मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल


२४ माघ २०७७, शनिबार


काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् । पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन् । ‘निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्’, उनले भने, ‘तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।’

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवसमेत रहेका उनले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताए ।

मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पारे । ‘केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन्’, उनले भने, ‘निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ रु भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु ।’ उनले मुलुकमा कुनै समस्या प¥यो र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन्, त्यसले नै सरकार सञ्चालन गर्ने हो भन्दै पार्टीबाट अलग भएका साथीहरु निर्वाचनमा जान डराएको धारणा व्यक्त गरे । ‘उहाँहरु चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ’, उनले भने,’ निर्वाचनसँग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गरेका छन् । त्यो हामी पूरा गर्न दिँदैनौँ ।’

उनले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पारे । ‘कम्युनिष्ट पार्टीप्रति जनताको भर र विश्वास गुमाएर पार्टीलाई चकनाचुर र विभाजन गर्न खोजियो’, उनले भने, ‘कम्युनिष्ट आन्दोलन गर्न सक्दछन् । सरकार सञ्चालन गर्न सक्दैनन् भन्ने केही साथीहरुले देखाए ।’ अर्थमन्त्री पौडेलले कोभिड–१९ का कारणले डुबेको अर्थतन्त्र उकास्ने प्रयास भइरहेको समेत बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको बताउँदै अहिले प्रतिनिधिसभा मात्र विघटन भएको, तर राष्ट्रियसभा, प्रदेशसभा, संवैधानिक अङ्ग र स्थानीय तह क्रियाशील नै रहेकाले संविधानमा कुनै फरक नपरेको स्पष्ट पारे ।

उनले प्रतिनिधिसभा विघटन वैशाखसम्म मात्र भएकाले वैशाखपछि सामान्य परिस्थिति हुने बताए । मुख्यमन्त्री पोखरेलले आफूले पार्टी जोगाउन अन्तिम प्रयास गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारणले पार्टी विभाजनतिर गएको आरोप लगाए । उनले सरकारले राम्रो काम गरेको हुनाले आगामी निर्वाचनमा जनताले फेरि पनि विश्वास गरेर जनमत दिने बताए । उनले केपी शर्मा ओली महाधिवेशनबाट नै अध्यक्षमा निर्वाचित भएकाले केन्द्रीय कमिटीले हटाउन नसक्ने दाबी गरे ।

कार्यक्रममा महासङ्घले २७५ सदस्यीय सातौँ महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा बाबुराम थापा र सहसंयोजकमा दयाराम बस्याल रहेका छन् । नवगठित आयोजक कमिटीका सदस्यलाई पार्टी महासचिव पौडेलले शपथ खुवाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस