बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गर्दै सरकार, १५ दिन भित्र पठाइसक्न प्रशासकीय अधिकृतलाई पत्राचार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गर्दै सरकार, १५ दिन भित्र पठाइसक्न प्रशासकीय अधिकृतलाई पत्राचार


१ मंसिर २०७७, सोमबार


समायोजन

काठमाडौँ । सरकारले विदेशबाट फर्किएर मुलुक भित्र बेरोजगार भई बस्नु परेका युवाको तथ्याङ्क सङ्कलन गर्दैछ । २४ कात्तिकको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश पुगे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण स्वदेश फर्किएर बेरोजगार बस्न बाध्य भएका युवाको तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गर्दै तथ्याङ्क सङ्कलन थाल्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार यो काम रोजगारीको सम्भाव्यता अध्ययनका लागि हुन लागेको हो ।

कोभिड १९ को कारणबाट भारतसहित अन्य मुलुकबाट रोजगारी गुमाएका वा अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गरिनेछ । उनीहरूमध्ये १८ देखि ५९ वर्ष समूहलाई मात्र सूचीमा राखिने छ ।

मन्त्रालयले १५ दिन भित्र यस्तो तथ्याङ्क पठाउन सबै स्थानीय तहलाई आग्रह समेत गरेको छ । तथ्याङ्क सङ्कलन गर्दा अब जिल्ला, गाउँपालिका, वडा, नाम थर र व्यक्तिगत अन्य विवरण सङ्कलन गरिने छ । विदेशमा रहँदा संलग्न भएको सीप र तालीम, कुन मुलुकबाट फर्केको, विदेशबाट फर्कनुको कारण र सम्पर्क नम्बरसहितको प्रतिवेदन सङ्कलन गर्न लागिएको हो ।

यससँगै नेपालमै रहेर बेरोजगार बस्नु परेका युवाको समेत विवरण सङ्कलन गरिने भएको छ । मन्त्रालयले १८ देखि ५९ वर्षका बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गरिने भएको छ । उक्त विवरणमा व्यक्तिसँग भएको दक्षता, सीप र तालिमको अवस्था समेत सङ्कलन गरिने छ । बेरोजगार हुनुको कारण र अपाङ्गता भए–नभएको विवरण समेत यसमा भरिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले यसरी सङ्कलन भएर आएको विवरणमा आधारित भई मुलुक भित्रै स्वरोजगारी र रोजगारी सिर्जनाको कार्य योजना निर्माणको जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस