सहकारी, वित्तीय संघ–संस्था, बैङ्क र गरिबी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सहकारी, वित्तीय संघ–संस्था, बैङ्क र गरिबी


२२ मंसिर २०७७, सोमबार


वित्तीय संघ–संस्था भन्नासाथ आजकल गाउँ–गाउँमा कसैको मन मुटुमा बसेको प्यारो नाम हुन पुगेको छ त, कसैको यो नाम सुन्नसाथ साँतो पुत्लो उड्ने अवस्था छ । वित्तीय संघ–संस्था अन्तर्गत नेपालमा बैङ्क तथा वित्तीय संस्थाहरूको स्थापना, मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण र सम्बर्द्धन गर्न, बैङ्क तथा वित्तीय संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग तथा वित्तीय सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन, वित्तीय संस्थाको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमन, निरीक्षण वित्तीय स्थायित्व कायम गर्नको लागि बैङ्क तथा तथा सुपरिवेक्षण गर्नाको निम्ती नेपालको संविधान २०७२ को धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदद्धारा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ जारी गरी समयानुकूल संशोधन गर्दै आएको छ ।

सहकारी संघ–संस्था अन्तर्गत सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरूप देशका कालिगढ, कृषक, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनकोरूपमा सहकारी संघ–संस्थाहरूको प्रवर्द्धन नियमन गर्न, सहकारी खेती, उद्योग, वस्तु तथा सेवा व्यवसायका माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्न नेपालको संविधान २०७२ को धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसद्ले सहकारी ऐन, २०७४ यो जारी गरी सञ्चालनमा ल्याएको छ ।

विशेष गरी वित्तीय संस्थाअन्तर्गत लघु वित्त र सहकारीहरूले न्यून आय भएका मध्यम वर्गीय तथा गरिबीको रेखामुनी रहेका ग्रामीण भेगका मानिसहरुलाई ऋण प्रवाह गर्दै विविध गतिविधिहरू सञ्चालन गर्दै आएको छ । कतिपयको यस मार्फत जीवनशैली नै परिवर्तन भएको छ भने कति घरबार विहीन नै हुन पुगी विस्थापित हुन पुगेका उदाहरण हामी सबैले देखेका छौँ । सायद गाउँ–गाउँमा गरिबीको रेखामुनी रहेका मानिसहरूको जीवन स्तर सुधार गर्न स्थापना भएका सहकारी तथा विविध वित्तिस संघ–सस्थाहरु कै कारण समाजमा इज्जत साथ आफ्नो दैनिकी चलाइरहेका मानिसहरूको उठीबास नभएको पनि होइन । विडम्ना यो सब हुनुमा को कहाँ चुक्यो होला ? यो गहन र गहिरो विषय रहेको छ । हुन त म कुनै सहकारी, बैङ्क तथा वित्तीय संस्थाको, अनुभवी तथा ज्ञानसीप हासिल गरेको मानिस होइन तर यसो हुनुमा गाउँघरमा मैले देखेको यथार्थ, आफ्नो भोगाइ–देखाई र आफूले अनुभव गरेका केही उदाहरणहरूले मेरो मन दिन प्रतिदिन खिन्न हुन्छ ।

वास्तवमा भन्नुपर्दा कुनै पनि मानिस, सहकारी, बैङ्क तथा वित्तीय संघ–संस्थाहरूले कसैलाई सित्तैमा लगानी गर्ने कुरा आउँदैन यी सबै ठाँउहरुमा कुनै न कुनै व्यक्तिको संगठितरुपमा लगानी रहेको हुन्छ यी पनि दुई पैसा कमाउने दाउमा आफूले संघरसंस्थाहरू मार्फत लगानी गरेका हुन्छन् । उनीहरूको लगानी व्यापार घाटमा जावस भन्ने मेरो ध्येय चैँ होइन तर यहाँ समस्या चैँ के हो भने मध्यम वर्गीय नेपाली जनताहरूमा रहेको अशिक्षा, गरिबी, बेरोजगारी, सहकारी तथा वित्तीय संघ–संस्थाहरू सम्बन्धी ज्ञानसीपको कमी उत्तरदायित्वको कमी लगायतका पक्षहरुलाई लिन सकिन्छ भने सहकारी, वित्तीय संघ–संस्था तर्फ अनुगमन, नियमन, कर्मचारीहरूमा सहकारी तथा वित्तीय संघ–संस्थाहरू सम्बन्धी ज्ञानसीपको कमी, जसरी भए पनि लगानी गर्ने र छोटो समयमा धेरै प्रतिफलको अपेक्षा, अदृश्य विविध सेवा शुल्कहरू लिने, ऋण प्रवाह गर्दा अनावश्यक झण्झट, मानवीय संग्वेदता नबुझिदिने, बचतका नाउँमा मासिक तिर्नु पर्ने सावाँ ब्याज भुक्तानी गर्न नै समस्यामा परेका मानिसहरुलाई विविध शीर्षक राखी रकम सङ्कलन गरिदिने, विशेष गरी बचत रकम फिर्तामा समस्या लगायतका विविध पक्षहरू हुन सक्दछन् ।

यो समस्या विविध वित्तीय संघ/संस्थाहरूका लागि अहिले टाउको दुखाइको विषय भइसकेको छ समाजमा कति मानिसहरूले मासिक किस्ता भुक्तान गर्न नसकी घरबार, परिवार, समाज, सम्पत्ति लगायतका सम्पूर्ण कुराहरू त्याग गरी कसैले नदेख्ने र नभेट्ने स्थान विशेष गरी सधैँका लागि छिमेकी राष्ट्र भारत (मुगलान) तिर पलायन हुने गरेको पाइन्छ र निजको दायित्व ऋण जमानी तथा आफन्तहरूको लागि समस्या भईरहेको छ । अब कुरा आउँछ, बैङ्क तथा वित्तीय संस्थाहरूको स्थापना निक्षेपकर्ताको हकहितको संरक्षण र संवर्द्धन गर्न, मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, बैङ्क तथा वित्तीय संस्थाहरुबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग तथा वित्तीय सेवा उपलब्ध गराई तथा देशका कृषक, कालिगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनको रूपमा कार्य गर्न स्थापना भएका यी सहकारी, वित्तीय संघ–संस्थाहरू जुन उद्देश्य पुरा गर्न स्थापना भएका हुन ती उद्देश्य पुरा भए कि भएनन् भन्ने ।

के साँच्ची यी माथि उल्लेखित सबै कुराहरू आम मानिसहरूका लागि पुरा भएका होलान् त ? पक्कै पनि भएका छैनन् किन कि हामीले गाउँघर समाजमा किस्ता तिर्न नसक्दा प्रतिनिधिहरू आएर घरमै पसि घरमा रहेका टेलिभिजन, ल्यापटप, बाख्रापाठा, जे सामाग्री छ त्यही उठाएर लगी समाजबाट अपहेलित हुनुपरेका थुप्रै उदाहरणहरू गाउँ-गाउँमा आफ्नै अगाडि देख्न सक्छौँ ।

यसको दीर्घकालीन समाधानका लागि दुवै पक्षहरुलाई यहाँ केही सुझावहरू/सल्लाहरू । यसमा विशेष ध्यान दिएमा केही सुधार आउँथ्यो कि ।

सहकारी, वित्तीय संघ–संस्थाहरूका लागि :

१) आफ्नो संघ/संस्था जुन उद्देश्य पुरा गर्नका निम्ति स्थापना भएको हो सोही अनुरूप कार्य गर्ने,

२) कर्मचारीहरुलाई व्यक्तिगत आचरण तथा अनुशासित भई समाजमाका सामाजिक मूल्य, मान्यता तथा सिद्धान्त मानवीय संवेदनाप्रति शत प्रतिशत जिम्मेवारी बोध हुने तालिम तथा सेमिनार र गोष्ठीको आयोजना गरी उनीहरूको ज्ञानसीप लगायतका विविध पक्षहरूको अभिवृद्धि गराउने र यसको कार्यान्यवन भयो कि भएन भनी अनुगमन गर्ने एक समिति गठन गरी परिचालन गर्ने,

३) सहकारी, वित्तीय संघ–संस्था, सम्बन्धी नेपाल सरकारले जारी गरेका ऐन कानुन, नियमावली, निर्देशिका, परिपत्र लगायतका विविध विषयहरूको बारेका पटक–पटक ध्यान दिने,

४) कुनै पनि व्यक्तिलाई समूहमार्फत वा विविध प्रक्रियाबाट ऋण प्रवाह गर्दा सो सम्बन्धी ऐन कानुन, नियमावली, निर्देशिका, परिपत्र लगायतका विविध विषयहरूको बारेका सामान्य जानकारी दिई जुन प्रयोजनका निमित्त निजले ऋण लिन खोजेको सो को विषयमा स्थलगत रूपमा गई वास्तविकता पत्ता लगाई ऋण प्रवाह गर्ने,

५) सहकारी, वित्तीय संघ–संस्थाहरूबाट प्रवाह गरेको ऋण सम्बन्धित व्यक्तिले कुन प्रयोजनका लागि माग गरेको हो सोही प्रयोजनका लागि खर्च गर्‍यो कि गरेन भनी एउटा विशेष समिति गठन गरी कम्तीमा महिनामा एक पटक अनिवार्यरूपमा अनुगमन तथा मूल्याङ्कन गरी हौसला तथा मनोबल बलियो बनाइदिने र सम्मान समेत गर्ने त्यसको प्रचार प्रसार गरिदिने र वार्षिक रूपमा एक जना निष्पक्ष रूपमा उत्कृष्ट उद्यमी छनौट गरी पुरस्कृत गर्ने,

६) ऋण प्रवाह गर्दा निज ऋणीले माग गरेको रु ३०००० भन्दा बढीको रकम प्रवाह गर्दा एकमुस्ट नगरी आवश्यक कार्यविधि बनाई किस्ता बन्दीपुरमा प्रवाह गर्ने जुन शीर्षकमा ऋण लगानी भएको हो सो शीर्षक अनुसार खर्च गरे–नगरेको यकिन गरी यदि सो नगरेमा निजको बाँकी ऋण स्थगित गरिदिने अनुगमन गरेर मात्र थप ऋण प्रवाह गर्ने,

७) समूह बचत तथा विविध शीर्षक राखी बचत राखी कम आय भएका ब्यक्तीहरुलाई अनावश्यक दायित्व वा भार रकम तिर्ने दायरा सकभर कम गरिदिने, तथा बचत रकम निजले आफ्नो दायित्व ऋण चुक्ता गरे पश्चात् फिर्ता माग गरेमा तत्काल उपलब्ध गराइदिने,

८) ऋण प्रवाह गरे पश्चात् निजले गरेका उत्पादन तथा विविध उत्पादित ज्ञानशिपहरु व्यवस्थापन सकभर आफै कम शुल्कमा गर्ने र थप प्रेरित गरिदिने आदि।

ऋणी तथा सदस्यहरूका लागिः
१) आफूले जुन प्रयोजनका निम्ती ऋण माग गरेको त्यसतर्फ मन बचन कर्मले लगानी गरी आत्मनिर्भर बन्न पूर्णरूपमा तत्पर भई कार्य गर्ने,

२) बैङक तथा वित्तीय संघ–संस्था र सहकारीहरूबाट लिएको ऋण लिँदा आफ्नो आय तथा क्षमताले सक्ने जति मात्र लिने अनावश्यक ऋणको झण्झट तथा भारी आफ्नो टाउकोमा नराख्ने,

३. कार्य गर्दा आफ्नो इज्जत, मान सम्मान, समाजको ख्याल गरी ऋण प्रति पूर्ण रुपमा जिम्मेवार भई समय समयमा आफुलाई परेका समस्याहरूका बारेमा आफै बैङ्क तथा वित्तीय संघ–संस्था र सहकारीहरूमा गई प्रमुख सँगै भेटेर कुरा गर्ने र आफूले भनाई खाने काम नगर्ने,

४) बैङ्क तथा वित्तीय संघ–संस्था र सहकारीहरूबाट लिएको ऋणको केही प्रतिशत घरायसी काम, मिटर ब्याज तथा अन्य लेनदेन भएको ठाँउहरुमा प्रयोग गर्ने प्रचलन रहेकाले त्यस्तो कार्य कुनै पनि प्रकारले नगर्ने, यो ऋण केही समयको लागि मात्र लिएको हो मैले तिर्नै पर्छ छिटो ढिलो भनी मन बचन कर्मले कार्य गर्ने,

५) बैङक तथा वित्तीय संघ–संस्था र सहकारीहरूबाट लिएको ऋणको बारेमा नेपाल सरकारले जारी गरेका ऐन कानुन, नियमावली, निर्देशिका, परिपत्र लगायतका विविध विषयहरूको बारेका पटक–पटक ध्यान दिने,

६) बैङ्क तथा वित्तीय संघ–संस्था र सहकारीहरूबाट विभिन्न समयमा अनुगमन, मूल्याङ्कन तथा विविध कार्यको लागि आएका प्रतिनिधि तथा कर्मचारीहरुलाई आफूले ऋणबाट लगानी गरी गरेको प्रगति तथा कार्यहरू सही तरिकाले अनुवाद गरिदिने र नम्र स्वभावले उनीहरूसँग व्यवहार गरी उचित परामर्श सल्लाह तथा सुझाव लिने,

७) नेपाल सरकारले विविध समयमा जारी गरेको कृषक, कालिगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ताहरुलाई गर्ने सहयोग तथा मरामर्शको लागि सम्बन्धित ठाउँमा समन्वय गरी अनिवार्यरूपमा सहभागी भई लाभ लिने,

८) आफूले गरेका उत्पादन तथा विविध उत्पादित ज्ञानसीपहरु व्यवस्थापनमा बैङ्क तथा वित्तीय संघ–संस्था र सहकारीहरूबाट पूर्ण सहयोग माग गर्ने र बजारीकरण तथा त्यसको नास–मास नहुने गरी व्यवस्थापन गरी आम्दानी गर्ने आदी ।

यी माथि उल्लेखित कुराहरूमा ध्यान दिन सके मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण र सम्बर्द्धन गर्न, बैङ्क तथा वित्तीय संस्थाहरुबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग तथा वित्तीय सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन र सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कालिगढ, कृषक, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनको रूपमा सहकारी संघ–संस्थाहरूको प्रवर्द्धन नियमन गर्न, सहकारी खेती, उद्योग, वस्तु तथा सेवा व्यवसायका माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्न स्थापना भएका यी संघरसंस्थाहरूको सिर ठाडो भई समाजमा केही प्रगति तथा गरिबी न्यूनीकरणमा सहज हुन्थ्यो कि ।

Tags :
प्रतिक्रिया दिनुहोस