घरमै पुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घरमै पुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी


२३ बैशाख २०७८, बिहिबार


बाजुरा । जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए ।

जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु भइसकेको छ भने चार जना जिल्ला अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका छन् । बाँकी सबै होमआइसोलेशनमा र केही सङ्क्रमित स्थानीय तहले बनाएको आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । गाउँ गाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यालयले एन्टिजेन जाँच घरमै पुगेर गरिरहेको छ ।

हिमाली गाउँपालिका–५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएर घरमै कोभिड जाँच तथा उपचार गरेको छ । जिल्ला अस्पतालमा कार्यरत डा दीपेन्द्र बुढा, स्वास्थ्य कार्यालयमा कार्यरत ल्याब टेक्निसिएन रतन बुढा र जगत शाहीले कवाडी गाउँमा पुगेर जाँचसहित उपचार तथा परामर्श दिएको थियो । सो गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको हो ।

गाउँपालिकामा पुगेको चिकित्सक टोलीले कोरोना सङ्क्रमितलाई उपचारसँगै उनीहरुलाई परामर्शसमेत दिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उक्त गाउँपालिकामा पहिलो चरणको कोरोना भाइरस सङ्क्रमणका बेला एक जना पनि सङ्क्रमित भेटिएका थिएनन् । अहिले दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट सो गाउँपालिकामा मात्रै २० कोरोना सङ्क्रमित रहेका छन् ।

स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितलाई टेलिफोन तथा प्रत्यक्ष भेटमार्फत उपचार र परामर्श दिइरहेका छन् । बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले भने दैनिक होमआइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था टेलिफोनबाट भए पनि बुझ्ने गरेको बताए । फोनमार्फत परामर्श दिने काम भइरहेको र जटिल अवस्था भएमा अस्पताल आउनसमेत आग्रह गर्ने गरिएको खड्काको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले कोरोना सङ्क्रमित दिनप्रतिदिन बढिरहेका बेला स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमित बिरामीको जाँच र उपचार गरिरहेका बताए । जिल्लामा जोखिम बढ्न नदिनका लागि जिल्लामा बुधवारबाट यही वैशाख ३१ गतेसम्मका लागि निषेधज्ञासमेत गरिएको छ । सङ्क्रमितको मनोबल कम गर्ने काम कसैलाई नगर्न प्रजिअ अधिकारीले आग्रह गरेका छन् । जिल्लामा चार कोभिड अस्पताल छन् भने ६५ आइसोलेशन श्यया छन् । जिल्ला अस्पतालमा दुई भेन्टिलेटरसहित आइसीयू श्यया रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस