कृषि विश्वविद्यालयमा रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष र डिन नियुक्त « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कृषि विश्वविद्यालयमा रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष र डिन नियुक्त


२२ पुस २०७७, बुधबार


चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ ।

रजिष्ट्रारमा प्रा.डा. शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्रा.डा.कल्याणी मिश्र त्रिपाठी र वन सङ्कायको डिनमा प्रा.डा. बलराम भट्ट नियुक्त भएका छन्।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा थपलियालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । उनसँगै प्रा.डा. भूमिनन्दन देवकोटा र प्रा.डा. केशव अधिकारीको नाम पनि उपकुलपतिले सिफारिस गरेका थिए । छनोट समितिबाट आएका नाममध्येबाट उपकुलपतिले कुलपतिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ ।

थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति भई काम गरिसकेकी छन् । गएको माघ १२ गते प्रा.डा. मनराज कोलाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्ट्रार पद रिक्त थियो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयका दैनिक कामकाज प्रभावित बन्दै आएका थिए । रजिष्ट्रारकै अभावमा विश्वविद्यालय सभासमेत हुनसकेको छैन ।

यसैगरी विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले त्रिपाठीलाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । तीन सदस्यीय आयोगमा कुलपतिबाट नियुक्त अध्यक्षसहित दुई जना र एकजना लोकसेवा आयोगका पदाधिकारी सदस्य रहने व्यवस्था छ । गएको साउन ५ गतेदेखि विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद खाली रहेको थियो ।

उपकुलपति रेग्मीले भट्टराई वन सङ्कायको डिनमा नियुक्त गरेका हुन् । छनोट समितिले प्रा वासुदेव पोखरेल र प्रा. बलराम शर्मासहित भट्टको नाम सिफारिस गरेको थियो । भट्ट यसअघि पनि सोही सङ्कायको डिन थिए । सो सङ्काय हेटौँडामा छ ।

यता विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी रहेको छ । यस अघि उपकुलपति रेग्मीले डिन, अनुसन्धान निर्देशकलगायतको नियुक्तीमा विधिसम्मत नगरी मनोमानी गरेको भन्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले तालाबन्दी गरेका छन् । उनीहरुले उपकुलपतिको राजीनामाको माग समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस