दाङका युवा टर्की व्यवसायतर्फ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दाङका युवा टर्की व्यवसायतर्फ


३० कार्तिक २०७७, आइतबार


देउखुरी । सानीभेरी गाउँपालिका –४ रुकुमका चन्द्र बिसीले दाङ आएर फरक व्यवसाय शुरु गरेका छन् ।

उनले घोराही उपमहानगरपालिका –१७ गैरागाउँमा एक बिघा जमीन वार्षिक रु ५० हजार भाडा दिने शर्तमा दश वर्षलाई लिएर टर्की पालन व्यवसाय आठ महिनाअघिदेखि सञ्चालन गरेका हुन् ।

‘बिसी टर्की फर्म’ हाल टर्की, हाँस, स्थानीय र फाइटर कक पालिएका छन् । प्रतिबच्चा रु चार सयका दरले पाँच सय टर्की बुटवलबाट ल्यइएकामा ठूला बिक्री भएर अहिले सानाठूला गरी १५० बाँकी छन् । ‘टर्की पाल्नलाई धेरै मेहनत गर्नुपर्दो रहेनछ, तारबार गरिएको खुला ठाउँमा चर्छन् । उनीहरुले घाँस, दुबो, मकै र ब्रोइलर कुखुराको दाना पनि राम्रो मानेर खाने गरेका छन् । भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले छिटो आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने भएकाले पाल्न सजिलो छ’, उनी बताउछन् ।

सामान्यतया टर्की ६ महिनामै वयस्क हुन्छ र अण्डा दिन थाल्छ । आफैँ ओथारो बसेर तिनले बच्चा दिने गरेका छन् । औसत आयु दुईदेखि चार वर्षसम्म रहने टर्की ६ महिनाका अन्तरमा आठ किलोसम्मको हुन्छ । दुई वर्ष जति पाल्दा एउटा टर्की १४ देखि १७ किलोसम्मको हुने उनी बताउछन् ।

बोसोरहित हुने भएकाले यसको मासु सेवन गर्दा मानिसको हाड मजबुत बनाउन सहयोग मिल्छ । यसको मासु जस्तोसुकै मधुमेह, युरिक एसिड, र रक्तचापका बिरामीले खान मिल्ने र कसैलाई असर नगर्ने हुँदा हरेक मानिसको रोजाइ भएको उनको भनाइ छ ।

जिउँदो प्रतिकिलो रु आठ सय र तयार पारिएको मासु प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका – १७ का नारायण आचार्यले ‘नारायण पोल्ट्री फर्म’ को नामबाट कुखुरा पालन व्यवसाय सञ्चालन गरेका छन् ।

दुई वर्ष कतारमा बसेर आएका आचार्य उता कमाएको पैसा अलिअलि जम्मा गरेर राखेको र दाङमै केही गर्नुपर्छ भन्ने सोचाइ आएपछि लेड्स कुखुरा व्यवसाय सञ्चालन गरिएको बताउछन् । ‘आठ कठ्ठा आफ्नो जमीनमा रु ४० लाखको लगानीमा दुई खोरबाट कुखुरा पालन शुरु गरेको चार वर्ष भयो ।

दाङमा टर्की व्यवसाय पनि राम्रो होला जस्तो लागेर त्यो पनि शुरु गरेको छु’, चार सय टर्कीका बच्चा चितवनबाट ल्याएर व्यवसाय शुरु गरेका आचार्य सात महिनादेखि आम्दानी लिन थालेको बताउछन् । उनले दुई खोरमध्ये एउटामा ठूला र अर्कोमा साना टर्की राखेका छन् । गाउँघरमा उत्पादन भएको दाना र सामान्य हावापानीमा पाल्न सकिने भएकाले सजिलो उनी बताउछन् ।

यसको माग धेरै भएकाले खोरबाटै बिक्री हुने गरेको छ । स्थानीय बजार तथा काठमाडौँ, बुटवल पनि जाने गरेको छ । बजारमा माग धेरै भएकाले पुर्‍याउन नै सकेको छैन । विदेशी भूमिमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा सानोतिनो व्यवसाय गर्नु उचित लागेर टर्की व्यवसाय गरेका उनी अर्काका देशमा श्रम गर्नुभन्दा स्वदेशमा नै काम गर्न युवालाई सल्लाह दिन्छन् ।

उनले दुई जनालाई रोजगारी पनि दिएका छन् । आफू टर्की पालन व्यवसायलाई व्यवस्थित गर्ने र कडकनाथ (कालो कुखुरा) थपेर व्यवसायलाई अगाडि बढाउने सोचमा रहेको आचार्यले बताए । स्थानीय तहले किसानलाई प्रोत्साहन गर्ने हो भने व्यवसायलाई निरन्तरता दिन सजिलो हुने र आत्मनिर्भर हुने आशा उनले व्यक्त गरेका छन् ।

घोराही उपमहानगरपालिका पशु सेवा कार्यालयका प्रमुख जीवराज पौडेलले पशुपक्षी व्यवसाय गर्न चाहने युवालाई लक्ष्य गरेर युवा लक्षित अनुदान सहयोग कार्यक्रम रहेको जानकारी दिए ।

उपमहानगरपालिकाअन्तर्गत पशुसेवा शाखाको युवा लक्षित कार्यक्रम पनि रहेको छ । किसानलाई प्राविधिक सहयोग र पशुपक्षीमा रोग लाग्दा उपचार, खोप, दानापानी आदिका बारेमा व्यवसायीलाई परामर्श दिने र अन्य सहयोग दिइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस