सबै क्षेत्रमा कडाइ गरिन्छ -प्रजिअ पराजुली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सबै क्षेत्रमा कडाइ गरिन्छ -प्रजिअ पराजुली


१३ बैशाख २०७८, सोमबार


कोरोना सङ्क्रमण बढ्न थालेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले केही कडाइ गर्ने भएको छ । उपत्यकाको हकमा तीन वटै प्रमुख जिल्ला अधिकारीहरू नियमित छलफलमा जुटेका छन् । र, १६ गतेदेखि निषेधाज्ञालगायत निर्णयहरू हुनसक्ने बताई रहँदा प्रशासन डटकमले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँग गरेको छोटो कुराकानी :

दोस्रो लहरको कोरोना सङ्क्रमणसँगै सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा नियन्त्रणका लागि प्रशासनले के कस्तो रणनीति अपनाउँदै छ ?
अलि कडा रूपमा नै हेर्नुपर्छ कि भन्ने कुरा भइरहेको छ । सङ्क्रमण दर बढ्दै गइरहेकोले रोकथामका लागि सबै क्षेत्रलाई कडाइका साथ हेर्नुपर्छ भन्ने बारे छलफल भइरहेको छ, यही र यस्तै भन्ने निर्णय नै भई सकेको छैन । आज साँझसम्म निर्णय सार्वजनिक हुन्छ ।

आंशिक रूपमा लकडाउन गर्ने भन्ने जुन कुरा बाहिर आएको छ, खासमा के हो ?
कुनै एउटा क्षेत्र खुलाउँदा अर्को क्षेत्र असर गर्ने हुन्छ । अत्यावश्यकबाहेक सबै क्षेत्र केही दिनलाई बन्द गर्ने कि भन्ने छ ।

सार्वजनिक तथा निजी सवारी साधनहरू पूर्णरुपमा बन्द गर्ने कुरा छ, यसबारे केही निर्णय भई सकेको हो ?
केही समयका लागि पूर्णरुपमा बन्द गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ ।

त्यसो हुँदा उपत्यका छोडेर घर फर्किनेहरूको सङ्ख्या पनि त्यतिकै छ, तिनको हकमा के हुन्छ ?
उपत्यका छोड्न चाहनेहरूका लागि एक-दुई दिन समय दिनुपर्छ ।

प्रशासनकै कर्मचारीलाई सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा तत्काललाई बन्द गर्ने निर्णय त भई सकेको छ, सीमित सेवा सञ्चालनका लागि पनि कर्मचारीलाई के कस्तो व्यवस्था मिलाउँदै हुनुहुन्छ ?
अनलाइन सेवा दिन सक्ने अवस्थामा सम्बन्धित कार्यालयहरूले नै निर्णय गर्न सक्ने भन्ने नै छ । र, यसमा पनि कार्यालयमै आउनु पर्ने अवस्थामा पनि ५० प्रतिशत कर्मचारीबाट आलोपालो गरेर सेवा सञ्चालन गर्ने कि भन्ने छ ।

निषेधाज्ञा जारी गरिएको अवस्थामा अत्यावश्यक सेवाबाहेक अन्यको हकमा पासको व्यवस्थाबारे के कस्तो निर्णय हुन्छ ?
सरोकारवाला निकायहरूबाट आ-आफ्नो क्षेत्रका लागि जारी गरिन्छ ।

थप केही भन्न चाहनुहुन्छ ?
भीडभाड नगरौँ । अत्यावश्यक काममावाहेक केही समयका लागि बाहिर हिँडडुल नगरौँ । यसअघि क्रमशः हामीले सबै क्षेत्र खुलाएकै थियौँ तर सङ्क्रमण बढेको कारण थप जटिलता नआओस् भन्नका लागि सरकारले गरेको निर्णयलाई पूर्णरुपमा पालना गर्न सम्पूर्ण नागरिकहरूलाई अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस