भाइटिका « प्रशासन
prasaLogo
१ मंसिर २०७७, सोमबार

भाइटिका


प्रकाशित मिति : 16 November, 2020 9:30 am

मेरो मनमा आँधी चल्न खोज्दै छ । आँखाबाट आँसुले बग्ने अनुमति मागिरहेछ मानौँ मेरो आँखा आकाश हो र यसले मेरो सोचाइलाई सितको थोपामा परिवर्तन गरेर धर्तीमा खसाल्ने कार्यको जिम्मा लिएको छ र मेरै दृष्टिकोणले यसको लक्ष्यमा अझ प्रोत्साहन गरिरहेछ । आफैले आफैलाई सम्हाल्न गाह्रो भइरहेछ, आफ्नै सोचले दिएको बुझाइले मनको उचाइ क्रमशः भत्किरहेछ, निरस पलसँगको जम्काभेटले । म बग्न खोजेको आँसु रोक्ने असफल प्रयास गर्छु । तर जति नै प्रयास गरे पनि यसले म माथि दया र सहानुभूति देखाउने छाँट छैन । बरु यसले मेरो विवशताको अझ फाइदा उठाउन खोज्दै छ । कति कठोर छ मेरो आँसु, युद्ध मैदानमा लड्न खटिएको सिपाही झैँ दया–माया विहीन ।

आज भाइटिका । प्रत्येक दाज्यूलाई दिदीबहिनीले पूजा गरेर मनैदेखि ईश्वर सामु उनीहरूको दिर्घायू तथा सुस्वास्थ्यको कामना गर्ने दिन । रङ्गीचङ्गी लोभ लाग्दो सप्तरङ्गी टीका निधारमा सजाएर कहिल्यै नओइलाउने मखमली फूलको मालालाई गलामा सजाएर सम्बन्धको माधुर्यता र दिगोपनको कामना गर्दै अनेकौँ मिठा पकवानका साथ एक अर्काको खुसीमा रमाउँदै बित्ने बिताउने आजको दिन ।

तर मेरो आँखाले भने उत्साह र उमङ्ग अनि खुसी बोकेको छैन । मेरो अधर फक्रेको छैन कारण यो सौभाग्य मेरो भाग्यमा छैन किनभने मेरा दाज्युभाई छैनन् । कारण म बाबुआमाकी एक्ली छोरी तथा एक्लो सन्तान । मलाई लाग्छ आजको दिन म जस्तै प्रत्येक दिदीबहिनी तड्पिँदा हुन् । रुँदा हुन् । सायद आफ्नो भाग्यप्रति गुनासो गर्दा हुन् ।

आनन्द मेरा श्रीमान् । उनीसँग मेरो विवाह भएको ८ वर्ष बितिसकेछ । म अन्तर्मुखी स्वभावकी भएकी कारण मैले कसैलाई दाज्यूभाई बनाउन सकिन । यसरी धेरै रहरहरू मनको मनै रहे । आफ्नो स्वभावकै कारण कसैसँग पनि बढी हेलमेल गर्ने मेरो बानी रहेन । त्यसैले गर्दा होला म प्रायः एकान्त मन फराउँछु । भोज र भिडमा आफू हराउँछु झैँ लाग्छ ।

फुर्सदमा टेलिभिजन र सामाजिक सञ्जालमा साधारण रुचि बाहेक मलाई बगैँचामा फूलको स्याहार गर्न र कहिलेकाहीँ कविता कोर्न सङ्गीत सुन्न र एक कप कफीको साथ मन पर्ने कुनै किताब पढ्न पाए पुग्यो बस् यी नै मेरा साथी हुन् । एक छोरा छ बिहान ८ बजे नै स्कुल तर्फ लाग्छ, श्रीमान् आफ्नो कारोबार सम्हाल्न बिहान ८ बजेतिर नै आफ्नो कार्यालय तर्फ लाग्छन् । घरमा काम गर्ने सहयोगी नभएको हुँदा त्यसपछिको मेरो दिनचर्या यताउतिमै बित्ने गर्छ ।

बाहिर काम गर्न मन नभएको होइन र बच्चा हुनु अघिसम्म एउटा नाम चलेको गैरसरकारी संस्थामा नगरेको पनि होइन तर बच्चा हुने समय नजिक आएपछि उक्त कामलाई माया मारेर बच्चालाई प्राथमिकतामा राखियो । जसको फलस्वरूप हालसम्म पनि घर गृहस्थीको टन्टाबाट उम्किन सकेकी छैन ।

आज बिहानैदेखि आनन्द र छोरा टिका थाप्न गएका छन्, श्रीमान्को बहिनी अर्थात् मेरी नन्दको घरमा । म देख्छु आज बिहानैदेखि आनन्द र छोराको मुहारमा कति खुसी तथा उत्साह थियो । तर मलाई भने यो चाड कहिल्यै नआइदिए हुन्थ्यो झैँ लाग्छ । तर मेरो मनोकामना हरेक वर्ष अपुरो नै रहन्छ र आफ्नो निश्चित समयमा यो चाड आउँछ अनि जान्छ ।

हुन त आनन्द र छोराले मलाईसँगै जान अनुरोध नगरेका पनि होइनन् नन्दले पनि फोनबाट आमन्त्रण गरेकी नै हुन् । तर उनीहरूले निधारमा टीका सजाउँदा खाली निधारसँगै टड्पिने मेरो मन, उनीहरूको हाँसोसँगै पोखिने मेरो उदासीको डरले मलाई निमन्त्रणा स्विकार्ने आँट दिएन । त्यस कारण उनीहरूको खुसीमा किन बाधा पारूँ वा भनूँ आफैलाई दुःखी नपारूँ भनेर मैले नै उनीहरूसँग जानलाई इन्कार गरिदिए ।

मेरो परिवार सानो तर सुखी परिवार हो । मेरो परिवार मध्यम वर्गीय परिवार हो । विवाह अघि मलाई आफ्नो रहर र खुसी भन्दा बढी माया र मेरो चाहनामा नै आफ्नो जीवन खोज्ने मेरा मामु बाबा तथा बिहे पछि मेरो कुरा सुन्ने र मेरो भावना बुझ्ने श्रीमान् तथा मलाई माया गर्ने सन्तानको प्राप्ति पछि लाग्थ्यो म सुखी र आनन्दित छु । जीवनमा अभाव कम मात्र छ त्यसकारण म भाग्यमानी पनि हुँ ।

तर आज मसँग भएको थुप्रै सकारात्मक चिज भन्दा म सँग नभएको सानो चिजले म दुःखी छु । मेरो फितलो सोचले बारम्बार भगवान् बुद्धको उपदेश बिर्सन्छ कि मान्छे आफ्नै सोचको कारणले गर्दा खुसी वा दुःखी हुन्छ ।

सोच्दा सोच्दै थाहा पाउँछु थाहै नपाई मैले ज्ञान भुलिसकेछु जसको फलस्वरूप आफैले सृजना गरेको दुःखले मेरो आँखा भिजी सकेछ । म छाती भरि अप्ठ्यारो महसुस गर्छु । टाउको दुखेको महसुस गर्छु । समय कटाउन र मन हल्का बनाउन मोबाइलमा आफूलाई केन्द्रित गर्छु । तर सामाजिक सञ्जालमा देखिएको भाइटिका सम्बन्धी विभिन्न पोष्टले मलाई अझ दिक्क बनाउँछ । मोबाइल बन्द गर्छु र कोठाको पर्दा खोल्छु । मेरो छिमेकीको छोरा ढोकाको सङ्घारमा ओखर फोर्दै हुन्छ र केटाकेटीहरू हल्लाखल्ला गरिरहेका हुन्छन् ।

हेर्दा हेर्दै एकै चोटमा ओखर फुट्छ र त्यहाँ सबैको ओठमा खुसी मिश्रित हाँसो देखा पर्छ । म मन थाम्न सक्दिन । पर्दा लगाउँछु । मलाई सबै दाज्युभाई हुने दिदीबहिनी र दिदीबहिनी हुने दाज्युभाई प्रति डाह लाग्छ । जोडसँग रिँगटा लागेको महसुस हुन्छ । एकैचोटी ओच्छ्यानमा हाम फाल्न पुग्छु । घाममा बस्दा आनन्द आउने जाडो सुरु भैसकेको छ तर मेरो निधारमा चिट् चिट् पसिना पलाउँछ । मलाई आफैसँग रिस उठ्छ । कुनै पनि सामान च्यातूँ झैँ लाग्छ । तोडफोड गरूँझैँ लाग्छ । म ओच्छयानबाट एकै सासमा उठ्छु । मलाई आफू बसेको कोठा कैद खाना महसुस हुन्छ ।

आफ्नै वरिपरिको एक्लोपनको डर लाग्छ । म झटपट कोठाबाट बाहिर निस्कन्छु । मेरो पाइला बगैँचा तर्फ बढ्छ । म चाहन्छु फुलको सुन्दरता र बास्नाले मेरो मन बहलाओस् तर बगैँचामा पुगेपछि लाग्छ सधैँ प्यारो लाग्ने बगैँचा पनि आज सुन्दरता विहीन भएको छ । निरस भएको छ । मलाई कसैले मेरो खुसी निचोरिदिए झैँ लाग्छ । मनमा कता कता डर लाग्छ । घाँसमा थ्याच्च बस्छु । कता कता म आफैले आफैलाई खोज्न थाल्छु फूलमा, माटोमा, आकाशमा, पुतलीमा घाममा वा आफूमा तर म आफूलाई आफैभित्र समेत पाउँदिन ।

मलाई आफ्नो अस्तित्व नै समाप्त भए झैँ लाग्छ । म केही सोच्न सकिरहेकी छैन । मनमा कता कता डर लाग्छ । अचानक मेरो कानमा सामूहिक हाँसोको कर्कश ध्वनि ठोक्किन आइपुग्छ । आवाज आएतिर ध्यानलाई केन्द्रित गर्छु । आँखालाई आवाजतिर लैजान्छु । मेरो छिमेक घरमा टीकाको समाप्ति पछि कौसीमा फोटो खिच्ने कार्यक्रम भइरहेको रहेछ ।

“ए टिना तँ र भाइ एकै ठाउँमा बस् त । ए तेरो निधारमा त टीका पोतिएछ पहिले त्यसलाई मिला त” साथमा छुटेको हाँसोको फोहरा । मलाई रिस उठ्छ उनीहरूको हाँसो प्रति ।

“भाउज्यू घरमा एक्लै हुनुहुन्छ कि के हो आनन्दजी अनि बाबु खै त ?’’

मेरो छिमेकी विनोद ओठमा हाँसो लिएर सोधिरहेका हुन्छन् । उनको गलामा सजिएको सुन्दर माला र निधारको रङ्गीचङ्गी टिका देखेर रिस उठ्छ ।

‘‘अँ एक्लै छु” आवाज घाँटीमै अड्केको महसुस हुन्छ ।

“हामीकहाँ आउनोस् न तपाईँलाई एक्लै बोर लाग्या छैन र ? आउनोस् यतै रमाइलो गरौँला”

प्रत्युत्तरमा म केवल मुस्काउँछु । म महसुस गर्छु । मेरो ओठलाई कसैले सियो धागोले सिइदिएको छ । मलाई छट्पट्टी महसुस हुन्छ । अचानक फोनको घण्टी बज्न सुरु गर्छ । मलाई बस्न पनि अप्ठ्यारो र उठेर जान पनि अप्ठ्यारो लागिरहेको बेलामा बजेको फोनको घण्टीले राहत महसुस हुन्छ । म उठेर कोठातिर लाग्छु । श्रीमान् महोदयको फोन रहेछ ।

“के गरेर बसिरहेकी छौ ? खाना खायौ ? बोर लागेको त छैन ?” आदि ।

साधारण जवाफको साथ फोन राखिदिन्छु । मलाई मेरो श्रीमान् देखि पनि रिस उठेर आउँछ । सबैले मलाई जिस्काउन मात्र बोले झैँ लाग्छ । म सोच्छु अघि छिमेकी भाइ विनोद, उ मलाई सम्बोधन गर्दा हाँसिरहेको थियो । हुन त उ सधैँ यसरी नै हाँसेर कुरा गर्छ । तर सधैँ भन्दा आज मलाई उनको हाँसो बेग्लै लाग्छ । सायद मेरो छट्पट्टीमा मजा लिन पो हाँसेको हो की ? वा उनको हाँसोमा मेरो खाली निधार प्रति व्यङ्ग्य पो लुकेको थियो की ? हो पक्कै पनि उ मेरो हाँसो उडाउन नै हाँसेको हो । नभए एक्लै देख्दादेख्दै पनि एक्लै भनेर किन प्रश्न गर्थ्यो ?

मलाई उ देखि रिस उठेर आउँछ । उसको त्यस बेलाको हेराइलाई सम्झन्छु, मेरो मुटु घोचेको महसुस हुन्छ । मलाई के गरौँ कसो गरौँ हुन्छ । मेरो मनमा बदला लिने भावनाले शीर उठाउँछ । मनमनै कस्तो प्रकारले बदला लिने भनेर योजना बनाउँछु । तर कुनै पनि योजना मलाई ठिक लाग्दैन । आफूदेखि आफैलाई रिस उठेर आउँछ । त्यसै समय आएको फोनको घण्टीको आवाजले झस्किन पुग्छु । फोन उठाउँछु रङ्ग नम्बर परेछ । फोन गर्ने व्यक्ति खेद प्रकट गर्छ । म फोनको रिसीवर राखिदिन्छु । मलाई फोनसँग पनि रिस उठ्छ । सोच्छु कहीँ मेरा आफन्त वा परिचितले मलाई जिस्काउन त फोन गरेका होइनन् ? मलाई लाग्छ यो मेरो नजिकको परिचितको काम हुनुपर्छ ।

मनमा कसले फोन गर्‍यो भनेर गम्दा गम्दै मलाई सबभन्दा पहिला आफ्नै श्रीमान् तर्फ शङ्का लाग्छ । म सोच्छु अघि फोन आउँदा मैले राम्रो सँग जवाफ नदिएर फोन राखिदिएको कारण मलाई जिस्काउन फोन गरेका होलान् । तर आवाज त उनको जस्तो थिएन । मनको एक कुनाबाट आवाज आउँछ । स्वर पक्कै पनि फरक पारेर फोन गरेका होलान् । के विश्वास सायद मेरो उदासीमा मज्जा लिँदै होलान् ?

पख भरे घर फर्केपछि मैले जानेकी छु, एकचोटी नरिसाई भएन । त्यत्तिकै जिस्कनुपर्ने । बहिनीसँग मिलेर मलाई जिस्काउने प्लान बनाएका होलान् । बहिनी अर्थात् मेरी नन्दको ध्यान आउनासाथ मलाई उनीप्रति ईर्ष्या लाग्छ । उनी पनि आजको पर्वमा उत्साहका साथ रमाइरहेकी होलिन् । उनी मात्र होइन सारा संसारले नै उमङ्गका साथ यो चाड मनाइरहेको होला । यस धर्तीमा खाली म मात्र हुँ कि क्या हो बिना दाज्युभाईको ?

यदि मेरो पनि दाज्युभाई भएका भए, म मनमनै मेरो नभएका दाज्युभाईको छविको कल्पना गर्छु । मैले पनि आज दाज्युभाईको हातबाट टीका थापेको कल्पना गर्छु ।

बालापनमा सँगै खेलेको रमाइलो गरेको कल्पना गर्छु । मेरो मुटुको चाल बढेको महसुस हुन्छ । म के गरौँ कसो गरौँको अवस्थामा पुग्छु । टाउको जोडसँग दुखे झैँ लाग्छ । म झट्पट सोफामा बस्छु । टेबुलमा भएको बासी पत्रिका उठाउँछु । अनायासै एउटा शीर्षक तिर ध्यान जान्छ । “दाज्यूद्वारा बहिनीको अपहरण”, मनमा कौतुहलता जाग्छ । पढ्न सुरु गर्छु । थाहा हुन्छ एक काकाको छोराले पैसाको लागि आफ्नै बहिनीको अपहरण गरेछन् । जुवाको लत लागेका उनले सापटीको रकम जुटाउन अपहरण गरेका रहेछन् तर प्रहरीको सक्रियतामा उनी पक्राउ परेछन् ।

पत्रिकाको पाना पल्टाउँछु । परिचित तथा अपरिचित बाट बलात्कार, दाज्युभाई द्वारा दिदी बहिनीको भारत तथा खाडी मुलुकमा बिक्री, सार्वजनिक ठाउँ तथा सवारीमा महिला माथिको अभद्र व्यवहार, सहकर्मी माथिको यौन शोषण, एसिड आक्रमण आदि आदि ।

मलाई समाचारदेखि दिक्क लागेर आउँछ र त्यस भन्दा बढी आफ्नो सोचप्रति दया लागेर आउँछ ।

केही क्षण अघिको मेरो मनको छट्पट्टी कपुर उडे झैँ उड्छ । मनले शान्तिको अनुभव गर्छ । मलाई आफ्नो दाज्युभाई नभएकोमा कुनै गुनासो छैन । आफूले आफैलाई भाग्यमानी भन्न मन लाग्छ कमसे कम यी र यस्ता घृणित कुराहरूले गर्दा अरूले झैँ मैले आफ्नो दाज्युभाईप्रति लज्जित त हुनुपरेको छैन ।

मेरो मुहार पसिनै पसिनाले भरिएको हुन्छ । बाथरुममा गएर मुख धुन्छु । मलाई जोडसँग भोक लागेको महसुस हुन्छ । घडी हेर्छु १ बजिसकेछ । म खानाको बन्दोबस्त गर्न भान्छा तिर लाग्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस