कोभिड महामारीमा सामाजिक सञ्जालको भूमिका « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोभिड महामारीमा सामाजिक सञ्जालको भूमिका


१९ जेष्ठ २०७८, बुधबार


स्वस्थ जीवनमा असामान्य तथा चुनौतीको अवस्था आइ जनजीवनमा अप्ठ्यारो अवस्था सृजना हुनु, जन धनको क्षति हुनु र व्यवस्थापनमा कठिनाइ आउनु महामारीको सङ्केत हो । यस्तो स्थितिमा नागरिकको स्वास्थ्यमा असहजताको सृजना भई व्यवस्थापकीय कठिनाइले गर्दा स्वास्थ्य सङ्कटको अवस्था पनि आउन सक्छ । महामारीले धेरै क्षेत्रलाई असर पारी जनजीवनमा काबू बाहिरको अवस्था सामना गर्नु पर्ने परिस्थिति सृजना हुन्छ । यस्तो विषम परिस्थितिमा मानिसको जन जीवनमा डर, त्रास र भय सृजना भई नागरिकमा मनोवैज्ञानिक असरहरू देखिन्छन् । काबू बाहिरको अवस्था आएमा सङ्कट काल लगाइ परिस्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरी माहामारीलाइ साँगुरो बनाउँदै लानु पर्ने पनि हुन सक्छ ।

हाल विश्व समुदायले कोभिडको माहामारीलाइ सामना गरिरहेको छ । प्रायः सबै मुलुकहरू कोभिडको महामारी सित जुधिरहेका छन् । केही राष्ट्रले कोभिड माहामारीलाई नियन्त्रण गर्न सफल भएका छन् र कोभिडको महामारी आउने अवस्थासँग सतर्क हुने रणनीति तय गरेका छन् । स्रोत र साधन न्यून भएका तथा नागरिक सबल हुन नसकेका मुलुकहरू कोभिडको असरबाट आक्रान्त छन् । सुझबुझ र परिपक्व राजनीतिक अवस्था न्यून हुनु, व्यवस्थापकीय कौशलताको सीपको कमी र नागरिक सचेतनाको न्यूनताका कारण कोभिड महामारीको बढ्दो अवस्था रहेको पाइन्छ ।

नागरिकको यस्तो महामारीमा ठुलो भूमिका रहन्छ । आफू सतर्क हुनु, स्वास्थ्य मापदण्डको पालना गर्नु, अरूप्रति सहयोग र सद्भाव राख्नु एवं सही सूचना र सन्देश ग्रहण गर्ने र अरूलाई प्रवाह गर्ने जस्ता कामहरू नागरिकले गर्नुपर्दछ ।

महामारीमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ । नागरिकलाई सकारात्मक सूचना र सन्देश प्रवाह गरी सचेत बनाउने, शासन नागरिक मैत्री गराउन शंखघोषको भूमिका निर्वाह गर्ने र सबै क्षेत्रलाई सतर्क र सकारात्मक वातावरण बनाउन सञ्चार क्षेत्रले आफ्नो दायित्व निर्वाह गर्नुपर्दछ ।

सञ्चार क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको सामाजिक सञ्जालले सूचना र सन्देशलाई सहज बनाएको छ । सूचना र सन्देश ग्रहण गर्न सकिने र अरूलाई सम्प्रेषण गर्न सकिने एवं सूचना र सन्देशका बारेमा आफ्नो धारणा राख्न पाइने हुँदा सामाजिक सञ्जाल सञ्चार शक्तिकोरूपमा आएको छ । सामाजिक सञ्जालले महामारी र प्रकोपलाई न्यूनीकरण गर्न धेरै गर्न सक्छ ।

हाल विश्वमा देखिएको कोभिड महामारीले मानिसको निकटताको बदला दूरता र एक्लोपनलाई जोड दिई कोभिडको सङ्क्रमण बढ्न नदिन जोड दिएको छ । यस्तो स्थितिमा सामाजिक सञ्जाल दूरता कम गर्ने र एक्लोपनाको साथी हुन पुगेको पाइन्छ ।

कोभिडको महामारीमा असल अभ्यासका सूचना र सन्देशहरू तुरुन्तै हेर्न सकिने र अरूलाई पठाउन सकिने हुँदा सुधारका योजना बनाउन र आनीबानीमा सुधार गर्न मद्दत गरेको अनुभूति भएको छ । कोभिडका बारेमा आएका तथ्यपूर्ण सूचना र सन्देशले कोभिडका विरुद्धको मनोबल बढाउँछ र सतर्क हुन प्रेरित गर्दछ ।

रोगका बारेमा इतिबितृान्तका सूचना र समाचारबाट उपयुक्त रणनीति बनाइ आमनागरिकलाइ सुसूचित गर्न सामाजिक सञ्जालले नैतिक र मनोविज्ञान शक्ति प्रदान गर्दछ । जिम्मेवार व्यक्ति र निकायका महामारी विरुद्धका क्रियाकलाप, कार्यशीप र व्यवस्थापकीय कौशलताको मूल्याङ्कन गर्न सामाजिक सञ्जाल भरपर्दो साधन पनि भएको छ ।

अस्वस्थ अवस्थामा रोमान्टिक वातावरण बनाइ तनाव मुक्त राख्न सामाजिक सञ्जाल अचुक अस्त्ररुपमा लिइएको पाइन्छ । विश्व समुदायमा कोभिड विरुद्धका ताजा खबरहरू सुन्न र देख्न सामाजिक सञ्जाल उपयुक्त साधन भएको छ । बिरामी अवस्थामा औषधी प्रयोग गर्ने, के खानहुने र नहुने, बिरामी अवस्थामा पालना गर्नु पर्ने विषय जस्ता सूचना प्राप्त गर्न सामाजिक सञ्जालले सहयोग पुर्‍याएको छ ।

सामाजिक सञ्जालले विकृतिहरू फैलाएको आरोपहरू धेरै छन् । महामारीमा नकारात्मक सूचना र सन्देश प्रवाह गरी मानिसमा तनाव फैलाएको, गलत सूचना र सन्देश प्रवाह गरेको, स्वास्थ्य मापदण्डका बारेमा कन्जुस्याइँ भएको, महामारीको अफवाह फैलाएको जस्ता आरोपहरू छन् ।

यस्तो अवस्था सामाजिक संजालको नियमनको कमजोरीका कारण भएको हो भन्दा उपयुक्त हुन्छ । नियमन गर्ने कानुनको अभाव, नागरिकको न्यून जिम्मेवारी बोध, दण्ड र सजायको न्यूनता आदि कारणले सामाजिक संजालको फाइदा लिन नसकेको अवस्था एका तिर छ भने अर्को तिर मानिसहरू नकारात्मक सूचना र सन्देशमा भुल्न थालेको अनुभूति पनि भएको छ ।

कोभिड महामारीमा सामाजिक सञ्जालबाट कसरी फाइदा लिने भन्ने विषय महत्त्वपूर्ण छ । शासन सञ्चालन गर्नेले महामारीको बेला नेतृत्व कसरी गर्ने, महामारी नियन्त्रण गर्न उपयुक्त योजना, रणनीति तय गर्ने, स्रोत र साधनको उपयुक्त व्यवस्थापन गर्ने, विश्वमा भएका सफल अभ्यासहरूको अनुकरण गर्ने, नागरिक जागरण ल्याउने जस्ता विषयहरूमा सामाजिक संजालको सहयोग लिन सकिन्छ । यी सबै कुशल व्यवस्थापनका अस्त्र हुन । आम नागरिकले आफूलाई सबल बनाउन सामाजिक सञ्जालका सूचना र सन्देशहरूबाट राम्रा कुराहरू ग्रहण गर्ने र आनीबानीमा सुधार गरी महामारीबाट जोगिन सकिन्छ ।

एक आपसमा सहयोग र सद्भावले मानवताको मर्मलाई कम गर्ने हुँदा त्यस्ता सूचना र सन्देशले महामारीको पीडा कम गर्न मद्दत गर्दछ । महामारीमा प्रभावित बिरामीले सामाजिक सञ्जालका सूचना र सन्देशबाट स्वास्थ्य पीडा कम गर्ने साधनको रूपमा लिन सक्छन् । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूले महामारीको जोखिमलाई कम गर्न एव स्वास्थ्य संस्था र नागरिकबीचको असल सम्बन्ध कायम गर्न उपयुक्त सूचना र सन्देशलाई ग्रहण गरी काम गर्ने तौर तरिकामा सुधार गर्न सकिन्छ ।

महामारी एउटा आपत् कालीन अवस्था हो । यस्तो स्थितिमा तनावले गर्दा व्यवस्थापन सीपमा कमी कमजोरीहरू देखिन्छन् । आफ्नो सीप र क्षमताले काम गर्दा अपुरो र पर्याप्तता हुन सक्छ त्यसैले अरूले गरेका सफल अभ्यासहरूको अनुकरण गरी आफूmलाई सक्षम बनाइ सेवा गर्दा अधिक सन्तुष्टि प्राप्त हुन्छ ।

सामाजिक सञ्जाल असल अभ्यास ग्रहण गर्ने माध्यम हुन सक्छ । आम नागरिकले पनि असहज परिस्थितिबाट सहज स्थितिमा आउन राम्रा सन्देश र सूचनालाई ग्रहण गरी आफूलाई सबल बनाउन जोड दिनु आवश्यक छ । शासन सञ्चालकहरू महामारी नियन्त्रण गर्न विश्वमा भएका राम्रा अभ्यास अनुकरण गरी जनताको जीवन बचाउन खरो उत्रनु अनिवार्य भएको छ ।

सूचना शक्ति हो सन्देश जुक्ति हो । सामाजिक सञ्जाल शक्ति र जुक्तिको माध्यम हो । महामारीमा सामाजिक सञ्जाल मानवीय सहयोग र सद्भाव जुटाउने स्रोत बनोस् । मानिसको दुख र सुखको सहयात्री बनोस् । असल अभ्यास र सकारात्मक सोचको बटुवा बनोस् सामाजिक सञ्जाल ।

Tags :
प्रतिक्रिया दिनुहोस