प्रधानमन्त्री कार्यालयका उपप्रधानमन्त्री ‘एक्सन रुम’ मा ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री कार्यालयका उपप्रधानमन्त्री ‘एक्सन रुम’ मा !


२७ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउन सक्रिय उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधवार तत्काल समस्या समाधान कक्ष ‘एक्सन रुम’को अवलोकन गरेका छन् ।

पहिलो पटक नेपालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीलाई जिम्मेवारीको अभ्यास थालेका उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयबाट हुने कामकारबाहीहरू बुझ्ने क्रममा कार्यालयस्थित ‘एक्सन रुम’बारे जानकारी लिएका हुन् । रक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा ल्याइएपछि मुख्यसचिव तथा सचिवहरूसँगको छलफलबाट कामकारबाही सुरु गरेका पोखरेलले यसबिचमा प्रधानमन्त्री कार्यालय अन्तर्गतका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गरिसकेका छन् ।

आफ्नो लागि नयाँ नयाँ ठाउँ भएपनि कर्मचारीको सहयोगले यस कार्यालयबाट हुने कामलाई नयाँ उचाइमा पुर्‍याउने पोखरेलेको योजना छ । कार्यालयको कार्यभार सम्हालेलगत्तै मुख्यसचिव शंकरदास वैरागी र सचिवसँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरू गरेका पोखरेलले प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिएका थिए ।

नेपाल डिजिटल युगतर्फ अघि बढेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ जेठ १५ गते सात वटै प्रदेशका मूख्यमन्त्रीहरुसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गर्दै एक्सन रुमको उद्घाटन गरेका थिए । अमेरिका र भारतमा सफल भइसकेको वार रुमको अवधारणामा अघि बढाउन खोजिए पनि पछि भिडियो कन्फरेन्स रुपका रूपमा विकास भएपछि तत्काल समस्या समाधान कक्ष भनिएको थियो । हाल यो कक्षबाट विभिन्न औपचारिक कार्यक्रम तथा राष्ट्रिय गौरवलगायत महत्त्वपूर्ण आयोजनाहरूको अवलोकनसमेत हुँदै आएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस