निष्ठापूर्वक काम गरेमा समाज नमूना बन्छ : सभामुख सापकोटा « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

निष्ठापूर्वक काम गरेमा समाज नमूना बन्छ : सभामुख सापकोटा


५ असार २०७८, शनिबार


कर्णाली । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इमान्दारी र निष्ठापूर्वक काम गर्ने इच्छाशक्ति भएमा समाजमा नमूना कार्य हुन सक्ने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा आयोजित ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशालाको आज भर्चुअलरुपमा उद्घाटन गर्दै सभामुख सापकोटाले नमूना विद्यालय निर्माणार्थ सोच र दृष्टिकोण नमूना बनाएर अगाडि बढ्न आग्रह गरे ।

उनले अहिले मुलुकमा अहिले देखिएको कोरोना महामारी, राजनीतिक समस्या र बाढी पहिरोको संकटलाई सामना गरेर अघि बढ्नुपर्ने अवस्था आएको पनि बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले सम्भ्रान्त र कमजोर वर्गले पढ्ने दुईखाले शिक्षा प्रणाली कायम रहेसम्म शिक्षामा समानता नआउने बताए ।

पूर्वशिक्षामन्त्री एवं नेकपा (एमाले) का नेता डा गङ्गालाल तुलाधरले शिक्षासम्बन्धी संवैधानिक र नीतिगत व्यवस्थाका लागि गरिएका प्रयासलाई सरकारले कार्यान्वयन गर्न नसकेको टिप्पणी गरे ।

नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पूर्वाधारले बनेको विद्यालय भन्दा सिकाइमा योगदान दिन सक्ने विद्यालय मात्र नमूना हुन सक्ने विचार व्यक्त गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष शंकर अधिकारीले नेपाल ग्लोबल र डिजिटल युगमा परिवेश गरिसकेको तर नमूना विद्यालयका नाममा प्राज्ञिक अंक ल्याउने काम मात्र भएको टिप्पणी गरे । नेपाल सरकारले ४२२ सामुदायिक विद्यालयलाई नमूनामा रुपान्तरण गर्न अनुदान दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस