चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ


३ पुस २०७७, शुक्रबार


कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

‘फरार अभियुक्तलाई पक्राउ गर्नु प्रहरीको नियमित काम हो’, उनले भने, ‘यो अभियान चालु आवको साउनदेखि देशैभरी सञ्चालन भइरहेको छ । कर्णालीमा फरार अभियुक्तको सङ्ख्या धेरै छ ।’ यो प्रदेशमा खासगरी सामाजिक क्षेत्रसँग सम्बन्धित अपराध बढिरहेको उनले बताए।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले यो चौमासिकमा अपराध नियन्त्रणका क्षेत्रमा राम्रै प्रगति भएको बताए । ‘हामीले अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिकसम्म ३७६ फरार प्रतिवादीलाई पक्राउ ग¥र्यौ’, उनले भने, ‘प्रहरीको अनुसन्धानका क्रममा भने ११८ फरार प्रतिवादीलाई पक्राउ गरिएको थियो ।’

पक्राउपर्ने फरार प्रतिवादीमा सबैभन्दा बढी सुर्खेतका छन् । प्रहरी नायब उपरीक्षक बमका अनुसार पक्राउपर्ने फरार प्रतिवादीमा सुर्खेतका १५७, सल्यानका १३३, दैलेखका ६८, जुम्लाका ३१, मुगुका २८, कालीकोटका २१, जाजरकोटका २०, हुम्लाका १८, रुकुमपश्चिमका १३ र डोल्पाका पाँच जना छन् । उनले भने, ‘फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ परेका ३७६ प्रतिवादीलाई जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुलाई २२७ वर्ष दुई महिना २९ दिन कैद हुनुका साथै रु ८४ लाख तीन हजार ९६७ जरिवाना असुल गरिएको छ ।’

पुराना मुद्दाका ११८ फरार प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गरेर कारवाहीका लागि सरकारी वकिलमार्फत जिल्ला अदालतमा उपस्थित गराइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस