प्राङ्गारिक खेतीमा प्राङ्गारिक विज्ञ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्राङ्गारिक खेतीमा प्राङ्गारिक विज्ञ


२० असार २०७८, आइतबार


चितवन । कृषि तथा पर्यटन लगायत विभिन्न क्षेत्रमा अग्रणी रहेको चितवन एक विशिष्ट पहिचान बोकेको जिल्ला हो । चितवनको सदरमुकाम भरतपुरबाट करिब ३८ किलोमिटरको दुरीमा सुन्दर उपत्यका-माडी अवस्थित छ । करिब २१८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको माडी क्षेत्र धार्मिक, ऐतिहासिक, कृषि र पर्यटकीय हिसाबले अग्रस्थानमा रहिआएको छ ।

समुन्द्र सतहबाट ६३ मिटरदेखि ७५० मिटर सम्मको उचाइमा रहेको यो क्षेत्र कृषिका लागि अत्यन्तै उर्वर भूमि रहेको छ । पूर्व, पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज तथा चुरे पहाड अनि दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको यो सुन्दर उपत्यका जैविक विविधताको हिसाबले पनि त्यति नै महत्त्वपूर्ण क्षेत्र रहेको छ । यसै स्थानमा प्राङ्गारिक कृषि उत्पादन सम्बन्धी विषयमा डेनमार्कबाट विद्यावारिधि हासिल गरेका डा. भानिश्वर (भानु) पोखरेलले प्राङ्गारिक अनुसन्धान केन्द्र तथा फार्म सञ्चालन गरेका छन् ।

चितवनकै रामपुर स्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पसबाट कृषि विषयमा स्नातक तह अध्ययन गरी उच्च शिक्षाको लागि डेनमार्क गएका पोखरेल आफ्नो १३ वर्षको विदेश बसाइँमा सिकेका ज्ञान, सीप र अनुभवलाई आफ्नै माटोमा प्रयोग गर्ने उद्देश्य लिई १ वर्ष अगाडि नेपाल फर्किएका थिए । नेपाल फर्के लगत्तै व्यावसायिक प्राङ्गारिक कृषिमा हात हालेका उनले हाल २५ बिघामा खेती गरेका छन् र सो मध्ये ५ बिघा क्षेत्रफलमा प्राङ्गारिक तरकारी तथा फलफूल खेती गरेका छन् ।

प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको कृषि ज्ञान केन्द्र, चितवनको आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम “प्राङ्गारिक अनुसन्धान केन्द्र तथा फार्म स्थापना” अन्तर्गत रु. २५ लाख अनुदान प्राप्त गरी सो फार्म स्थापना भएको हो । हाल फार्ममा काँक्रो, करेला, लौका, मेवा, खुर्सानी लगायतका बालीहरूको खेती तथा मत्स्यपालन समेत गरिँदै आएको छ ।

नेपालमा एकदमै न्यून क्षेत्रफलमा मात्र प्राङ्गारिक खेती गरिएको तथ्याङ्क रहेकोले थप क्षेत्र विस्तार गर्न सक्ने सम्भाव्यता रहेको उनी बताउँछन् । प्राङ्गारिक कृषि मार्फत माटोलाई स्वस्थ राखी गुणस्तरीय उत्पादन लिन सकिने हुँदा बागमती प्रदेश सरकारले प्राथमिकताकासाथ प्राङ्गारिक खेतीलाई प्रवर्धन गरेकोमा उनी खुसी व्यक्त गर्दछन् ।

उनले यस फार्ममा तरकारी, फलफूल, पशुपालन, मत्स्यपालन, अनुसन्धान केन्द्र, तालिम केन्द्र, कृषि पर्यटन लगायत विभिन्न विधालाई समेटी एकीकृत रूपमा अगाडी बढाएका छन् । प्राङ्गारिक खेती सँगसँगै कृषि पर्यटन समेत विस्तार गरी थप आयआर्जन गर्ने योजनामा उनी रहेका छन् ।

विशेष गरी प्राङ्गारिक खेतीको लागि सबैभन्दा महत्त्वपूर्ण तत्त्वको रूपमा रहेको प्राङ्गारिक मलको समुचित उपलब्धताको निम्ति उनले पशुपालनलाई विशेष जोड दिएका छन् । बाली उत्पादन तथा पशुपालन एक अर्काको परिपूरक रहेको हुँदा यी दुई वटै पक्षलाई सँगसँगै लैजान सके उत्कृष्ट उत्पादन लिन सकिने उनको अनुभव छ । भकारो सुधार, मल तथा मूत्रको सङ्कलनबाट स्थानीय स्तरमै गुणस्तरीय मल तयार गर्न सकिने उनी बताउँछन् । यसका अलावा उनले घरायसी रूपमा नै प्राङ्गारिक विषादी उत्पादन गरी प्रयोग गर्ने गरेका छन् ।

पोखरेल आफ्नो फार्मलाई केवल उत्पादनमा मात्र सीमित नराखी आफ्ना विज्ञताको उपयोग गरी सिकाई केन्द्रको रूपमा समेत विस्तार गर्ने योजनामा रहेका छन् । प्राङ्गारिक कृषि सम्बन्धी आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रसार तथा आदानप्रदान गर्न उनले केन्द्रमा तालिम तथा सेमिनार हल र फार्म हाउस लगायतका संरचना निर्माण गर्दै छन् । यस फार्म केन्द्रबाट प्राङ्गारिक कृषिको क्षेत्रमा लाग्न इच्छुक कृषक, विद्यार्थी तथा अन्य सम्पूर्ण लाभान्वित हुने उनले लक्ष्य लिएका छन् ।

नेपाली कृषक माझ अझै पनि गोठे मलको तयारी र प्रयोगबारे सचेतनाको कमी रहेको उनी बताउँछन् । उनी भन्छन् “विशेष गरी गोठे मलमा पशुको गोबर मात्र प्रयोग नगरी मूत्रको समेत प्रयोग गर्ने र खेतबारीमा मल पुर्‍याईसकेपछी तत्कालै छर्ने जस्ता अभ्यास अपनाउन जरुरी छ ।”

रासायनिक मल तथा विषादीको प्रयोग गरी गरिने खेतीले वातावरण तथा मानव स्वास्थ्यमा क्रमिक रूपमा असर गर्दै जाने र दीर्घकालीन रूपमा समेत उत्पादन र उत्पादकत्व घट्दै जाने हुँदा सम्पूर्ण कृषक वर्गलाई प्राङ्गारिक खेती गर्नुपर्ने उनको सल्लाह छ ।

विकसित देशको तुलनामा नेपालमा रासायनिक मल तथा विषादी कम मात्रामा प्रयोग भएता पनि उचित तरिकाले प्रयोग नहुँदा विषादीको अवशेषको मात्रा अत्यधिक पाइने गरेको र यसले गर्ने असर पनि ती देशको तुलनामा नेपालमा धेरै रहेको उनी बताउँछन् । तसर्थ रासायनिक खेती प्रणालीलाई प्राङ्गारिकमा रूपान्तरण गर्ने अभियानमा आफू लागेको उनी बताउँछन् ।

विशेष गरी शिक्षित जनशक्ति विदेश पलायन भइरहेको वर्तमान परिप्रेक्ष्यमा डा. पोखरेल नेपालको प्राङ्गारिक कृषिको क्षेत्रमा एक आशाको किरणको रूपमा उदाएका छन् ।

स्वदेशमै बसी केही गरौँ भन्ने भावनाले अग्रसर भई यस क्षेत्रमा लागि परेका युवा एवं किसानहरूलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशले विभिन्न सहयोग गर्दै आएको छ । र, विदेशको ज्ञान, सिप र अनुभवहरूलाई स्वदेशमै लगानी गर्न सके देश आत्मनिर्भर हुन समय लाग्नेछैन ।

Tags :
प्रतिक्रिया दिनुहोस