सर्वोच्च बारबाट एमिकस क्युरीमा अधिकारी र शाक्य छानिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्च बारबाट एमिकस क्युरीमा अधिकारी र शाक्य छानिए


प्रशासन संवाददाता

१७ पुस २०७७, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनले संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले मागेको एमिकस क्युरीका लागि नाम पठाएको छ ।

शुक्रबार सर्वोच्च वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको सर्वोच्च अदालत बार एशोसिएसनका सचिव शुभनराज आचार्यले जानकारी दिए ।

अधिकारी सर्वोच्च बारका वर्तमान अध्यक्ष हुन् भने शाक्य नयाँ कार्यकालका लागि हालै निर्वाचित भएका हुन् । संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले नेपाल बार एशोसिएसनसँग ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनसँग २ जना एमिकस क्युरी माग गरेको थियो ।

अदालतले कुनै महत्वपूर्ण विषयमा सुझाव लिनका लागि एमिकस क्युरी माग गर्ने प्रचलन छ । एमिकस क्युरीलाई अदालतको साथी पनि भन्ने गरिन्छ । एमिकस क्युरीले संविधान, कानुन र आफ्नो विवेकको आधारमा अदालतले खोजेको विषयमा राय दिनेछ ।

नेपाल बार एसोसिएसनले एमिकस क्युरीको रुपमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई चयन गरेको छ ।

संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ र त्यसपछि निरन्तर सुनुवाइ हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस