नक्कली भ्याट बिल बनाएर २ अर्ब बढी राजश्व छली गर्ने १६ जनाविरुद्ध मुद्दा दर्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नक्कली भ्याट बिल बनाएर २ अर्ब बढी राजश्व छली गर्ने १६ जनाविरुद्ध मुद्दा दर्ता


१० बैशाख २०७८, शुक्रबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर बीजक(भ्याट बिल) प्रयोग गरी २ अर्ब रुपैयाँभन्दा बढी राजश्व छली गरेको अभियोगमा १६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले अनिल गुप्ता एण्ड एसोसिएटका सञ्चालक अनिल कुमार गुप्ता एवम् अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोप्राइटर प्रविण महतोसमेत १३ फर्मका सञ्चालक गरी १६ जनाविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको हो ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरी राजश्व छली गर्ने सर्लाही घर भई ललितपुर बस्दै आएका अनिल गुप्ता एण्ड एसोसियटसका सञ्चालक अनिलकुमार गुप्ता तथा सोही जिल्ला घर भई काठमाडौँ बस्ने अङ्कुश ट्रेड एण्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महतोको नेतृत्वमा यसरी अर्बौँको राजश्व छली भएको पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरुले ६४ करोड ५० लाख ९७ हजार ८ सय ७२, आयकरतर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७ सय ४२ गरी २ अर्ब १९ करोड ८७ लाख ९५ हजाररुपैयाँ बराबरको राजश्व छली गरेका छन् ।

विभिन्न फर्मका नाममा उनीहरुले बिक्री भएको भनी नक्कली तथा झुटा बीजक जारी गरी सो बमोजिमको रकम भुक्तानी लिइ असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ ।

उनीहरुले राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड(क), )ख), र (छ) बमोजिमको कसूर गरी राजश्व चुहावट गरेकोले राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ) बमोजिम राजश्व चुहावट गरेको विभागले उल्लेख गरेको छ ।

राजस्व छलीमा गुप्ता र महतोसहित पर्साका रामचन्द्र माझी, भुलावन महरा चमार, दीपककुमार कायस्थ, वकिल देवान, अभिमन महतो, बाराका अकलीहजरा दुसाद, मुअन महरा, काठमाडौँका सरोज श्रेष्ठ, सञ्जय श्रेष्ठ, सर्लाहीका अञ्जु गुप्ता र वाणेश्वर महतो तथा उदयपुरका सरोज ढकाल, राधेश्यामप्रसाद साह, रत्नगोपाल श्रेष्ठ संलग्न रहेको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस