भीमदत्तको बजेट एक अर्ब ५९ करोडः स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भीमदत्तको बजेट एक अर्ब ५९ करोडः स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा


१० असार २०७८, बिहिबार


कञ्चनपुर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु एक अर्ब ५९ करोडको बजेट नगरसभामा प्रस्ताव गरेको छ ।

‘सन्तुलित वातावरण, सुशासनसहितको समाजवादउन्मुख नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ भन्ने नारासहित आज शुरु भएको नवौँ नगरसभामा नगर उपप्रमुख सुशीला चन्दले आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेश गरे ।

बजेटमा रु एक अर्ब ११ करोड चालु र रु ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ । यो बजेट चालु आवभन्दा बढी हो । चालु आवमा रु एक अर्ब ३७ करोड बजेट विनियोजन गरिएको थियो ।

भीमदत्तले यस वर्ष २५ वर्षे गुरु योजनाका आधारमा नीति, कार्यक्रम र बजेट ल्याएको हो । नगरपालिकाले गत वर्ष रणनीतिक गुरु योजना बनाएको थियो । बजेटमा कोेरोना महामारी नियन्त्रण, रोकथाम सहित शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले कोभिड –१९ महामारी नियन्त्रण रोकथामसहित स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याइएको बताए।

भीमदत्तलाई स्मार्ट सिटीका रुपमा विकास गर्न संघीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले चालु वर्षमा भीमदत्तलाई स्मार्ट सिटी निर्माणका लागि छनोट गरी बजेट सुनिश्चितता गरेको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरको आन्तरिक स्रोतसाधनलाई ध्यानमा राखी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस