काठमाडौँ महानगरको नगरसभा शुरु, अधिवेशनमा तीनओटा विधेयक पेस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरको नगरसभा शुरु, अधिवेशनमा तीनओटा विधेयक पेस


२७ पुस २०७७, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर सभाको आठौँ अधिवेशन आज (सोमबार) बाट शुरु भएको छ । अधिवेशनमा तीनओटा विधेयक पेस भएका छन् ।

बैठकमा ‘काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक २०७७’ पेश भएका हुन् ।

विभागीय प्रमुखहरु हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले विधेयकहरु प्रस्तुत गरेका छन् । यी विधेयकहरु आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेश हुने महानगरपालिकाले बताएको छ । पुस २४ गते बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले आठौं अधिवेसनमा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शुरु भएको बैठकमा चालू आर्थिक बर्षको ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव गरिएको छ । यसरी प्रस्ताव गरिएका कार्यक्रमहरुमा निःशुल्क वितरणका लागि औषधि खरिद, सार्वजनिक सम्पत्तिको मर्मत तथा संरक्षण, स्वास्थ्य उपकरण खरिद, मठमन्दिर, गुठीघर, देवता घरजस्ता साँस्कृतिक संरचनाको पुननिर्माण, मर्मत सम्भार तथा सौन्दर्य बढाउने, सडक स्तरोन्नति गर्ने, ढल तथा मंगाल निर्माण गर्ने काम रहेका छन् ।

त्यस्तै सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य, यातायात तथा सुरक्षा व्यवस्थापन नगर साझेदारी कार्यक्रम लगायत छन् । त्यस्तै सार्वजनिक भवनको कम्पाउण्ड सुधार (नो कम्पाउण्ड्), दमकल खरिद, नयाँ सडक क्षेत्रमा फुटपाथ निर्माण तथा स्तरोन्नति लगायत कार्यक्रम छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस