग्यता, दक्षता, अनुभव र ट्र्याक रेकर्डका आधारमा गर्नुपर्छ । नेतालाई रिझाउने खुबीकै कारण कसैले सधैँभरि अवसर पाईरहने र कोही भने त्यस्ता अवसरहरूबाट सधैँ वञ्चित भईरहने अवस्था कदापि हुनुहुँदैन ।

ती अधिकारीले कतिपय व्यक्तिहरू जुनसुकै सरकारमा पनि अवसर आफ्नै पोल्टामा राख्नेहरूबाट पनि मुख्य सचिव सजग हुनुपर्ने र प्रधानमन्त्रीले बुझ्नु पर्नेसमेत सुझाए 

साथै सचिव पद प्रशासनिक मात्रै भन्दा पनि राजनीतिक नेतृत्व सँगसँगै काम गर्नुपर्ने भएकोले सरकारको लय समात्न सक्ने हुन पनि उत्तिकै आवश्यक छ ।

सचिव पदमा पुगिसकेका हरेक व्यक्ति उतिकै योग्य र प्रतिस्पर्धी हुन् तर ती सबै समान भने होइनन् । व्यक्तिको स्वभाव, अनुभव र नेतृत्व क्षमताका आधारमा जो जो सचिव जुन जुन मन्त्रालयमा उपयुक्त हुने देखिन्छन्, त्यसैको आधारमा सचिव सरुवा गर्न सके कर्मचारीको मनोबल उच्च हुनुका साथै सरकारका काम कारबाहीले पनि गति लिने देखिन्छ ।

यदि सरकारले जनतासँग गरेका आफ्ना बाचा र निदिष्ट लक्षहरू पुरा गर्ने हो भने सही व्यक्तिलाई सही मन्त्रालयमा पठाउन सक्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस