कोरोना प्रकोपमै विवाह ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना प्रकोपमै विवाह !


२७ मंसिर २०७७, शनिबार


२०७७ मङ्सिर १६ गते छोरीको विवाहको निर्णय भयो । यो निर्णयसँगै कोरोना सङ्क्रमण र जोखिमले के कस्तो अवस्था सृजना हुने हो त्यसमा बढी चिन्तित पनि थियौँ तर उमेर लगन र साइतलाई पनि जुराउनु पर्ने हाम्रो संस्कारलाई ख्याल गर्नु पर्ने । कोरोना के हो ? यसको भयावह अवस्थाका बारेमा सिङ्गो राज्य नै अनभिज्ञ जस्तै देखिएको थियो । २०७६ चैत्र ११ गतेदेखि लकडाउन गर्दा नेपालमा एउटा दुइटा मात्र कोरोना सङ्क्रमित भएको तथ्य बाहिर आएको थियो तर सात दिनमै कोरोना नियन्त्रण भईहाल्छ भन्ने अवस्थामा पुगेको सरकार ४ महिनासम्म स्वास्थ्य क्षेत्र बाहेक सबै शिथिल र निष्क्रिय जस्तै बने । आज प्रत्येक दिन कोरोना सङ्क्रमित हजारको हाराहारीमा बढिरहँदा सुरु लकडाउन गर्दा जुन भयत्रास थियो अहिले भने त्यो अवस्था रहेको पाइँदैन ।

हुनत हाम्रो परिवारमा कोरोनाका कारण अति सामान्य र अति भयभीत पनि नभएको होइन । सुरुमा भाञ्ज प्रबिन, भिनाजु शङ्कर, भाञ्जी दुर्गा उनको श्रीमान् र छोरा, भाइ लेखनाथ उनको श्रीमती र छोराछोरीलाई पनि कोरोना लगेको हो तर त्यसबाट धेरै भयभीत हुनु परेन । कोरोना लाग्यो निश्चित अवधि पछि उनीहरू स्वस्थ नै हुन पुगे । यही अवधिमा सानो बुवा, सानिमा र बहिनी लोकमायालाई लागेको कोरोना भने अति जटिल देखियो । सानो बुवा र बहिनीलाई निमोनिया लगायतका कारण कमजोर बन्न पुगे । १०६ डिग्री ज्वरोको मापन गर्दाको अवस्था सहजै अनुमान गर्न सकिन्छ । कमजोरीका कारण बोल्न सक्ने अवस्था पनि देखिएन । छ दिनसम्म स्टार हस्पिटलमा रहँदा उनीहरू बोल्न नसक्ने भए भने सानिमालाई भने सोही समयमा बि एण्ड बि हस्पिटलमा १० दिन र वीर अस्पतालमा ६ दिन राख्दा अवस्था अत्यन्त नाजुक देखिएको थियो । प्रतिदिन ६० लिटर अक्सिजन दिँदा सानिमा गुमाउनु पर्ने जस्तो अवस्था देखिएको थियो । दिशापिसावसमेत आफै गर्न नसक्ने अवस्थामा रहनुभयो । यसबाट सबै परिवारजनहरू भयभीत र निराशामा पुगिसकेका थियौँ । अन्त्यमा सानिमालाई दिएको दोस्रो प्लाज्मा थेरापीले भने परिवारका सबै सदस्यमा आशाको दियो बल्दै गयो । अन्ततः अहिले तङग्रिदै जाँदा कोरोना जित्दै गएको अनुभव लिइरहेका छौँ कोरोनाको अति र सामान्य अवस्था कस्तो हुन्छ भन्ने यर्थाथ चित्रण परिवारबाटै थाहा हुन गयो । खर्चको हिसाब हेरयो भने सानिमाकै लागी १२ लाखकै हाराहारीमा खर्च भयो भने सानिमा र बहिनीको पनि १० लाख भन्दा माथि देखियो । यस हिसाबले कमजोर आर्थिक हैसियत भएकाहरू रोगको उपचार गर्न नसकी मृत्यु वरण गर्नु पर्ने अवस्थालाई नकार्न सकिएन । यी सबै घटना पार लगाउँदै छोरीको विवाहको लगन अलि पर धकेल्न परेन जसका लागि हामी सबै परिवारका सदस्य भाग्यमानी भएको सम्झियौँ ।

मैले २०७२ साल वैशाख १७ गते ठुलो छोरीको विवाह गर्दा पनि प्राकृतिकरूपमा भएको वितण्डाले हाम्रा सबै व्यवस्थापन माथि धावा बोलेको थियो । धन्न हाम्रा परिवारका कुनै पनि सदस्यलाई उक्त भूकम्पले क्रुरुरता दिएको थिएन । काठमाण्डौबाट ठाउँसारी गर्दै तोकिएकै मितिमा विवाह सम्पन्न गर्न पुगेका थियौँ । अहिले छोरीको विवाहमा पनि कोरोना कै कारण भय त्रास जीवितै रहन गयो ।

छोरीको इङगेजमेण्टको लागि इन्द्रेणी बैंकेट एण्ड फुडल्याण्ड छनौट गरियो । उक्त स्थानमा जाँदा सबैहलहरु बन्द जस्तै थिए । उक्त स्थान किन पनि रोजियो भने ठुलो छोरीको विवाहको स्थान पनि सोही स्थानलाई तोकिएको थियो तर भूकम्पले ठाउँ सारी गर्नु परेका कारण यसपालि सानो भए पनि कार्यक्रम गर्ने मनसायका साथ सो स्थानलाई छनौट गरेका थियौँ तर उक्त भवनको माथिल्लो तलामा भएको बारलाई नै हाम्रो जलपानको स्थान बन्यो भने इन्द्रेणीको फेवाहललाई आतिथ्य स्वागत गर्ने स्थान बनायौँ । कोरानाका कारण पारिवारिक जमघटमा पनि मुखमा मास्क र हातमा लगाउने स्यानिटाइजरले उपस्थित सबैमा कोरोना प्रतिको भयभीतता स्पष्टै झल्कन्थ्यो ।

बजारमा किनमेल अनि सवारी साधनको प्रयोग र छनौटमा पनि अलि बढी खर्चिलो हुन पुग्यो । स्यानिटाइजर र मास्क अभिन्न अङ्ग भए पनि बजार यातायातका साधन अन्य कार्यक्रम भिडभाड नै देखियो । हुन त राज्य नियन्त्रित संयन्त्र र सभा समारोह पनि कम भएका छैनन् । सरकारका प्रमुख व्यक्तिहरूकै उपस्थितिमा भएका शिलान्यास, उद्घाटन र राजनैतिक कार्यक्रमलाई हेर्दा सरकार आफ्ना सबै निर्णयहरू लत्त्याउँदै हिँडेको तर निरीह नागरिक माथि डण्डा चलाउँदै आफ्नो दादागिरी चलाउँदै गरेको पनि देखिइरहेको छ । राजनैतिक रूपमा देखिने विरोध जुलुस, सभा समारोहको अवस्थालाई हेर्दा भने कोरोना खासै रूपमा केही होइन जस्तो देखाइएको छ ।

कोरोना केही होइन भन्ने पनि हामीलाई लागेको थिएन र यो अति भयभीत बनाउने हो भन्ने पनि लागेको थिएन त्यसैले त्यसको सावधानीका साथ सबैभर व्यवहारहरू गर्नु पर्ने र दैनिक जीवन गुजार्नु पर्ने कुरालाई पनि सचेत थियौँ । काठमाडौँ देखि गृहजिल्ला आउँदा बढो सावधानीका साथ पुगियो महँगो भाडाका साथ गृहजिल्ला प्रवेश गर्नु नियति हुन गयो । आफन्त , पारिवारिक सम्बन्ध र नातागोताका वीच गरिने यस्ता शुभ कार्यहरूको जमघटलाई नियन्त्रित गर्ने निर्णय गरिसकेको छ । हाम्रो पारिवारिक जमघटमा कति आफन्तहरूलाई बोलाउने, बरियात कति आउने , सामाजिक दुरी कसरी कायम गर्ने र यी सबैको लागी व्यवस्थापन कसरी गर्ने भन्ने छलफल गम्भीर बन्यो । सबैलाई मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउने व्यवस्था पनि गरियो ।

विवाह व्रतबन्ध लगायत सांस्कारिक कार्यहरूको लागी आफन्तजन , छिमेकी, नातागोता र इष्टमित्रहरूको जमघट हुनुका साथै आफन्तहरूको चिनाजानी गर्ने थलोको रूपमा पनि लिने गरिन्छ । आफ्ना साथीभाइ नाताकुटुम्ब र इष्टमित्रको उपस्थिति बिना गरिएको कार्य अलि खल्लो साबित पनि हुन्छ । यस प्रकारको कार्यले हामीलाई पनि असर नगरेको होइन । क्यानडामा भएका छोरी ज्वाँइहरु बहिनीको विवाहमा उपस्थित हुन नपाएको पीडा पनि कोरोना कै कारण हो । क्यानडाबाट नियमित उडान नहुनु र आउँदा जाँदाको अवस्थामा जम्मा २८ दिन क्वारेनटाइममा बस्नु पर्ने अवस्थाले पनि छोरी र ज्वाइँ विवाहमा उपस्थित हुन सकेनन् । सानिमा,सानोबुवा र बहिनी लोकमाया कोरोनाकै कारण विवाहमा उपस्थित हुन सकेनन् जसले परिवारमा अलि खल्लो बनायो । साथीभाइ र केही आफन्तहरूले कोरोनाको झल्को दिँदै नआउने निधो गरे । यसमा कतिपयको बास्तबिक्ता थियो भने कतिपयको बहानावाजी पनि थियो ।

विवाहमा भिडभाड गर्दा कोरोना सर्छ । विवाहकै कारण कोरोना सङ्क्रमण फैलिएमा सबै जिम्मेवारी विवाह गर्ने गराउनेले व्यहोर्नु पर्ने आदि छलफल पनि नभएका होइनन् । त्यसैका बाबजुद विवाह जमघट गराउनु पर्ने सङ्ख्या जतिसक्यो कम गराउनु पर्ने जस्ता सल्लाह र सुझावलाई पालना गर्नु पर्ने बाध्यता पनि जनाइएको थियो । जसका कारण वर्षौँदेखि सँगै बसेका कार्यालयका साथीहरू , पेसागत रूपमा सँगै भएका साथीहरू, नजिकै भएका कतिपय इष्टमित्रहरू पनि समावेश गर्न सकिएन यसले पनि विवाहको खुसीलाई एकैसाथ साटन सकिएन । कोरोनाले एउटा पाठ अवश्य सिकाएको छ । रोग समस्या हुन सक्छ । समस्याबाट भागेर सधैँ हिंडनु पनि बेकार देखिन्छ । समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि मुख्य चुनौती हो भन्ने पाठ कोरोनाले सिकाएकै हो । समस्यासँग जुधेरै यसको समाधान गर्न सकिँदो रहेछ । महामारीको वीच भएको विवाह अविस्मरणीय हुने मात्र होइन यसले धेरै पाठ पनि सिकाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस