वैशाखमा चुनाव पनि नहुने, ओली प्रधानमन्त्री पनि नरहने वर्षमान पुनको दाबी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वैशाखमा चुनाव पनि नहुने, ओली प्रधानमन्त्री पनि नरहने वर्षमान पुनको दाबी


१५ पुस २०७७, बुधबार


रोल्पा । नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी ओली पनि प्रधानमन्त्री नरहने दाबी गरेका छन् ।

गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताउँदै आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान र आफ्नै राजनीतिक जीवन धरापमा पारेको बताए ।

इतिहासको दिशालाई उल्ट्याउन खोज्दा ओलीको राजनीतिक जीवन नै धरापमा परेको भन्दै वैशाखमा चुनाव पनि नहुने र ओली प्रधानमन्त्री पनि नरहने उनको भनाइ छ ।

ओलीले सैनिक सत्ता–संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको आरोप छ । उनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । उनले भने, ‘सैनिक सत्ता वा संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ, वर्षौंसम्म राजाको सैनिक सत्ता, संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन् ।’

आफैंले मिचेको संविधानलाई ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने नभए जनताले बालुवाटारको झ्यालबाट फाल्न सक्ने भन्दै उनले चेतावनी दिए ।

प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिएको भन्दै उनले राष्ट्रपतिको पनि आलोचना गरे । साथै मध्यावधि निर्वाचन घोषणा गरेपछि सरकारलाई कामचलाउ नगर्नु संविधान उल्लंघन भएको नेता पुनको भानाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस