पर्यटन काजको औचित्य « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

पर्यटन काजको औचित्य


२९ जेष्ठ २०७८, शनिबार


नेपाल सरकारले गत जेठ १५ गते आय–व्ययको सार्वजनिक जानकारी वक्तव्य जारी गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ । बजेट मार्फत सरकारले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई पर्यटन काज उपलब्ध गराउने घोषणा गरेसँगै यतिबेला यो विषय निकै चर्चामा रहेको छ । यसबीचमा, सामाजिक सञ्जाल र आम सञ्चारका माध्यमहरूमा यो विषयले निकै स्थान पाइसकेको छ ।

कर्मचारीलाई पर्यटन काज, घर–ससुराली भएको जिल्ला रोज्न नपाइने’ जस्ता समाचार शीर्षकहरू पनि कर्मचारी वृत्तमा भाइरल बनिरहेका छन् ।

आय–व्ययको सार्वजनिक जानकारी वक्तव्यमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइने र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाईसमेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने उल्लेख छ । यस हिसाबले यो कार्यक्रम सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अघि सारेको कार्यक्रम हो भन्ने तथ्य वक्तव्यबाटै प्रष्ट भइसकेको छ । यो विषय राहत, सहुलियत र आर्थिक पुनरुत्थान शीर्षक अन्तर्गत समाविष्ट भई वक्तव्यमा उल्लेख भएबाट पनि महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई केही मात्रामा गति दिन र आर्थिक पुनरुत्थानमा सहायता पुगोस् भन्ने हेतुले अघि सारिएको अल्पकालीन प्रकृतिको कार्यक्रम हो भनेर सहजै बुझ्न सकिन्छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीलाई आवश्यक खर्च सहित बिदा वा काजमा पठाइनुपर्ने माग र आवाज उठ्न थालेको निकै वर्ष बितिसकेको छ । कर्मचारी क्षेत्रका ट्रेड युनियनहरू लगायत पर्यटन व्यावसायीहरुसमेतले यो विषयमा निकै समयदेखि सरकारलाई घच्घच्याई रहेका थिए । केही सार्वजनिक संस्थान र निजी संस्थाहरूले आफ्ना कर्मचारीलाई वर्षेनी आन्तरिक भ्रमणमा पठाउने व्यवस्था लागू गर्दे आएको र आन्तरिक पर्यटनको प्रवर्द्धन तथा कर्मचारीलाई कामप्रति उत्साह जगाउन यस प्रकारको कार्यक्रम फलदायी भइरहेको पाइएको छ ।

सरकारी तवरमा प्रदेशमा कार्यरत कर्मचारीहरूलाई समेटेर प्रदेश स्तरमा यस प्रकृतिको कार्यक्रम विगत वर्षहरूबाटै छिटपुट रूपमा सुरुवात भईरहेतापनि सङ्घीय सरकारले भने हालसम्म यो विषयलाई सम्बोधन गरिसकेको थिएन । यस वर्ष पनि बजेट निर्माणको पूर्व सन्ध्यामा यस क्षेत्रका सरोकारवालाहरूले पर्यटन काजको कार्यान्वयनका लागि लिखितरुपमा नै माग गरेका थिए ।

आगामी आर्थिक वर्षको बजेटमा समाविष्ट गरिएको यो कार्यक्रमले यस खालको सहुलियत माग गरिरहेका सरोकारवालाहरूको सम्बोधन त गरेकै छ, सँगसँगै कोभिड १९ को मारले शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई उकास्ने सन्दर्भमासमेत अत्यन्तै सान्दर्भिक रहेको छ । यसको कार्यान्वयनबाट मुलुकभित्रका पर्यटकीय गन्तव्यहरूको विकासमा टेवा पुग्नुका साथै नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पहिचान भई मुलुकको समग्र पर्यटन क्षेत्रलाई नै प्रवर्द्धन गर्न सकिन्छ ।

कार्यक्रममार्फत देशभित्रका पर्यटकीय स्थलहरूको ब्राण्डिङ्ग तथा नयाँ गन्तव्यहरूको पहिचान गर्न सके यसबाट आन्तरिक र बाह्य दुवै पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । यसको प्रभावकारी कार्यान्वयनबाट केही हदसम्म मुलुकी अर्थतन्त्र भाईब्रेन्ट बन्न सक्ने अवस्था रहन्छ । एकपछि अर्कोरुपमा चरणबद्धरुपमा फैलिएको महामारीका कारण विदेशी पर्यटकहरू तत्काल आउन सक्ने सम्भावना नदेखिएको सन्दर्भमा पर्यटन काजको घोषणालेआम कर्मचारीहरूसँगै देशभरका पर्यटन व्यावसायीहरुमासमेत सकारात्मक आशाको सञ्चार गरिरहेको छ ।

बजेटमार्फत पर्यटन काजको घोषणा भएसँगै यस्तो काज सुविधा प्राप्त गर्ने लक्षित वर्ग वक्तव्यमा उल्लेख भएजस्तै निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानमा कार्यरत कर्मचारीहरू मात्रै हुन् की यसले सामुदायिक विद्यालयका शिक्षक एवं सरकारका सबै तहमा कार्यरत सबै राष्ट्रसेवकहरूलाई समेट्ने हो ? भन्ने विषयमा पनि निकै चर्चाहरू भइरहेका छन् । माग, ध्यानाकर्षण, ज्ञापन पत्र र वक्तव्यबाजीका श्रृखलाहरु पनि यसबीचमा देखिएका छन् । हुन पनि, सार्वजनिक क्षेत्रमा कार्यरत सबै राष्ट्रसेवकहरूलाई यो कार्यक्रममा समेट्न सके यसको दायरा थप फराकिलो बन्ने देखिन्छ । यो लेख तयार गर्दासम्म यस सम्बन्धमा सरकारी तवरबाट औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन । यद्यपि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरूले पर्यटन काज सम्बन्धी निर्देशिका निर्माणको क्रममा रहेको जानकारी सार्वजनिक गरिसकेका छन् । यसबाट, पर्यटन काज सम्बन्धी कार्य विधिगत विषयहरू र यो सुविधा प्राप्त गर्ने लक्षित वर्गको प्रष्टताका लागि उक्त निर्देशिका जारी नभएसम्म प्रतीक्षारत रहनुपर्ने अवस्था छ ।

आगामी दिनमा पर्यटन काज सम्बन्धी व्यवस्थाको कार्यान्वयनमा प्रभावकारिता कायम गर्नका लागि केही पक्षहरूमा यथेष्ट ध्यान पुर्याईन आवश्यक देखिन्छ । यस सम्बन्धी निर्देशिकाको निर्माण यथाशक्य चाँडो टुङ्ग्याइ आगामी आर्थिक वर्षको सुरुवातबाटै कार्यान्वयनमा ल्याइन आवश्यक छ। पर्यटन काज सम्बन्धी निर्देशिका तर्जुमा गरिरहँदा यो सुविधा प्राप्त गर्ने लक्षित वर्गको प्रष्ट किटान हुनुका साथै काज सुविधा प्राप्त गर्ने सन्दर्भमा लक्षित वर्गका सबै तह र श्रेणीका कर्मचारीको सहज पहुँचको सुनिश्चितता हुन आवश्यक छ । पर्यटन काज खटाइने गन्तव्य स्थलहरू निर्दिष्ट गरी निर्देशिकामा नै उल्लेख गरिनुपर्छ ।

गन्तव्य स्थलहरू छनौट गर्दा सरकारले अघि सारेको यो कार्यक्रमको अभीष्ट हासिल हुने तवरले सबै कोणबाट विश्लेषण गरी भौगोलिक एवं प्रादेशिक सन्तुलनसमेत कायम हुने तवरले उपयुक्त स्थानहरू चयन गर्न तर्फ पर्याप्त ध्यान पुग्नुपर्ने देखिन्छ ।

पर्यटन काजको कार्यान्वयनका क्रममा सबै कर्मचारीलाई काजमा खटाइरहँदा सम्बन्धित कार्यालयको दैनिक सेवा प्रवाहमा बाधा उत्पन्न हुन नदिनेतर्फ पनि उतिकै सजगता अपनाउन जरुरी छ।

यसका लागि सम्बन्धित कार्यालयमा कार्यरत कर्मचारीहरुमध्ये एक पटकमा निश्चित प्रतिशत कर्मचारीलाई मात्रै काजमा खटाउन सक्ने व्यवस्था गर्न उपयुक्त देखिन्छ। काजमा खटाइने कर्मचारीको मनोनयन, काज स्वीकृति, काजको रकम दाबी गर्ने र भुक्तानी सम्बन्धी प्रक्रियालाई सरलीकृत गर्ने तर्फ पनि उतिकै ध्यान पुर्याईनु पर्छ । यी प्रक्रियाहरू जटिल बन्न पुगेमा कर्मचारीको मनोबल उकास्न अघि सारिएको कार्यक्रमले उल्टै मनोबल ह्रास हुने अवस्था निम्तिन सक्ने खतरा रहन्छ ।

काजमा जाने कर्मचारीले भ्रमणका क्रममा पालना गर्नुपर्ने आचरण र भ्रमणका सर्तहरू पनि निर्माणाधीन निर्देशिकामा मूर्तरूपमा किटान गरिन आवश्यक छ । यसले भ्रमणमा जाने कर्मचारी स्वयंलाई नै अनुशासित बनाउनुका साथै समाजमा कर्मचारीप्रति देखिने गरेका नकारात्मक धारणाहरूको न्यूनीकरणका लागिसमेत बल पुग्ने अवस्था रहन्छ।

अन्य पक्षहरूसँगै हरतरहले भ्रमण गन्तव्य स्थलको प्रचारप्रसार र प्रवर्द्धन हुने, स्थानीय उत्पादन र स्थानीय स्तरमा उपलब्ध सेवा सुविधाको अधिकतम उपभोग हुने, गन्तव्य स्थलको प्रचारप्रसारमा सहायक सिद्ध हुने किसिमका बस्तु खरिद र प्रयोगमा प्राथमिकता दिने जस्ता विषयहरू भ्रमणका सर्तमा समावेश गरिनुपर्छ।

काजमा खटिने कर्मचारीहरूले भ्रमण पश्चात् अनिवार्य रूपमा प्रतिवेदन प्रस्तुत गर्ने तथा प्रतिवेदनको अभिलेख प्रणालीलाई सुदृढ बनाइनुका साथै प्रतिवेदनमार्फत उजागर गरिएका विषयहरूलाई सम्बन्धित सरोकारवाला निकायहरूले पृष्ठपोषणकारुपमा सदुपयोग गर्न सक्ने प्रबन्धसमेत गरिनुपर्छ । अर्कोतर्फ, कार्यक्रमको कार्यान्वयन सही रूपमा भए, नभएको, भ्रमणमा खटिने कर्मचारीले यससम्बन्धी सर्तहरू पालना गरे, नगरेको, पर्यटन काजमा प्राप्त सुविधा र सहुलियतहरू सोही प्रयोजनमा उपयोग भए, नभएको सम्बन्धमा कुनै सम्झौता नहुने गरी कडारुपको अनुगमनकारी व्यवस्थासमेत निर्देशिकामा समेटिन अपरिहार्य रहन्छ।

पर्यटन प्रवर्द्धकै कारण विश्वका धेरै राष्ट्रहरूले आर्थिक विकासमा फड्को मारेका छन् । थाइल्यान्ड, जमैका, माल्दिभ्स, स्विट्जरल्याण्ड जस्ता देशहरूको अर्थतन्त्रमा पर्यटनले ठूलो हिस्सा ओगटेको छ । ती मुलुकहरूमा आन्तरिक पर्यटनको अवस्था पनि सुदृढ रहेको पाइन्छ । हुन पनि, आन्तरिक पर्यटन बलियो नभई बाह्य पर्यटनको आधारशिला मजबुत बन्न सक्दैन । यस सन्दर्भमा पर्यटन काज सम्बन्धी व्यवस्थाको सफल कार्यान्वयन हुन सकेमा यसले चौतर्फीरुपमा नै सकारात्मक प्रभावहरू सृजना गर्न सक्ने अवस्था रहन्छ ।

लाखौँ सङ्ख्याका कर्मचारीहरू देशका विभिन्न भूभागमा भ्रमण गरिरहँदा यसले देशको पर्यटन क्षेत्र र अन्तरसम्बन्धीत पक्षहरुको प्रवर्द्धन त गर्छ नै सँगसँगै, भ्रमणमा निस्किएका कर्मचारीहरूलाई पुनर्ताजगी भई सार्वजनिक सेवा प्रवाहमा समेत त्यसको सकारात्मक प्रभाव पर्ने स्थिति रहन्छ।

अतः आम कर्मचारी, पर्यटन व्यवसायी लगायत सबै सरोकारवालाहरूले कर्तव्य र दायित्व बोधसहित यस किसिमको स्वागत योग्य कार्यक्रमलाई सही रूपमा उपयोग गर्न सक्नुमा नै पर्यटन काजको सान्दर्भिकता र औचित्य पुष्टि हुनसक्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस