न्याय नपाए न्यायिक समिति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

न्याय नपाए न्यायिक समिति


५ श्रावण २०७८, मंगलबार


टिस्टुङ । मकवानपुरको थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये आर्थिक वर्ष २०७७/७८ मा ३० वटाको फैसला भएको छ ।

ती मुद्दा मेलमिलापको विधिबाट निरुपण गरिएका हुन् । समितिमा एक वर्षभित्र विभिन्न किसिमका ४६ मुद्दा परेको न्यायिक समितिका कानुनी सहजकर्ता गोपीकुमारी कार्कीले जानकारी दिए ।

अघिल्लो आवमा विचाराधीन रहेकासमेत गत आवमा न्यायिक समितिमा विभिन्न आठ किसिमका उजुरी परेका थिए । दर्ता भएका मुद्दामध्ये तीन वटा अदालत पठाइएको नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक खड्गबहादुर गोपालीले जानकारी दिए। न्यायिक समितिमा उजुरी दिएर तारिख नबुझेको र सम्पर्कमा नआएको मुद्दा सात वटा रहेका छन् ।

त्यसै गरी आठ वटा मुद्दा विचाराधीन रहेका छन् । न्यायिक समितिका कानुनी सहजकर्ता कार्कीका अनुसार समितिमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी जग्गाको साँध–सिमानासम्बन्धी छन् । एक आवमा १७ मुद्दा जग्गासम्बन्धी दर्ता भएको समितिले जनाएको छ । त्यसै गरी १० जग्गा रोक्कासम्बन्धी, ६ आर्थिक लेनदेनसम्बन्धी र चार अंशसम्बन्धी छन् ।

समितिमा ज्येष्ठ नागरिकको हेरचाह नगरेको मुद्दासमेत परेको छ । गत आव त्यस्ता तीन मुद्दा दर्ता भएका छन् । त्यसै गरी श्रीमान्–श्रीमती झैझगडाका मुद्दा तीन, साधारण कुटपिटका मुद्दा दुई र ज्याला विवादसम्बन्धी मुद्दा एक वटा दर्ता भएको उनले जानकारी दिए । समितिमा आएका मुद्दा सकेसम्म मेलमिलापको माध्यमबाट निरुपण गर्ने गरिएको समितिका संयोजक गोपालीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस