धनकुटालाई एभोकाडोको राजधानीका रूपमा विकास अभियान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनकुटालाई एभोकाडोको राजधानीका रूपमा विकास अभियान


१९ जेष्ठ २०७८, बुधबार


धनकुटा । धनकुटामा लामो समयदेखि एभोकाडोको खेती हुँदै आएको छ । विगतमा शान्ति सेनामा गएका केही लाहुरेहरूले उताबाट फर्किदा साथमा केही नौलो फल ल्याएर यता बिरुवा रोप्न सुरु गरेको बताइन्छ । त्यसपछिका दिनहरूमा केही सीमित किसानहरूलाई एभोकाडोको खेतीले आकर्षण गरेको भए पनि अरूलाई खासै रिझाएको थिएन ।

२०७५ सालभन्दा अगाडी सूदुरपूर्वको धनकुटामा धेरैजसो किसानहरू सुन्तला खेती गरेरै राम्रै आम्दानी गरिरहेका थिए । पछि बिस्तारै सुन्तला खेतीमा विभिन्न किसिमका रोग देखिँदै गएपछि किसानहरू चिन्तित हुन थाले, त्यति बेला त्यहाँका किसानहरू केही वैकल्पिक खेतीको खोजीमा थिए ।

यसबिचमा नगरपालिकाले धनकुटालाई एभोकोडोको राजधानीका रूपमा विकास अभियान अगाडी बढाएपछि किसानलाई अहिले आम्दानीको एक अर्को बाटो खुलेको छ ।

अहिले धेरैजसो किसानहरू एभोकाडोको व्यावसायिक खेतीमा जुटेका छन् । यहाँका किसानहरूका दिन फेरिएका छन् । धनकुटा देशभरमै अहिले एभोकाडोको राजधानीका रूपमा चिनिँदै छ ।

किसानलाई सहज र सुलभ मूल्यमा एभोकाडोको बिउँ उपलब्ध गराउन सकियोस् भनी सुरुमा नगरपालिकाले एभोकाडोको नर्सरी सुरुवात गर्‍यो । नगरपालिकाले स्थापना गरेको नर्सरीबाट अहिले नगरका एभोकाडो कृषकहरूको समूहलाई सहुलियत दरमा एभोकाडोको बिरुवा उपलब्ध गराइरहेको नगरप्रमुख चिन्तन तामाङले प्रशासनलाई जानकारी दिए ।

आगामी ३ वर्षमा ६० हजार गुणस्तरीय बिरुवा उत्पादन गरी कृषकहरूलाई वितरण गर्ने गरी नगरपालिका योजनामा जुटेको छ ।

नगरपालिकाको यो अभियानले सार्थकता पाएपछि हालसम्म नगरपालिकाभित्र एक लाख चार हजार छ सय बिरुवा रोपिएका छन् । तीमध्ये २६ हजार तीन सय ५८ बोट फल दिने अवस्थामा रहेका छन् ।

१००३.५ हेक्टर जमिनमा लगाइएका बोटहरूबाट वार्षिक रूपमा २ लाख ८४ हजार किलो एभोकाडो फल उत्पादन हुने गरेको नगरपालिकाले जनाएको छ ।

एभोकाडो उत्पादनबाट अहिले नगरपालिकाका करिब ६ हजार सात सय परिवार लाभान्वित भएका छन् । कृषकले कम्तीमा प्रतिकिलो १ सय ५० रुपैयाँ पाउने गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म नगरपालिकामा एभोकाडो तथा बेर्ना बिक्रीबाट ३२ करोड २६ लाख रकम भित्र्याइएको नगरपालिकाको तथ्याङ्क छ ।

धनकुटा नगरपालिका वडा नं. ३ का किसान इन्द्र राई पहिले नेपाल आर्मीमा काम गर्थे । पछि केही वर्ष रोजगारीका लागि विदेशतिर पनि गए । जे काम गरे पनि नेपालमै रहेर गर्नुपर्छ भन्ने सोच बनाएका राईले अहिले गाउँमै एभोकाडो खेती गरेर मनग्ये आम्दानी गर्न सफल भएका छन् ।

अहिलेसम्म उत्पादनले राम्रै बजार पाएको भए पनि भविष्यमा बजार नपाइने हो की भन्ने चिन्ता उनले लिएका छन् । कृषि परामर्श केन्द्र र नगरपालिकाको सहकार्यमा विभिन्न तालिमहरू दिइएको भए पनि त्यो पर्याप्त नभएको उनको भनाई छ ।

नगरपालिकाभित्र अहिले एक सय चार प्रजातिका एभोकाडो लगाइन्छन् । तर कुन प्रजाति कस्तो ठाउँमा , कति हाइटमा लगाउने, भन्नेबारेमा भने किसानमा ज्ञान नभएकाले केही समस्या देखिएको किसान राईको भनाई छ ।

राई भन्छन्, एभोकाडोको बेर्ना हेर्दा राम्रा सर्लक्क परेको भएर हुँदैन, त्यसको प्रजाति पनि राम्रो हुनुपर्छ । अहिले ६ सय देखी १३ सय उचाइसम्मको जमिनमा एभोकाडो लगाइएका छन् । प्रजाति थाहा नहुँदा भने कुन राम्रो कुन नराम्रो छुट्याउनै गाह्रो हुन्छ । फलको प्रजातिअनुसार बजारको रेट पनि तलमाथि हुने गरेको उनले बताए ।

वडा नं. ५ कर्मिटारका स्थानीय गोविन्द श्रेष्ठले केही समय पहिले दुबई र साउदी अरबमा गरी करिब ८ वर्ष बिताए । विदेशबाट फर्किसकेपछि धनकुटामै व्यापार सुरुवात गरेका उनले अहिले व्यावसायिक एभोकाडो खेती गरिरहेका छन् ।

व्यक्तिगत रूपमा व्यावसायिक खेती सुरु गरेका उनले अहिले एभोकाडोबाटै वार्षिक करिब ५ लाख आम्दानी गर्ने गरेका छन् ।

एभोकाडोको एउटै बोटबाट करिब चार क्विन्टल फल उत्पादन हुने गरेको उनको अनुभव छ ।

धनकुटा विविध जातजातिहरूको बसोबास भएको ठाउँ हो । यहाँ एभोकाडोको व्यावसायिक किसानी सुरु भएपछि यहाँका विगतमा पिछडिएका समुदायहरू प्नि अहिले अगाडी बढिरहेका छन् ।

वडा नं. ४ की तुलसा विश्वकर्मा पहिले पहिले आफ्नो खेतबारीमा मकैबारी गर्थिन् । साथै खुकुरी उद्योग चलाउँथिन् । अहिले नगरपालिकाले एभोकाडो खेतीतर्फ प्रोत्साहन गरेपछि र राम्रै आम्दानी हुने देखेपछि यसको व्यावसायिक खेतीतर्फ जुटेकी छिन् । यसरी अहिले यसको व्यावसायिक खेतीतर्फ स-साना किसानहरूको समेत आकर्षण बढेको देखिन्छ ।

वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेका अनुसार पहिले सुन्तला, जुनार, कागती खेती वडामा गरिँदै आएको भए पनि अहिले यहाँका किसानहरूमा एभोकाडोतर्फ आकर्षण बढेको बताउँछन् ।

वडा नं. ३ मा मात्रै यहाँका किसानले एभोकाडो खेतीबाट वार्षिक करिब १० करोड भित्र्याउने गरेका वडाध्यक्ष घिमिरेले प्रशासनलाई बताए । पछिल्लो समय धनकुटा बाहिरका जिल्लाहरू सङ्खुवासभा, तेह्रथुम, भोजपुर, इलाम, पाँचथर र काठमाडौँबाट एभोकाडो बिरुवाको माग बढी आउन थालेको छ।

यहाँको फल काठमाडौँ, पोखरा लगायतका ठुला होटलहरुमा निर्यात हुने गरेको छ।

यहाँको माटोमा सुन्तला पनि प्रशस्तै उत्पादन हुने गर्छ । एभोकाडो तर्फ किसानहरू अहिले आकर्षित भए पनि भविष्य भने सुनिश्चित भई नसकेको उनी बताउँछन् ।

उनी भन्छन्, अहिले वेर्नाहरुविक्री हुने गरेको छ तर फल कम विक्री हुने गरेको छ । चाँडो भन्दा चाँडो एभोकाडोको फलबाट विभिन्न परिकार आइटमहरू बनाउन सकिने उद्योगहरू पनि नगरपालिकामा सञ्चालन गरिनुपर्छ ।

धनकुटा नगर कार्यपालिकाका सूचना अधिकारी डम्बर रोगले आगामी दिनमा नगरपालिकाले नगरक्षेत्रभित्र एभोकाडोको उत्पादन क्षेत्रलाई पहिचान गरेर पकेट क्षेत्र घोषणा गर्ने र सो क्षेत्रमा कृषि समूह गठन योजना तयार गरेको बताए । समूह गठनपछि एभोकाडोबाट बन्ने परिकार उत्पादन गर्न सकिने उद्योग स्थापना गर्न प्रयासमा नगरपालिका जुटेको उनको भनाई छ ।

एभोकाडोलाई कच्चा पदार्थको रूपमा प्रयोग गरेर ३० भन्दा बढी विभिन्न किसिमका वस्तुहरू बनाउन सकिने बताइएको छ । अबको केही वर्षभित्र उत्पादनको परिणाम ठुलो हुने भएकाले अहिले नै सरकारी निकायबाट यस्ता उद्योग खोल्न किसानलाई प्रोत्साहन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

अहिले देशभरका करिब ६० जिल्लासम्म धनकुटाको एभोकाडोको बिरुवा पुगिसकेको छ । अन्य जिल्लामा पनि यसको खेती विस्तार भएकाले अबको केही वर्षभित्र ठुलो परिमाणमा उत्पादन हुन सक्ने देखिन्छ ।

धनकुटा नगरपालिका वडा नं ४ का कृषक राजकुमार तामाङ केही समय अगाडी वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगारबाट फर्केका तामाङले धनकुटा नगरपालिकाको प्रोत्साहनमा विदेश नगई नेपालमानै बसी कृषि क्षेत्रमा लागेका थिए ।

नगरपालिकाको प्रोत्साहन र उनको मेहनतपछि उनी अहिले सफल एभोकाडो किसानका रूपमा चिनिएका छन् । तामाङले एउटै एभोकाडोको बोटबाट ३ लाख रुपैयाँ आम्दानी गरेर जिल्लामै एउटा रेकर्ड बनाएका छन् । धनकुटा नगरपालिकाले आयोजना गरेको एभोकाडो महोत्सवमा उनले उत्कृष्ट एभोकाडो कृषकमा द्वितीय स्थान हासिल गरेका थिए ।

आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यका साथ धनकुटा नगरपालिका वडा नं ६ परिचय मोडमा एभोकाडो पार्कको निर्माण गरिएको छ । दुई वर्ष अगाडी २०७५ मङ्सिर ८ गते एसियाको पहिलो एभोकाडो महोत्सव धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न भइसकेको छ ।

महोत्सवमा धनकुटा नगरपालिका क्षेत्र भित्रका कृषकहरूले उत्पादन गरेका एभोकाडोहरुको प्रदर्शनी गरिएको थियो । महोत्सवमा ३० प्रजातिका एभोकाडोहरु प्रदर्शनमा राखिएको थियो ।

आगामी वर्षमा देशभरिका एभोकाडो कृषकहरूलाई आमन्त्रण गरी एभोकाडो महोत्सव आयोजना गरिने नगरको योजना रहेको नगरपालिकाकी उपमेयर शकुन्तला बस्नेतले प्रशासनलाई जानकारी दिइन् ।

नगरपालिकाले कृषि पर्यटन विकासका लागि अन्य कार्यहरू आधार रेखा सर्वेक्षण, एभोकाडोको सिकाई केन्द्र स्थापना, एभोकाडोको नर्सरी सुधार कार्यक्रम,, एभोकाडोको कलमी गर्ने कार्यक्रम, एभोकाडो चिनारी पुस्तिका प्रकाशन तथा प्रचारप्रसार र एभोकाडो प्रशोधन उद्योग स्थापनाको लागि निजी क्षेत्रसँग सहकार्य गर्ने कार्यक्रम अघि बढाएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्रका किसानले अहिले पनि सुन्तला खेतीबाटै वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् । यहाँको सुन्तलाले नै त्यति बजार नपाइरहेको अवस्थामा सुन्तला लगाउने खेतबारीमै एभोकाडो खेती लगाउन थालेपछि किसानहरू चिन्तित हुनु स्वाभाविकै हो । अहिले लगाएको एभोकाडोको बिरुवाले तीन वर्षपछि मात्रै फल दिने भएकाले फल कुरेरै किसानले बस्नुपर्ने अवस्था छ ।

यहाँ किविखेती पनि हुने गरेको छ । वडा नं. १ का वडाध्यक्ष निरेन तामाङका अनुसार वडामा वार्षिक करिब डेढ सय क्विन्टल किवी उत्पादन हुने गरेको छ । वडा नं. १ मा बेमौसमी तरकारीहरू पनि निकै राम्रो फल्ने गरेको उनी बताउँछन् ।

यस्तै वडा नं. ५ का वडाध्यक्ष धनकुमार राई भन्छन्, एभोकाडोको फललाई यहाँको हावापानी म्याच गरेको छ । नगरपालिकाका किसानका लागि अन्य आम्दानी बढ्ने सम्भावना देखेर नगरपालिकाले एभोकाडोको व्यावसायिक खेती अभियान थालेको छ ।

एभोकाडोको राजधानी बनाउने अभियानमा धनकुटा नगरपालिकाले कदम बढाइसकेको छ । बिरुवा लगाएको तीन वर्षपछि मात्रै फल दिने यस खेतीप्रति अहिले आकर्षण बढेको भए पनि खेतीको भविष्यप्रति भने यहाँका धेरै किसानले चिन्ता जताएका छन् ।

आगामी दिनमा नेपालमा एभोकाडोको वैज्ञानिक तरिकाको खेती सुरुवात गर्ने जिम्मेवारी धनकुटा नगरपालिकाले पाएको छ । धनकुटालाई एसियाकै दोस्रो एभोकाडोका राजधानी भनिएको छ ।

नगरपालिकाले कृषि क्षेत्रको विकास र कृषि पर्यटनका लागि गरेको काम सह्रानीय छ । धनकुटामा हावापानी सुहाउँदो एभोकाडो खेतीको व्यावसायिक खेती गरिएजस्तै अन्य स्थानीय तहले पनि आ-आफ्नो ठाउँ सुहाउँदो व्यावसायिक कृषिलाई अगाडी बढाउन सकिएमा गाउँमा थुप्रै रोजगारी सिर्जना सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस