प्रधानमन्त्रीलाई भेटेर फर्किए मुख्यमन्त्री गुरुङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीलाई भेटेर फर्किए मुख्यमन्त्री गुरुङ


प्रशासन संवाददाता

१८ बैशाख २०७८, शनिबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पोखरा फर्किएका छन् ।

शुक्रबार दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौँ आएका मुख्यमन्त्री गुरुङ शनिबार दुई बजे पोखरा फर्किएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले काठमाडौँ बोलाएपछि मुख्यमन्त्री गुरुङ काठमाडौँ आएका थिए । गण्डकी प्रदेश सरकारबारे प्रधानमन्त्री ओलीसँग कुराकानी गरेर मुख्यमन्त्री गुरुङ फर्किएको जनाइएको छ ।

विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री गुरुङको पद सङ्कटमा परेको छ । १५ वैशाखमा अविश्वासको प्रस्ताव प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची तय भए पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यसपछि भने मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीसँग कुराकानी गर्न काठमाडौँ आएका हुन् । कुराकानीबारे भने अझै केही खुलाइएको छैन ।

तर, अविश्वासको प्रस्तावमा बहुमत नपुग्ने परिस्थिति सिर्जना हुनासाथ बैठक स्थगित गरिएपछि मुख्यमन्त्री गुरुङ सभामुखसँग असन्तुष्ट हुँदै आएका छन् । अब बोलाइने बैठक सहज रुपमा चल्न नदिने पनि मुख्यमन्त्री गुरुङले सङ्केत दिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस