गैँडाकोटका भूमिहीनलाई आगामी असारभित्र जग्गा प्रदान गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गैँडाकोटका भूमिहीनलाई आगामी असारभित्र जग्गा प्रदान गरिने


१९ माघ २०७७, सोमबार


नवलपुर । गैँडाकोट नगरपालिका भित्रका भूमिहीनलाई आगामी असारभित्र जग्गा प्रदान गरिने भएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नेगरी काम शुरुआत भएको भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले जानकारी दिइन्।

भूमि समस्या समाधान आयोगको एकाइ कार्यालयको गैँडाकोटमा उद्घाटन गर्दै उनले गैँडाकोटका भूमिहीनलाई आगामी असार मसान्तभित्र नै जग्गाको लालपुर्जा वितरण गर्ने बताइन् ।

आयोगले गत मङ्सिर २७ गते गैँडाकोट नगरपालिकासँग पोखरामा सम्झौता गरेको जानकारी दिँदै उनले वास्तविक सुकुम्बासीको समस्या समाधान हुनेगरी काम थाल्नसमेत कर्मचारीलाई निर्देशन दिइन्। ‘भावनामा बग्ने, स्वार्थबाट प्रेरित भई सिफारिस गर्ने गरेमा अख्तियारसमेत आकर्षित हुन्छ’, उनले भनिन्,’गम्भीर सतर्कताका साथ काम गर्नुहोला ताकि नगरपालिकाभित्रका भूमिहीनको समस्या समाधान होस् ।’

सरकारले पहिलो चरणमा १०० वटा स्थानीय तहको काम गर्न भने पनि ४०० स्थानीय तहसँग समस्या समाधान गर्न सम्झौता भएको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । आयोगले ७५३ वटै स्थानीय तहको समस्या तीन वर्षभित्र सक्ने जनाएको छ ।

नगरप्रमुख छत्रराज पौडेलले एकाइ कार्यालय स्थापनासँगै नगरपालिकाले पारदर्शीरुपमा लगत सङ्कलन गर्ने र वास्तविक सुकुम्बासीले अब दोस्रो दर्जाको आरोपमा बाँच्नु नपर्ने प्रष्ट पारिन् । भूमिहीनको समस्या समाधान गर्ने प्रक्रिया जटिल भए पनि आयोग गठन भएपछि कानूनी व्यवस्थाले काम गर्न सहज हुने उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस