चन्द्रागिरिको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चन्द्रागिरिको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता


७ असार २०७८, सोमबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ ।

काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन लागेको हो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि चन्द्रागिरिले नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले आगामी दिनमा आउने कोरोनाको तेस्रो भेरियन्टलाई मध्यनजरमा राख्दै नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेको जानकारी दिए । ‘पिसिआर परीक्षण, एन्टीजेन परीक्षण, कोरोना खोप र अक्सिजन प्लान्टलाई लक्षित गरेर नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेका छौँ’, उनले भने ।

स्वास्थ्यबाहेक नगरपालिकाले शिक्षा, विपद् व्यवस्थापन, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । नागरिकको जीवनरक्षा नगरपालिकाको पहिलो प्राथमिकता रहेको प्रवक्ता महर्जनको भनाइ छ । उक्त नगरपालिकाले नीति, कार्यक्रम र बजेटमा राख्ने कार्यक्रम तथा योजनाबारे यसअघि नै वडा वडामा छलफल सम्पन्न गरिसकेको छ ।

सो नपाले आव २०७८/७९ को नीति तथा कार्यक्रमबारे छलफल गर्न मङ्गलबार नगर कार्यपालिकाको बैठक आह्वान गरेको छ । यस्तै नगरपालिकाले यही असार १० गते नवौँ नगरसभा बोलाएको छ । गत आर्थिक वर्षमा एक अर्ब ७२ करोडको बजेट ल्याएको सो नगरपालिकाले अहिले दुई अर्बभन्दा बढीको बजेट ल्याउने गरी नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस