सङ्खुवासभाको भोटखोला गाउँपालिकामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध


२९ जेष्ठ २०७८, शनिबार


किमाथाङ्का । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अबरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अबरुद्ध भएको हो ।

भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आइपछि टेलिफोन सेवा अबरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए ।

टेलिफोन सेवा अबरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अबरुद्ध भएको १५ दिन भइसक्दा पनि सरोकारवाला निकायले चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला गाउँपालिकाका वडासचिव दावा लामाले जानकारी दिए।

टेलिफोन सेवा अबरुद्ध हुँदा गाउँपालिका नै सञ्चार सेवाबाट बञ्चित भएको सचिव लामाले बताए । सञ्चार सेवा अबरुद्ध भएको जानकारी गराउँदा पनि दूरसञ्चार कार्यालयले बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ ।

टेलिफोन सेवा अबरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको वडा नं २ च्याम्ताङ आङजुङ भोटेले गुनासो गरे । दूरसञ्चार कार्यालयका सूचना अधिकारी मोक्तानका अनुसार उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको बताए। अबरुद्ध टेलिफोन सेवा कहिले सञ्चालन हुन्छ भन्ने यकिन भइनसकेको मोक्तानले बताए ।

मकालु गाउँपालिकाको भाटभोटेनीमा रहेको टावरमा समेत समस्या देखिएका कारण माक्पालुङको टावरमालिङ्क पठाउन नसक्दा समस्या आएको र मर्मतका लागि चाँडै प्राविधिक टोली त्यस क्षेत्रमा पठाइने सूचना अधिकारी मोक्तानले बताए । टेलिफोन सेवा अबरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा टेलिफोन सेवाबाट बञ्चित भएका छन् ।

विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेका छन् । विद्यत् नभएका कारण बर्खायाममा भोटखोलाको टेलिफोन सेवा घामसँगै अस्ताउने गरेका छन् । विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा बिटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेका छन् । विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् ।

चिचिला गाउँपालिकाको छ्याङकुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोलाको गाउँपालिकाको माक्पालुङ र सिलिचुङ गाउँपालिकालगायत स्थानमा सोलार पावरको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ । सङ्खुवासभाका छ स्थानका बिटिएस टावर सोलरपावरको भरमा मात्र सञ्चालन छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस