सहकारी के हो र के चाहिँ होइन ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सहकारी के हो र के चाहिँ होइन ?


२० चैत्र २०७७, शुक्रबार


आज मुलुकभर चौसट्ठिऔँ राष्ट्रिय सहकारी दिवस मनाइदैछ । दिवस मनाउनुको अर्थ विगतको कार्य प्रणालीको समीक्षा र भावी मार्गचित्रका लागि रणनीतिको आधार खोज्नु हो । नेपालको सबैभन्दा ठुलो सामाजिक सञ्जाल, जसमा त्रिहत्तर लाखभन्दा बढी सदस्य समेटिएका छन्, २९८८६ प्रारम्भिक संस्थाहरू र ३३४ विषयगत/तहगत सङ्घहरूमार्फत सहकारीले सहर-बजार, गाउँघर, सुगम–दुर्गम सबै स्थानमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । यस अर्थमा राष्ट्रिय दिवसको महत्त्व नहुने कुरा भएन । सहकारी दिवसको यस वर्षको आदर्श वाक्य ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ रहेको छ, जसभित्र केही गम्भीर अर्थ छिपेका छन् । मर्यादित व्यवसायले व्यवसायभित्र मूल्य आदर्शको अभ्यासलाई जनाउँछ भने प्रविधिले व्यवसाय प्रवर्द्धनमा आधुनिकताको उपयोग जनाउँछ । तर आदर्श वाक्य अनुरूप व्यवसाय सञ्चालन भए भएनन् भन्ने निष्कर्ष चाहिँ व्यवसायको समीक्षा पछि मात्र गर्न सकिन्छ ।

शाब्दिक अर्थमा सहकार्य वा आपसी सहयोगको कार्य सहकारी हो । कानुन तथा सम्बद्ध संस्थाहरूले लामो–छोटो परिभाषाबाट सहकारीलाई बुझाउँदै आएका छन् । सामाजिक सर्तमा स्वावलम्बनको व्यवसाय सहकारीको मर्म हो ।

सहकारी सदस्य केन्द्रित व्यवसाय गर्दछन्, सदस्यहरू एक अर्कामा सहयोगी हुन्छन् । वैयक्तिक चाख, स्वामित्व र स्वार्थको निजीपना स्वावलम्बन, पारस्परिकता र सहयोगले विस्थापित भएपछि सहकारी व्यवसाय सुरु हुन्छ । आजभोलि कतिपय सहकारीहरू सहकारी भावनाभन्दा पर रहेर सञ्चालनमा गएको र सदस्यहरूको व्यवसायमा सदस्यहरू नै ठगिँदै आएकाले समग्र सहकारी अभियानमाथि नै ठुलो चुनौती खडा भएको छ । मर्यादित सहकारी व्यवसाय सञ्चालनमार्फत सहकारी अभियानलाई शुद्धीकरण गरी यसलाई समाजको आदर्श संस्था बनाइराख्न सहकारी के हो र के चाहिँ सहकारी होइन भन्ने शिक्षा नितान्त जरुरी देखिएको छ ।

सहकारी के हो ?
स्वावलम्बन(सेल्फहेल्प) र आपसी मद्दत(म्युचुआलिटी) सहकारी दर्शनका अन्तस्तल हुन् । सहकारी व्यवसायमा आफ्नो हित आफूहरूको आवश्यकता साथ आफूहरूकै प्रयासबाट गरिन्छ । अझ भनौँ सहकारी समुदायको दुःख हटाउन निजी स्वार्थ सामूहिक हितमा समर्पण गरिन्छ र खुसी खोजिन्छ । भनिने गरिन्छ, नहुनेहरूलाई हुने बनाउने आर्थिक–सामाजिक अभियान सहकारी हो । यसका व्यवसायहरू पवित्र हुन्छन्, यसका सदस्य नैतिक हुन्छन्, र यो समाजको अब्बल संस्था मानिन्छ । त्यसैले यो सदस्यहरूको हितका लागि आफै परिचालित, स्वयम् नियमन र स्व उत्तरदायी हुने अभियान हो । सहकार्यको सत्कर्म हो । साझा बन्धन, सामूहिक एकता भाव, सदस्य मूल्य(मेम्वर्स भ्यालु) र सकारात्मकता यसका आत्मा हुन् । स्वावलम्बन, स्वयम्जवाफदेहिता, लोकतान्त्रीकरण, समानता, न्याय र ऐक्यबद्धताको जगमा सहकारी व्यवसाय उभिएको हुन्छ ।

इमानदारिता, खुलापन, सामाजिक जिम्मेवारी र अरूको सहयोग सहकारीका आचरण हुन् । यी आधार, मूल्य र आचरणमा रहने समर्पणले सहकारी व्यवसायलाई निजी, कम्पनी, गैरसरकारी संस्था, अन्य सामुदायिक निकाय र सरकारी सङ्गठनभन्दा भिन्न बनाएको हुन्छ । सहकारीका सदस्यहरू आफै लगानीकर्ता र उत्पादक हुन्, आफै सेवावस्तुको प्रयोग गर्दछन्, साथै अलि परसम्म गएर मूल्य शृङ्खला विकास मार्फत सामुदायिक फाइदाको अधिकीकरण गर्दछन् । सदस्यहरूले आफ्नो संस्थासँगै व्यवहार गर्नुपर्दछ, त्यो नै वास्तविक सहभागिता हो । आफ्नो संस्थामा विश्वास (आफैमा विश्वास) गरेर नै संस्थाका उत्पादन उपयोग गर्दछन् र कारोबारबाट प्राप्त प्रतिफल कारोबारको आयतनमा विभाजन गर्दछन् । धेरै कारोबार गर्नेहरू नै धेरै मात्रामा संरक्षित पुजी कोषका दाबेदार हुन्छन् । त्यसैले आफूसङ व्यवसाय गरेर आफू र आफ्नो संस्थालाई मजबुत बनाउने चरित्र सहकारीमा रहन्छ । संस्थाका कारोबार पारदर्शी हुन्छन् । त्यसैले सहकारीमा व्यवसाय सञ्चालन गर्ने आत्मिक शक्ति हुन्छ ।

के चाहिँ सहकारी होइन ?
समाजमा नाम एक र काम अरू हुने व्यवसाय पनि हुन सक्छन् । नामको ख्याति(गुडविल) का कारण नाम चाहिँ सहकारीको लिने तर सिद्धान्त, मूल्य र आचरणबाट विषयान्तर हुने कुनै पनि संस्था सहकारी होइनन्, हुन सक्दैनन् ।

सदस्यरहित नहेर्ने कारोबार सहकारी होइनन् । सदस्यहरूको जानकारी र सम्मतिविना सञ्चालक–व्यवस्थापकको स्वार्थ गाँठमा कारोबार गर्ने, अनौपचारिक कारोबार गर्ने संस्था सहकारी होइनन् । कुनै पनि सर्तमा सहदस्यहितभन्दा पर व्यवसाय, कारोबार, निर्णय गर्ने संस्था सहकारी होइन । एउटा व्यवसाय गर्छु भनेर अनुबन्ध प्रबन्ध गर्ने तर व्यवसाय अर्कै गर्ने संस्थाहरू पनि सहकारी होइनन् । सहकारीका सञ्चालकहरू व्यवस्थापक बन्दैनन्, न वेतन र सुविधाकै दाबी गर्छन् । भौगोलिकता अ‍ैगाल्ने र कार्यक्षेत्रभन्दा पर रहेर कारोबार गर्ने काम पनि सहकारीले गर्दैनन् । उच्च नाफाको आस गर्ने प्रवृत्तिले पनि संस्थालाई सहकारी भावनाबाट अलग्याउँछ । आफैले आफैबाट नाफा खाने भावना पनि सहकारीमा हुँदैन, केवल व्यवसाय सञ्चालनको लागत व्यहोर्न र जोखिम व्यवस्थापनका लागि नाफा राख्ने गरिन्छ । व्यवसाय विस्तार पनि सञ्चिता नाफाबाट गर्न सकिन्छ । त्यस्तै सहकारी संस्थाभित्र तह सोपान, नेतृत्वको लोभ र प्रतिस्पर्धा पनि हुनुहुन्न । न यसका सदस्यले संस्थाभित्र कुनै राजनीति र विचार आग्रह नै बोक्न हुन्छ ।

यस अर्थमा सहकारी व्यवसाय आदर्श बनाइ राख्न यसका मूल्य, आचरण, सिद्धान्तको अवलम्बन गर्नु पर्दछ । प्रश्न उठ्न सक्ला–उसो भए समाजमा त्यस्ता सहकारी पाइन्छन् रु पाइए कति सङ्ख्यामा होलान् रु हो सहकारिताको आदर्शमा संस्थालाई बचाइ राख्न असजिलो छ । असजिलो यस अर्थमा छ कि स्वार्थ, मूल्य अतिक्रमण, सिद्धान्तबाट विषयान्तर हुने बानी र छिटो सम्पन्न हुने सोच सदस्यमा बढ्न जाँदा सहकारी असजिलो व्यवसाय हो । तर सजिलो यस अर्थमा छ कि आवश्यकता र सामर्थ्य मिल्ने सदस्यहरू सामुदायिक एकता भावमा साथित्वसाथ विश्वासको व्यवसाय गर्न सक्छन्, जुन निकै सजिलो छ । समाजमा अपराधभन्दा असल काम गर्न निकै सजिलो छ ।

सहकारी व्यवसायको अनौठोपना
सहकारीको अवधारणा विकास गर्दा यसमा अनौठा चरित्रहरूलाई आधार मानिएको थियो, ती मौलिक चरित्रकै आधारमा सहकारी सहकारितामा रहन्छन् । जस्तो कि निजी क्षेत्रका व्यवसायले लगानीको नाफा योग्यता वा प्रतिफल विस्तार गर्न खोज्छन्, यसको विपरीत सहकारी कमभन्दा कम लागतमा सदस्य सेवा दिने भावनाबाट प्रेरित हुन्छ । निजी कम्पनीमा लगानीको मात्राका आधारमा संस्थामाथि नियन्त्रण मताधिकार राख्छन्, तर सहकारीमा लगानी जति भए पनि प्रत्येक सदस्यलाई नियन्त्रण गर्ने र मत दिने समान हैसियत हुन्छ । जसका आधारमा सामूहिकता र लोकतान्त्रिक पद्धति कायम गर्न सकिन्छ ।

निजी कम्पनीमा लगानीको नाफा लाभांशका रूपमा वितरण गरिन्छ, तर सहकारीमा उत्पादन वा सेवा उपभोगको आधारमा नाफा दिइन्छ । प्रतिफलको अंश समाजलाई छुट्यान्छ । त्यसैले सहकारीलाई अगि बढाउने आभ्यान्तरिक शक्ति, उद्देश्य र कार्यपहूच अन्य व्यवसायमा भन्दा नितान्त भिन्न र अनौठो हुन्छ । यी अनौठा चरित्रहरू जोगाउन नसक्दा वा नाफा सङ्केततर्फ दौडिदा सहकारी सहकारी नभै सहकारीको नाममा अर्कै थोक भइदिन्छन् । जसले यी मौलिक चरित्रलाई आत्मसात् गरी संस्था सञ्चालन गरेका हुन्छन्, ती वास्तविक सहकारी भई समृद्धि, समावेशिता र स्वावलम्बन संस्कारका हिमायती बन्ने गर्दछन् ।

सहकारीमा सदस्य किन आकर्षित हुन्छन् ?
सदस्यहरू किन सहकारी खोल्छन् रु निजी कम्पनी वा विशुद्ध बजार व्यवसायमा किन लाग्दैनन् भन्ने प्रश्न उठ्न सक्छ । वास्तवमा व्यक्तिलाई निजी व्यवसाय, बजार व्यवसाय वा सहकारी व्यवसायमा आबद्ध हुने समान अवसरहरू छन् । कोही निजी व्यवसायमा लाग्छन्, कोही सामूहिक व्यवसायमा । बजारवादी सोचबाट व्यवसाय सञ्चालन गर्दा प्राप्त हुने प्रतिफल भन्दा सामूहिक व्यवसायमा लाग्दा के लाभ बढी हुन्छ रु बा कुन त्यस्तो शक्तिले व्यक्तिलाई सहकारी व्यवसाय गर्न अभिप्रेरित गर्दछ रु यो प्रश्न अहम् छ । आपसिकता, सहयोग र आबद्धताको भावना नै सहकारी व्यवसायको आत्मा हो ।

पहिलो कुरा सहकारीका सदस्यहरू आफ्ना लागि सेवा व्यवस्थापनमा सहभागी हुन पाउँछन्, सदस्यहरूको विशिष्ट क्षमता र सहयोग गर्ने भावनाको उन्नयन हुन्छ । यसले जोखिम बहन क्षमता बढाउँछ । दोस्रो, न्यून लागतमा सेवा प्राप्त गर्ने अवसर रहन्छ, किनकि सहकारीको प्रमुख उद्देश्य सदस्यरहित हो, नाफा होइन । तेस्रो, व्यवसायको नियन्त्रण र स्वामित्व धारण स्वयम् सदस्यले गर्दछन्, यस अर्थमा सेवा उत्पादक र सेवाग्राही एकै हुन्छ । चौथो, मुनाफाको हिस्साको समुदायकरण हुन्छ र सेवाको दिगो व्यवस्थापन सम्भव हुन्छ । साथै रोजगारी तथा कच्चा पदार्थमा स्थानीयलाई प्राथमिकता रहन्छ । पाँचौँ, सहकारीले स्वावलम्बन संस्कृति संस्थागत गर्दछ । जसले अर्थतन्त्रमाथि आउने बाह्य झट्का समन गर्ने तागत दिन्छ । छैटौँ, व्यवसायसाथ सेवा गर्न सकिन्छ । यी करणले सदस्यहरू सहकारीबाट लाभान्वित हुन्छन् ।

दुःखबाट सुरु भई नहुनेलाई हुने बनाउने सहकारीलाई मर्यादित र मूल्यकेन्द्रीत बनाउने माग बढिरहेको छ । विस्तारको चरण पूरा गएपछि यसले गुणस्तर र परिपक्वतामा आर्जन गर्नु पर्दछ । जब परिपक्वता हासिल गर्छ, एग्रिको, एभ्को वा डेजार्डिएन जस्तै सफल ब्रान्ड बनेर सदस्य सेवाको व्यापकता दिन पछि पर्दैन । तर नेपालमा कतिपय सहकारीहरू सहकारी भावना र आधार मूल्यबाट विषयान्तर भई सहकारी अभियानमाथि नै प्रश्न चिह्न खडा गर्ने सम्भावना तिर गइरहेको भान हुन्छ । सहकारीभित्र सुशासनको अभाव खट्किँदै छ, सदस्य र सहकारीबिचको सम्बन्ध हार्दिक छैन, व्यवस्थापन र सञ्चालकमा उही अनुहार देखिन थालेको छ, संस्थाहरू स्वनियमनमा छैनन् नियमन गर्ने नियामकहरू कमजोर क्षमतामा छन् । जोखिम मात्र बढेको छैन, संस्थाहरू सङ्कटग्रस्त पनि बन्न थालेका छन् । सहकारी व्यवसायलाई मूल्यकेन्द्रीत, सिद्धान्तनिष्ठ र स्वयम् अनुशासित बनाउन सहकारी अभियान र तीनै तहका नियामक निकायहरू परिचालित हुनु सख्त जरुरी देखिएको छ । त्यति मात्र होइन, नियामक निकायमा नै सहकारी शिक्षा र क्षमता विकास आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस