काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ। शनिवार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।
भेटमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको विषयमा कुराकानी भएको पूर्व प्रधानमन्त्री खनालले बताएका छन्। भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको बताएको पनि पूर्व प्रधानमन्त्री खनालले भनाई छ ।
उनले भने, ‘हामीले एक छिन विगतका कुराहरू पनि गर्यौँ। अहिलेको वर्तमान स्थितिको बारेमा पनि कुराकानी गर्यौँ। उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरू व्यक्त गर्नुभयो।’
भेटमा आफ्नो स्वास्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेको खनालले बताए। तर, आफूले आफ्नो स्वास्थ्य भन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनको बारेमा चिन्ता लागेको कुरा राखेको उनले बताए।
राष्ट्रपतिसँग भएको कुराकानीबारे सुनाउँदै उनले भने, ‘अहिले पार्टीमा कतिपय समस्याहरू उत्पन्न भइरहेको बेलामा यहाँ आउनुभएको छ। सबै पार्टीहरू बलिया भए, सुदृढ भए एकताबद्ध भए भने मात्रै लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्र बलियो हुनु भनेको, हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु भनेको पार्टीहरू बलियो हुने कुरा हो। पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन, त्यस कारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु।’
‘राष्ट्रपतिज्यूले पनि तपाईँले भनेजस्तो लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरू नै बलियो हुनुपर्छ। सबै पार्टीहरू बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना हो भन्नुभयो। तपाईँहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाव दिनुभयो।’ उनले अगाडि भने ।