बाँझो जमीन उपभोग गर्नेलाई अनुदान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बाँझो जमीन उपभोग गर्नेलाई अनुदान


२० असार २०७८, आइतबार


चितवन । जिल्लामा रहेको बाँझो जमीन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमीन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो ।

माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा समूह, माडीकै खेतीपाती कृषक समूह र खैरहनी नगरपालिकाका भोजराज खनालले बाँझो खेत उपयोग गरेबापत अनुदान पाउने भएका हुन् । माडीका दुई समूहले ४३० रोपनी र खनालले ८८ रोपनी बाँझो जमीनमा खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए । उनीहरूलाई एक÷दुई दिनभित्रै रकम हस्तान्तरण गरिने उनले बताए ।

उनका अनुसार सरकारले गत आर्थिक वर्षदेखि बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहनस्वरूप प्रतिरोपनी रु दुई हजारका दरले अनुदान दिने नीति लिएको छ । सोही नीतिअनुसार अनुदान रकम वितरण गर्न लागिएको उनले बताए । उनले भने, ‘बाँझो जमीनमा खेती गरेको प्रमाण अपुग भएका धेरै थिए प्रमाण पुगेकालाई अनुदान दिन लागेका हौँ ।’

जिल्लामा अहिले खेतीयोग्य जमीन ४४ हजार हेक्टर रहेको छ । जसमध्ये पाँच हजार हेक्टर जमीन बाँझो रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाँझो रहेको जमीनमध्ये व्यावसायिक खेती गर्न मिल्ने जमीन करिब ५०० हेक्टर रहेको छ । ढकालले भने, ‘बाँझो जमीनमध्ये कतिपय खोलामा परिणत भएका छन् भने कतिपय व्यावसायिक रुपमा खेती गर्न नसकिने रहेका छन् ।’ बाँझो खेतको प्रयोगका लागि मन्त्रालयले कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस