शनै: शनै
ॐ श्री श्री श्री एक कोटी नौ
कल्की अवताराय नम: !
कल्किराजो उवाच:
यावज्जीवेत्सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत्
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः
त्रयोवेदस्य कर्तारौ भण्डधूर्तनिशाचराः । |०|
धरोधर्म ! यो कुरा उसले बुझ्दै बुझ्दैन ।
हजारौँ न्युरनले बनेको मगज र
खरबौँ एटम्सले बनेको
ब्रह्माण्डको गतिवाद नै नबुझी
हेर ऊ बर्बराएको… बौलाएको ! |१|
यहाँ,
‘लोका: समस्ता: सुखिनो भवन्तु’
मन्त्रज्ञको कन्चटमा गोली हाने,
अहँ कसैले देखेन,कोहि बोलेन ।
यहाँ,
‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय’
शास्त्रज्ञको घाँटी रेटे,
अहँ कसैले देखेन, कोहि बोलेन ।
यहाँ
रजस्वला भएकी अपवित्र नारीको
इज्जत लूटेर नरपिचासहरुले आफूलाई पवित्र बनाए
अहँ कसैले देखेन, कोहि बोलेन।
यहाँ
स्वास बेचेर लास किने
अहँ कसैले देखेन, कोहि बोलेन ।
तर हेर ऊ एक्लो बर्बराएको… बौलाएको ! |२|
यहाँ
राष्ट्रिय अस्मिताको के कुरा गरौँ ?
कतिले
राष्ट्रिय जनावर गाईलाई भिरबाट खसाले
निर्मम, दानविय र बीभत्स संहार गरे,
कतिले
राष्ट्रिय झण्डा जलाए, कुल्चिए
अहँ कसैले देखेन, कोहि बोलेन ।
आफू बस्ने धरातलको त झन् कुरै छोडौँ
कहिले चुच्चे पारे, कहिले बुच्चे पारे
कतिले केक बनाएर
‘होली~वाइन’ नामको
सोमरससँगै रङ्गिन प्याकको माद लगे !
अनकौँ; विधी मिचिए, विधान भत्काए
राष्ट्रिय मर्यादादेखि संविधान जलाईए/च्यातिए ।
अहँ
धरोधर्म! कसैले देखेन, कोहि बोलेन ।
तर हेर ऊ एक्लो बर्बराएको… बौलाएको ! |३|
यहाँ
मन्दिरको ढोका बन्द गरिन्छ
भट्टीको ढोका खोलिन्छ ।
यहाँ,
साधुलाई चोर बनाइन्छ
धुरन्धर चोरलाई महात्मा !
यहाँ
धर्मलाई अफिम बनाइन्छ
अफिमलाई धर्म ।
यहाँ
देशलाई परदेश बनाइन्छ
र, परदेशमा देश खोजिन्छ ।
धरोधर्म !
कसैले देखेन, कोहि बोलेन ।
तर हेर ऊ एक्लो बर्बराएको… बौलाएको ! |४|
आज झिसमिसे साँझमा
असारे विकासको उपहारस्वरूप प्राप्त
एक बोतल ट्वाँकसँगै
भुस्याहा कुकुरले भरिएको
कुनै गल्लीभित्र
मैले त्यो बौलाहालाई भेटे ।
रेबिज लागेर
भुत्ला खुइलिएका रङ्गीबिरङ्गी
भुस्याहा कुकुरहरूको लखेटालखेटबीच
अझै पनि ऊ बर्बराउँदै थियो;
संकल्प त्याग इत्याह संकल्पेति। शनैः शनैरिति। मनसैव न व्यापारो परमेण।
किंचिदपि विषयाणां त्यागग्रहणादिकं न चिन्तयेत्। इतिश्री शून्यवादप्रसंगात्। |००|