चिनियाँ विशेष टोली उच्च राजनीतिक भेटघाटमा, आज नेपाल-दाहालसँग छुट्टाछुट्टै भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिनियाँ विशेष टोली उच्च राजनीतिक भेटघाटमा, आज नेपाल-दाहालसँग छुट्टाछुट्टै भेटवार्ता


१३ पुस २०७७, सोमबार


काठमाडौँ । आकस्मिक रूपमा आइतबार काठमाडौँ आएको चीनको विशेष प्रतिनिधिमण्डलले साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादले विभाजित भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली एयर चाइनाको चार्टर विमानबाट काठमाडौँ उत्रिएको थियो ।

विमानस्थलमा उत्रँदासमेत स्वास्थ्य सुरक्षाको सतर्कतासहित चिनियाँ नेताहरू पीपीई ड्रेस लगाएरै आएका थिए ।

चिनियाँ दूतावासमा राजदूत हाउ यान्छीबाट वस्तुस्थितिको ‘ब्रिफिङ’ लिएर शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेको टोलीले राष्ट्रपतिसँगको छलफल लगत्तै प्रतिनिधिमण्डल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थियो ।

दुवै भेटमा नेपालका लागि चिनियाँ राजदूत यान्छी पनि सँगै थिइन् । भ्रमणमा आएका विशिष्ट अधिकारीलाई उनीहरूकै चाहनाबमोजिम ओहदाअनुसारको एस्कर्टिङ र अङ्गरक्षक उपलब्ध गराइएको थिएन ।

राजदूत यान्छीले गत साता नै राष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाललगायतलाई भेटेर समसामयिक राजनीतिक वस्तुस्थितिबारे सरोकार राखेकी थिइन् ।

उच्च स्रोतका अनुसार प्रतिनिधिमण्डलले आज(सोमबार) नेता नेपाल तथा दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछ । चार दिने भ्रमणमा आएको टोलीले विभाजित नेकपाका दुवै घटकसँग भेटवार्ता गरेर एकता र सहकार्यका पहल गर्दै चिनियाँ सरोकार राख्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस