निजामती प्रशासनको प्रमुख समस्या ‘झिँगे टसाई’ सोचबाट मुक्त हुन नसक्नु : उपप्रधानमन्त्री पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजामती प्रशासनको प्रमुख समस्या ‘झिँगे टसाई’ सोचबाट मुक्त हुन नसक्नु : उपप्रधानमन्त्री पोखरेल


२५ चैत्र २०७७, बुधबार


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासनको प्रमुख समस्या सोचमा परिवर्तन हुन नसक्नु बताएका छन् । बुधवार सिंहदरबारमा आयोजित सरकारका सचिवहरूबिच निजामती सेवाका विविध पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले निजामती प्रशासनमा झिँगे टसाई सोच प्रमुख समस्याको रूपमा रहेको बताएका हुन् ।

उनले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको भन्दै निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको बताए ।

उनले भने, ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म ९माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु० झिँगे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिएता पनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्नु पर्दछ ।’

उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि बताए । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

कर्मचारीतन्त्रले आफूलाई संवेदनशील, गतिशील मानवहरूको विवेकशील समूहको रूपमा स्थापित गर्न सक्नुपर्ने पोखरेलले बताए । शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिक मैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउन सकिने बताए ।

कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्रशासनको मुख्य चुनौती भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस