हाब्रे व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ लाखको ठेक्का « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हाब्रे व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ लाखको ठेक्का


१३ पुस २०७७, सोमबार


रेडपान्डा

इलाम । यहाँस्थित सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो ।

माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन गराउन गाउँपालिकाले रेडपाण्डा नेटवर्कको सहकार्यमा यो काम गर्न लागेको हो । पालिकाले यस क्षेत्रमा हाब्रे व्यवस्थित गर्न उपयुक्त वातावरण बनाउन र आक्रमणबाट जोगाउन ठेक्का दिएको हो । गाउँपालिकाका प्रवक्ता गिरिराज खनालका अनुसार हाब्रे व्यवस्थापनका लागि हेरालुसमेत राखिने भएको छ ।

खनालका अनुसार हाब्रे बस्ने वातावरण मिलाउन गाउँपालिकाले ठूला रुखसमेत काट्ने छ । ‘हामी रेडपाण्डालाई प्रभावित पार्ने रुखबिरुवा काट्दै छौँ’, प्रवक्ता खनालले भने, ‘स्थानीय प्रजातिका रुख बिरुवा रोप्ने छौँ ।’ हेरालुका लागि व्यवस्थित गर्नैका लागि संरचना समेत गाउँपालिकाले बनाएको हो । गाउँपालिकाको केन्द्र देउरालीबाट ‘अल वेदर’ सडक लगिने गाउँपालिकाले जनाएको छ । यसै आर्थिक वर्षको अन्त्यसम्ममा यो काम सम्पन्न गरिने छ ।

उच्च पहाडी क्षेत्र भएकाले रेडपाण्डासँगै अन्य वस्तुको अवलोकनसमेत यस ठाउँमा हुनसक्ने अनुमान गाउँपालिकाको छ । यस क्षेत्रमा लेकाली वनस्पति र अन्य जीवजन्तुसमेत पाइने बताइएको छ । पर्यटकीय क्षेत्र छिन्टापु जाने बाटो भएकाले भावी दिनमा यस ठाउँमा जाने पर्यटकसमेत हाब्रे अनुगमनमा आउने अनुमान छ ।

हाब्रे व्यवस्थित गर्न वृक्षरोपण

यस्तै, सन्दकपुर गाउँपालिकाकै हाब्रे व्यवस्थापनका लागि जौवारीमा ७०० रोपनी जग्गामा वृक्षरोपण गर्न थालिएको छ । रेडपाण्डा आवतजावत गर्ने जैविक मार्ग संरक्षण गर्नका लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षरोपण थालिएको हो ।

रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यलयको रोहबरमा जग्गा संरक्षण गरेको उच्च पहाडी संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाक बताउछन् । ‘नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने भएकाले भारततर्फ सिंहलीला नेशनल पार्क रहेको छ’, उनी भन्छन्, ‘त्यो क्षेत्र संरक्षित छ, नेपालतिर जङ्गल विनाश भएर गएको छ ।’

नेपालतिरको जङ्गल विनाश भएकाले वन्यजन्तु आवतजावतको लागि समस्या भएको बताइएको छ । त्यसको समाधानको लागि नेपाल र भारतबीचको जैविक मार्ग जोड्न पनि वृक्षरोपणको काम थालिएको उनको भनाइ छ । रेडपाण्डाको चरिचरन तीव्र भएको र वनजङ्गल विनाश भएसँगै निजी आवादीमा रेडपाण्डाको वासस्थान मासिएका कारण संरक्षण थालिएको हो ।

संस्थाले गत वर्ष १७५ रोपनी जग्गा र यस वर्ष १९८ रोपनी जग्गा खरिद गरेर वृक्षरोपणको काम शुरु गरेको हो । उक्त ठाउँमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा खरिद गरी तारबार गर्ने काम थालिएको खाम्दाकको भनाइ छ । करिब तीन हजार मिटर क्षेत्रमा तारबारको तयारी गरिएको छ भने त्यस क्षेत्रकोे आसपासमा रहेका सरकारी जग्गासमेत समेटेर करिब ७०० रोपनी क्षेत्रफलमा वृक्षरोपणको काम थालिएकोे छ ।

रेडपाण्डाको आहाराको रूपमा रहेको वनस्पति मालिङ्गो टेङ्गा, कुलिङ्गा चिमाल, वाण्टे, भालुचिन्डे गुराँसजस्ता वनस्पति लगाइएको छ । संस्थाले रेडपाण्डाको गतिविधि र क्रियाकलाप दैनिक अनुसन्धान गर्न एक वर्षका लागि १० वटा रेडपाण्डामा सेटेलाइट कलरिङ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस