वरिष्ठ नेता पौडेल, सिटौला र कोइरालाबीच मण्डिखाटारमा छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वरिष्ठ नेता पौडेल, सिटौला र कोइरालाबीच मण्डिखाटारमा छलफल


१४ असार २०७८, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबारे पार्टीका तीन नेताबीच आज छलफल भएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा भएको भेटमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

सहमति, सहकार्य र एकताका साथ आसन्न महाधिवेशन अगाडि बढाउने भन्ने बारेमा केन्द्रीत रहेर सो अवसरमा छलफल भएको केन्द्रीय सदस्य कोइरालाले जानकारी दिइन् । ‘गुट उपगुटका कारण पार्टी कमजोर भयो, आगामी महाधिवेशनमा पार्टीलाई कसरी बलियो र एकताबद्ध बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो’, उनले भनिन् ।

यस्तै, मुलुकको वर्तमान राजनीतिक घटनाक्रमका बारेमा समेत तीन नेताबीच छलफल भएको छ । पार्टीको महाधिवेशन आउन दुई महिना बाँकी रहँदा अहिले कांग्रेसका नेताहरुबीच नेतृत्वका लागि छलफल र भेटघाट बाक्लिएको छ ।

केही दिन अगाडिमात्र पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच निधी र कोइराला निवासमा भेटघाट भइसकेको छ । यस्तै, सभापति शेरबहादुर देउवाले पनि आगामी महाधिवेशनमा अन्तिम पटक सभापति लड्ने भन्दै आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल अगाडि बढाएका छन्। कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस