डोटी । डोटी जिल्लाका ग्रामीण क्षेत्रमा कुटानी पिसानी लगायत तोरीबाट तेल निकाल्नका लागि प्रयोग गरिने परम्परागत कोलहरू सञ्चालनमै रही आएका छन् ।
वर्तमान समयमा भएको प्रविधिको विकासको गतिसँगै सहरी क्षेत्रमा आधुनिक मिलहरूको विकास तीव्र रूपमा भइरहेकोको अवस्थामा पनि ग्रामीण भेगहरूमा भने परम्परागत कोलहरू सञ्चालनमा रहेका पाइन्छन् ।
ग्रामीण क्षेत्रमा सडकको पहुँचसँगै ठुला उद्योगहरूले उत्पादन गरेका विभिन्न ब्रान्डका खाने तेल गाउँघरमा सहजै पाउन सकिने अवस्था रहेपछि परम्परागत कोलहरू लोप हुँदै गएका थिए । तर पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको अवस्थाका कारण मानिसहरू धेरै आवत जावत गर्न कठिनाइ मानिरहँदा परम्परागत रूपमा तोरी, तिल, चिउरी पेलेर तेल निकाल्न प्रयोग हुने कोलहरूको प्रयोग पनि बढ्दो अवस्थामा रहेको पाइन्छ ।
कोलमा तोरी, तिल, चिउरी पेल्नका लागि पाँचदेखि सात जना भन्दा बढी मानिसहरू चाहिन्छन् । साल काठको बियो र बियो ठड्याउन ठुलै सालको काठको मुढामा प्वाल पारेर ठड्याइन्छ । कोल स्थापना गर्न एकै पटक कम्तीमा पनि विसं तिस जनाको आवश्यकता पर्दछ । कोरोना सङ्क्रमणको त्रासका कारण धेरै युवाहरू भारतबाट गाउँ फर्किए सँगै पुनः गाउँमा नयाँ कोल स्थापना गरिएको छ । बोगटान फुड सिल गाउँपालिका वडा नम्बर ३ का एक स्थानीय रामबहादुर बोहराले भने,–‘बजारमा पाइने मिलको तेल भन्दा स्थानीय स्तरमा उत्पादन हुने कोलबाट पेलेको तेल हरेक किसिमले उपयोगी छ, वर्षौँ देखिको तोरी, तिल, चिउरी, भैरोलाई कोलमा पेलेर तेल निकाल्दै आएका छौँ ।’
कोलबाट निकालिएको तोरीको तेललााई खान र शरीरमा मालिल गर्नका लागि स्वास्थ्यकर मानिन्छ । बोगटान फुड्सील गाउँपालिका वडा नम्बर ३ धौलाबस्ती गाउँकी स्थानीय तुलसी बोहराले गाउँमा अधिकांशले कोलबाट निकालिएको तोरीको तेल नै खानामा प्रयोग गर्न थालेको बताइन् ।
कोलबाट तोरी, तिल, चिउरी मात्र पेल्न प्रयोग नभई उखु, अमिला, कागती पेल्नमा समेत प्रयोग हुँदै आएको बडी केदार गाउँपालिका वडा नम्बर ४ का स्थानीय टेकेन्द्र धामीले बताए । उनले भने“हाम्रो दैनिक जीवनमा प्रयोग गरिने प्रविधि नै कोल, ढिकी, जाँतो मानेका छौँ ।
गाउँमा स्थानीयले सञ्चालनमा ल्याएको कोललाई स्थानीय तहले समेत संरक्षणमा पहल गर्ने बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले बताए, अध्यक्ष गड्सिलाले भनिन्, ‘कोलबाट निकालिएको तोरी, तिलको तेललाई औषधीको रूपमा समेत लिने गरिएको छ, यसको संरक्षणको लागि योजनासहित अगाडि बढ्छौँ ।’
नयाँ प्रविधिको विकाससँगै परम्परागतरुपमा चलिआएका पविधि, कला संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बडी केदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले गाउँपालिका भित्र रहेका त्यस्ता परम्परागत पविधि कोल, जाँतो, ढिकी लगायतका पविधिहरुको चिनारीको रूपमा भए पनि संरक्षण गर्न गाउँपालिकाले जोड दिने बताए ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका, बडी केदार गाउँपालिका र जोरायल गाउँपालिकाका केही स्थानहरूमा परम्परागत प्रविधिहरू सञ्चालन गरी कोलबाट तेल उत्पादन गर्ने कार्यलाई अझै छोड्न सकेका छैनन् ।