पाँच बुँदे सहमतिपछि वीरका कर्मचारीको आन्दोलन फिर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाँच बुँदे सहमतिपछि वीरका कर्मचारीको आन्दोलन फिर्ता


२० मंसिर २०७७, शनिबार


काठमाडौँ। पाँच बुँदे सहमतिपछि वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । कोभिड भत्ता नपाएको लगाएतका विषयहरु उठाउँदै ४६ दिनदेखि आन्दोलनमा रहेका वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार भएको वार्तामा सहमति जुटेको हो ।
वार्तामा कोभिड भत्ता वितरणमा देखिएका त्रुटी सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधिसमेतको समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार वितरणको व्यवस्था गर्ने सहमति भएको छ ।

यस्तै कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी निर्णय गर्ने, कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६/७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने र सेवा विस्तार भत्ता सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति भएको छ ।

अस्पतालका पूर्ववत् सेवाहरुसहित थप सेवाहरु अझ प्रभावकारी रुपले सन्चालन गर्ने, प्रतिष्ठान सेवा तर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि स्वास्थ्य मन्त्रालय समक्ष पत्राचार गर्ने लगायतका सहमति भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस