ढोरपाटन र आसपासका पर्यटकीय गन्तव्यको विकासमा जोड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ढोरपाटन र आसपासका पर्यटकीय गन्तव्यको विकासमा जोड


१३ पुस २०७७, सोमबार


गण्डकी । गण्डकी-गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुरुत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ढोरपाटनसँगै आसपासका पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत ढोरपाटन क्षेत्रको यात्रामा रहेको टोलीले आइतबार सरोकारवालाबीच गरेको अन्तक्र्रियामा वक्ताले ढोरपाटनको विकाससँगै आसपासका पर्यटकीय गन्तव्य समेट्नुपर्ने आवश्यकता औँल्याए ।

तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ढोरपाटन जाने मार्गमा पर्ने तमानखोलाका धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने बताए । बराह ताललगायत धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न सकेमा ढोरपाटन आउने पर्यटकलाई ती गन्तव्यमा पुर्‍याउन सकिने उनले उल्लेख गरे ।

भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश सरकारले पनि कृषि, पर्यटन, जलस्रोत आदिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै प्रदेशभित्रका पर्यटकीय गाउँलाई प्रवद्र्धन र विकास गर्न लागिएको बताए । गाउँमा रहेका प्रकृति र संस्कृतिलाई पर्यटनमा जोड्न सकिएमा ग्रामिण पर्यटनमा धेरै सम्भावना बढाउने उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टाईले कोरोनाले थलिएको पर्यटनलाई गति दिनुपर्ने बताउँदै अब व्यवसाय बन्द नगरी खुलाउनुपर्ने आवश्यकता औँल्याए । ढोरपाटनसँगै आसपासमा जोडिएका पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने उनको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन मगरले ढोरपाटनको पूर्वाधार विकाससँगै यहाँका सर्वसाधारणको जीवनस्तर बढाउनेलगायतका कामलाई प्राथमिकतामा राखिएको बताए । ढोरपाटनमा सञ्चालित पाखाथर सामूदायिक घरबासका सञ्चालक पुनम बुढामगरले ढोरपाटनमा पर्यटकको आकर्षण बढिरहे पनि यहाँसम्म आइपुग्ने बाटोघाटोलगायतका समस्या रहेको बताए ।

आउने पर्यटकका लागि स्थानीय रातो च्याउ, आलुलगायतका स्थानीय उत्पादन खुवाउने गरेको बताउँदै उनले बन्दाबन्दीको अवधिमा भने सुरक्षा सजगता अपनाउँदै घरबास सञ्चालन नगरिएको बताए । भ्रमण टोलीले आज बाग्लुङका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकनसँगै पर्वतको भुकदेउराली सामूदायिक घरबासको प्रवद्र्धनात्मक भ्रमण गर्ने भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस