एजेन्सी । अमेरिकी टेक्नोलोजी जाएन्ट माइक्रोसफ्टले आगामी ३ वर्षभित्रमा थप ५० हजार जनशक्तिलाई जागिर दिने भएको छ ।
कोरोना महामारीका कारण रोजगारी गुमेका जनशक्तिहरुलाई सहयोग गर्न माइक्रोसफ्टले प्रोफेसनल नेटवर्किङ साइट लिंक्डइनको सहयोगमा ५० हजारलाई नयाँ रोजगारी दिने भएको हो ।
प्रविधिसँग सम्बन्धित क्षेत्रमा जागिर दिनेछ र त्यस्ता जनशक्तिको छनोटचाहिँ सोसल मिडिया प्लाटर्फम लिंक्डइनमार्फत् हुने जनाएको छ ।
माइक्रोसफ्टका प्रडक्टहरु प्रयोग गर्दा बिक्री गर्ने विभिन्न कम्पनीहरुमा जागिर लगाइने छ। कम्पनीहरुले प्राविधिक सीपलाई प्राथमिकता दिई कामदारहरुलाई नयाँ क्षेत्रमा जानका लागि पनि सहयोग गर्नेछन् । सुरुआतमा यो कार्यक्रम अमेरिकामा मात्र केन्द्रित रहने र अर्को वर्षदेखि विश्वका अन्य देशमा पनि विस्तार गरिने जानकारी दिएको छ ।
कोरोना महामारीको लकडाउनका कारण व्यवसायहरु नराम्रोसँग प्रभावित बनेसँगै माइक्रोसफ्टले गत वर्षबाटै उक्त कार्यक्रम सुरु गरेको थियो । महामारीका कारण स्वेतपोषी तथा प्रविधि क्षेत्रका कामदारहरु जसले घरबाटै पनि काम गर्न सक्दथे उनीहरुको तुलनामा कार्यक्षेत्रमै जानुपर्ने सर्भिस वर्करहरु बढी प्रभावित बने । उक्त समयमा लिंक्डइनले पैसा तिरेर पढ्नुपर्ने डिजिटल सीप विकास सम्बन्धी विभिन्न कोर्सहरु निःशुल्क बनायो । त्यस्ता कोर्सहरुमा सफ्टवेयर डेभलपमेन्ट, तथ्यांक विश्लेषण, वित्तीय विश्लेषणलगायतका रहेका छन् ।
यस्तो निःशुल्क सीप विकास कार्यक्रम सन् २०२१ को अन्त्यसम्मै जारी रहने लिंक्डइनले जनाएको छ । माइक्रोसफ्ट र लिंक्डइनले यस्तो कार्यक्रममा सहभागी भएर अढाई करोड मानिस लाभान्वित हुने अपेक्षा गरेका भए पनि अपेक्षा भन्दा बढी हालसम्म ३ करोड ७ लाख मानिस सहभागी भइसकेका छन् ।
तीमध्ये अधिकांश अमेरिकाबाटै सहभागी छन् । विश्वका अन्य धेरै देशहरुबाट पनि उल्लेख्य मानिसहरु लिंक्डइनको सीप विकास कार्यक्रममा सहभागी बनेका छन् । अन्टार्कटिका क्षेत्रबाट समेत ९१ जना सहभागी भएका माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जनाए ।
मानिसहरुलाई सीप सिक्नका लागि सहयोग गर्ने गैरनाफामूखी संस्थाहरु समेतका कारण डिजिटल तालिम कोर्स निकै फलदायी बनेको र तिनै संस्थाहरुको सहयोगमा ५० हजार जनाले नयाँ रोजगारी पाउने माइक्रोसफ्टले जानकारी दिएको छ ।
माइक्रोसफ्टले आफू मातहको प्रोफेसनल नेटवर्किङ प्लाटफर्म लिंक्डइन र सफ्टवेयर कोडिङ टूल सर्भिस गिटहबसँगको सहकार्यमा लाखौँलाई निःशुल्क सीप विकास तालिम र हजारौँलाई रोजगारी दिन लागेको यो पहिलो पटक हो । यी दुई प्लाटर्फम माइक्रोसफ्ट मातहतका कम्पनी हुन् तर दुवै स्वायत्तरुपमा सञ्चालन भइरहेका छन् ।