शैक्षिक सुधारका लागि डोटीका ५४ विद्यालय छनोट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शैक्षिक सुधारका लागि डोटीका ५४ विद्यालय छनोट


३ बैशाख २०७८, शुक्रबार


डोटी । यहाँका नौ स्थानीय तहका ५४ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । विद्यार्थीको अनुपातलाई मध्यनजर गर्दै आवश्यकताका आधारमा विद्यालय छनोट गरिएको शिक्षा विकास तथा समन्वय एकाइ डोटीले जनाएको छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्लाको शिखर नगरपालिकाका १२, दिपायल सिलगढी नगरालिकाका–२, बडिकेदारका ८, आदर्श १०, केआइसिंह ७, जोरायल ३, पुर्वीचौकी ३, बोगटान फुड्सिल ३ तथा सायलमा ३ वटा विद्यालय छनोटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यहाँका विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेपछि अभिभावक निकै खुशी छन् ।

कार्यक्रमअन्तर्गत छनोट भएका विद्यालयको भौतिक पूर्वाधार विकास, पहाडी क्षेत्रमा आवासीय सुविधासहित अतिविपन्न, अभिभावकविहीन, विपद् प्रभावित, दुर्गम स्थान र अपाङ्गता भएका विद्यालय सञ्चालनको विषय समेटिएको बताइएको छ ।

यस्तै शैक्षिक संस्थामा यातायातका साधनको व्यवस्थापन गर्न अनुदान, सुविधाजनक कक्षाकोठा निर्माण, स्वच्छ खानेपानी, पर्याप्त पानीसहित शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षण–सिकाइ तथा विभिन्न प्राविधिक विषय पनि कार्यक्रममा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस