विदेशी प्रकाशकका पुस्तक पैठारीमा भन्सार छुट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विदेशी प्रकाशकका पुस्तक पैठारीमा भन्सार छुट


२८ कार्तिक २०७७, शुक्रबार


राजश्व समूह

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को पछिल्लो निर्णयानुसार विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटाएको जनाएको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साविकबमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले यसबाट नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाई हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवर्द्धनमा सघाउ पुग्ने बताए ।

मन्त्रिपरिषद्को यही कात्तिक २४ को बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा आर्थिक ऐन, २०७७ बमोजिम लाग्दै आएको भन्सार महसुल पूर्णरूपमा छुट दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार आर्थिक ऐन,२०७५ले नेपाली प्रकाशक, वितरक वा एजेण्ट वा प्रतिलिपि अधिकार उल्लेख भएका पुस्तक नेपाल बाहिरबाट मुद्रण गरी पैठारी गरेमा छपाई मूल्य (कागज, मुद्रणमा लागेको खर्च, भाडा र बिमा जोडी हुन आउने मूल्य) मा १५ प्रतिशत भन्सार महसुल लाग्ने तर विदेशी प्रकाशकको नाम उल्लेख भएर आएमा त्यस्तो पैठारीमा कुनै महसुल नलाग्ने व्यवस्था गरेको थियो ।

यस्तै आर्थिक ऐन, २०७६ बाट स्वदेशी वा विदेशी जुनसुकै प्रकाशकको नाम उल्लेख भएर पैठारी हुने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको थियो । सो व्यवस्थालाई आर्थिक ऐन, २०७७ ले निरन्तरता दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस