सचेत, जिम्मेवार र इमानदार युवाको चिन्तन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सचेत, जिम्मेवार र इमानदार युवाको चिन्तन


७ असार २०७८, सोमबार


अहिले विदेशमा भएका युवाहरू नेपाल फर्किने वातावरण बन्छ कि नेपालमै भएका हामी युवा या हाम्रो अब आउने पुस्ता पनि विदेश नै जानुपर्ने अवस्था आउँछ ? केही समय अघिदेखि यो प्रश्न मेरो मानसपटलमा घुमिरहेको छ ।

तीन वर्ष अघि जब राजनीति सही दिशामा गए जस्तो लाग्दथ्यो त्यति बेला म सहजै उल्लेखित प्रश्नको उत्तर दिन्थेँ र साथीहरूलाई भन्थेँ “अहिले विदेशमा भएका तपाईँ युवा साथीहरू नेपाल फर्किने वातावरण बन्दै छ तयारी गर्दै गर्नुहोस् नेपाल फर्किएर केही गर्ने योजना बनाउनुहोस् !”

त्यतिबेला मलाई “हुन्छ, तिमीले एकदम राम्रो गरेका छौ, चिनजान बढाएका छौ, भोलि फर्किएर केही व्यवसाय गर्ने योजना बन्यो भने पनि साथ दिन्छौ भन्नेमा विश्वस्त छु” भनी ढाडस दिने साथीप्रति म क्षमा माग्न चाहन्छु।

नेपालको अवस्था तपाईँ हामीले सोचे जस्तो भइदिएन। विकृत राजनीतिले गर्दा नेपालमै भएका अधिकांश युवा साथीहरू बेलैमा विदेश नगएकोमा फ्रस्ट्रेटेड (पश्चात्ताप मानेर बसिरहेका) छन्। केही साथीहरू भने त्यही विकृत राजनीतिलाई कमाउने र राजनीतिक करिअर बनाउने अवसरको रूपमा उपभोग गरिरहेका छन् ।

आज सचेत, जिम्मेवार र इमानदार युवाहरूमा एउटा चिन्ता छ। त्यो के हो भने ‘व्यक्तिगत स्वार्थमा लिप्त अवसरवादी युवाहरूको कारण राजनीति कहिल्यै नसुध्रिने, तिनीहरूकै झुण्डले निकट भविष्यमा सत्ताको बागडोर सम्हाल्न पुग्ने र तिनीहरूबाटै आफ्नो र आफ्ना सन्ततिको पुस्ता शासित हुनुपर्ने स्थिति आउने हो कि’ भन्ने छ।

जस्तोसुकै परिस्थितिमा पनि स्वदेशमै सङ्घर्ष गरी अघि बढ्नुपर्छ। विदेशी भूमिमा गएर चुहाउने पसिना स्वदेशमै चुहायो भने जीवन सहज हुन्छ र मुलुक पनि समृद्धिको दिशातर्फ अघि बढ्छ भन्ने मान्यता अनुरूप स्वदेशमै जागिर या व्यवसाय गरी बसेका युवाहरूले अहिले सोचे जस्तो सन्तुष्टि पाउन सकेका छैनन्। किनकि नेपालमा बसेर न त उनीहरूको जीवन सहज भएको छ न त मुलुक नै समृद्धिको दिशातर्फ अघि बढेको छ।

बरु राजनीतिमा लागेका केही सीमित युवा साथीहरूले भने राम्रै प्रगति गरेका छन्। दुई तीन वर्षको यो अवधिमै राम्रो कमाइ गर्न सकेका छन्। नेपालको परिप्रेक्ष्यमा राजनीतिक करिअर पनि राम्रै बनाएका छन्। ठुलाबडा नेतासँग चिनजान बढाएका छन्। नेपाली समाजले पनि नाम दाम कमाउन नसक्ने योग्य र इमानदार युवालाई भन्दा ती युवालाई बढी प्रोत्साहन दिएको छ। अहिलेकै अवस्था केही समयसम्म रहिरहे उनीहरूको बाँकी जीवन पनि हाइसन्चो र ऐस आरामका साथ कट्ने निश्चित छ।

सचेत, जिम्मेवार र इमानदार युवाहरूलाई भने अवस्था झन्झन् गार्‍हो बन्दै गइरहेको छ। नेपालमा न त जागिर गरेर सन्तुष्टि लिन सकिने अवस्था छ न त सहज तरिकाले व्यवसाय गरेर बस्ने वातावरण नै छ। जागिरले आफू र परिवारका आधारभूत आवश्यकता पूर्ति गर्न पनि हम्मे हम्मे छ भने व्यवसाय गर्नका लागि लगानी छैन र लगानी जुटाएर गरिहाले पनि व्यवसायबाट उचित प्रतिफल पाइएला भन्ने केही ग्यारेन्टी छैन।

झन् अहिले त कोभिडका कारणले व्यवसायीहरू धारासायी हुने र लाखौँको रोजीरोटी गुम्ने अवस्था आइरहेको छ।

‘अवसर पाउनु, चाहना राख्नु र गर्न सक्नु यी फरक फरक कुरा हुन् चाहे त्यो राम्रो कार्यका लागि होस् या नराम्रो, के गर्ने र कस्तो परिणाम ल्याउने भन्ने हाम्रै हातमा छ !’

कुनै न कुनै नेताको पछि लाउने, उसैको चाकडी गर्ने र उसैको गुणगान गाउने युवालाई भने अहिले कमाई गर्ने राम्रो अवसर छ। त्यसैले नेता र ठेकेदारसँग नजिक भई करोडौँका योजनामा कमिसनको चाँजोपाँजो मिलाउने र आफ्नो दुनु सोझ्याउने युवाहरूले असल, इमानदार र जिम्मेवार युवाहरूलाई देखि सहन्नन्, उनीहरूलाई शत्रुवत व्यवहार गर्दछन्, निरीह ठान्दछन् !

सचेत, जिम्मेवार र इमानदार युवाले योग्यता र सीप हुँदाहुँदै पनि स्वदेशमा एकातर्फ राम्रो अवसर पाउनै गार्‍हो छ। अर्कोतर्फ अवसर पाइहाले पनि आफ्नो पारिवारिक आर्थिक अवस्थामा खासै सुधार ल्याउन सक्दैन र विदेश पलायन हुनुलाई उसले एउटा निर्मम विकल्पको रूपमा राख्नु स्वाभाविक हो।

फेरि अर्को कुरा आफू त जेनतेन स्वदेशमै सुख दुःख गरेर बसिएला तर आफ्ना सन्ततिलाई विदेश नपठाई नहुने स्थिति आउने हो कि भन्ने चिन्ता पनि उसमा हुन्छ।

आफूले दुःख पाए पनि आफ्ना सन्तानले सुख पाउन, उनीहरूको भविष्य राम्रो होस् भन्ने चाहाना हरेकको हुन्छ नै। तसर्थ सचेत भएर पनि, अवसर पाएर पनि नगर्नु भनेको भावी पुस्ताबाट अपहेलित हुने बाटो बनाउनु हो भन्ने बुझाइ उसको पनि रहन्छ।

बाबुबाजेका पालामा अहिले जस्तो विदेशमा जाने पनि प्रचलन थिएन। अहिले त छ नि, संसारको जुन कुनामा गएर आफ्नो श्रमको उचित मूल्य पाइन्छ, त्यहीँ जानुपर्छ। सुखी र समृद्ध जीवन हुन्छ भने एउटै देशको सिमाना भित्र आफूलाई खुम्च्याउनु हुँदैन भन्ने उसको तर्क पनि यस बखत स्वाभाविक लाग्दछ।

यी सबै स्वाभाविक तर्कहरूले आजकल एउटा सचेत, जिम्मेवार र इमानदार युवालाई बढो पिरोल्न थालेको छ। उसलाई परिवार र देशको माया अति नै लाग्छ। समाज र देशको लागि केही गरौँ भन्ने हुटहुटी उसमा सानैदेखि हुन्छ। योग्यता छ, सीप छ, जाँगर छ । जहाँ गए पनि राम्रै गर्न सक्छु सफल हुन्छु भन्ने आत्मविश्वास उसमा हुन्छ। विभिन्न विकल्पहरूको छनोट गर्ने अवसर पनि उसमा निहित छ। तर पनि किन हो किन उ आजकल चिन्तित छ !

उ चाहन्छ आफू जस्ता युवाहरू मिलेर देशमा केही गर्नुपर्छ। सिस्टम बसाल्नुपर्छ, सुधार गर्नुपर्छ। तर स्वदेशमा हुने उसका साथीहरूले उसलाई उसले सोचे जस्तो साथ दिँदैनन्। उसलाई साथ दिने र ऊसँग विचार मिल्ने उसका साथीहरू त प्रायः विदेश पुगिसकेका रहेछन्। उ एक्लो भएको छ र पनि सङ्घर्ष गर्दै अघि बढी रहेकोछ।

उसले अझै पनि आशा मारेको छैन, केही वर्ष उसले यहीँ स्वदेशमै सङ्घर्ष गर्ने निधो गरेको छ। उ चाहन्छ उसलाई उसका अरू धेरै साथीहरूले साथ दिउन्, समाज र देश बदल्ने रचनात्मक कार्यहरू गरुन्, राजनीति लगायत हर क्षेत्रमा शुद्धीकरणको पक्षमा लागुन्, आवाज बुलन्द पारुन्। एक पटक पुनः जागृत होउन्।

अवसर पाउनु, चाहना राख्नु र गर्न सक्नु यी फरक फरक कुरा हुन् चाहे त्यो राम्रो कार्यका लागि होस् या नराम्रो, के गर्ने र कस्तो परिणाम ल्याउने भन्ने हाम्रै हातमा छ !

तसर्थ हामी युवाहरूले जो जहाँ जस्तो अवस्थामा छौँ त्यहीँबाट सुधारको प्रयत्न गर्नुपर्छ। विदेशमा भएका युवाहरू पनि छिट्टै नेपाल फर्किने वातावरण बनाउनुपर्छ। नेपालमै भएका हामी युवा र अब आउने पुस्ता पनि विदेश नै जानुपर्ने अवस्था आउन दिनु हुँदैन भन्ने सन्देश उसले दिन चाहन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस