डडेल्धुरामा एक कर्मचारीको बीभत्स हत्या « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डडेल्धुरामा एक कर्मचारीको बीभत्स हत्या


प्रशासन संवाददाता

६ असार २०७८, आइतबार


डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–९ को सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । परशुराम–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो ।

गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामग्री जोगबुडा अस्पताल पुर्याउन भनी निस्केकी अस्मिताको शव परशुराम–९ को हट्वानी सामुदायिक वनमा फेला परेको हो । घरपरिवार तथा स्थानीयवासीले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

घटनास्थलको प्रकृति हेर्दा हत्या गरी फालिएको अवस्थाजस्तो देखिएको छ । प्रहरीले भने शव परीक्षणपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्न सकिने बताएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि शनिबार नै प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वको प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग प्रशासनसँग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस