कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि


१० मंसिर २०७७, बुधबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाउने भएको छ ।

तत्काललाई सम्बन्धित मन्त्रालयको सचिवले स्वीकृतका लागि सिफारिस गर्ने भए पनि दीर्घकालीनका लागि मापदण्ड र कार्यविधि बनाइने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । सरकारले राष्ट्रसेवक कर्मचारीलाई लोक सेवा आयोगबाट वा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा गएर वा अनलाइनबाट प्रशिक्षण दिन अनुमति बेगर पठाउन रोक लगाएको छ ।

सहसचिव वा सोभन्दा माथिका कर्मचारीलाई मन्त्रिपरिषद् र अन्य कर्मचारीले सामान्य मन्त्रालयको स्वीकृत लिनुपर्ने व्यवस्था गरिएको छ । उनले निजामती सेवा व्यवस्थित र मर्यादित बनाउन स्वीकृत बेगर पठाउन नपाउने व्यवस्था गरिएको बताए ।

‘कर्मचारीले मुलुकको चौतर्फी विकास, समृद्धि र नागरिकको हितमा काम गर्नुपर्नेमा टियुसन पढाउनतिर बढी ध्यान गयो’, उनले भने,‘जसले गर्दा जुन उद्देश्यका साथ निजामती प्रशासन हुनुपर्ने हो । त्यो भएन । त्यसैले तयारी कक्षामा अङ्कुश लगाएर निरुत्साहित गर्न खोजिएको हो ।’

मन्त्रालयले स्वीकृत बिना कुनै कर्मचारी प्रशिक्षण कार्यमा संलग्न भए/नभएको सम्बन्धमा सरकारी निकायबाट कडाइका साथ अनुगमन गर्ने र प्रशिक्षण गरेको पाइएमा कारवाही गर्ने भनिएको छ ।

यसअघि पनि सम्बन्धित मन्त्रालयको अनुमति लिएर मात्र त्यस्ता तयारी कक्षा पढाउन व्यवस्था गरे पनि धेरै कर्मचारीले अनुमति नै नलिएको पाइएको उनले जानकारी दिए । ‘यसअघि पनि हामीले अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको थियौँ’, उनले भने, ‘तर धेरैले अनुमति नलिएको पाइएको छ । सम्बन्धित मन्त्रालयसँग तथ्याङ्क नै छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस